भैरहवामा बाक्लो हुस्सु र शितलहरले हवाई उडान भएन   

पुस २३, २०८१

माधव ढुंगाना

भैरहवा — बिहानैदेखि बाक्लो हुस्सु र कुहिरोले छोपेको भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान संचालन हुन सकेको छैन । हुस्सु र शितलहरसंगै चिसो बढेकाले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

सडकमा यातायात साधन कम संख्यामा चलेका छन् । पैदल यात्रु पनि कम देखिएका छन् । सडक पेटी र चोकहरुमा चिसोबाट जोगिन स्थानीय आगो तापिरहेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई मौसम केन्द्रका अनुसार, मंगलबार भैरहवाको तापक्रम ११ देखि १५ डिग्री सेल्सीयसकाबीच छ । बाक्लो कुहिरोका कारण भीजीबीलीटी (आँखाले प्रत्यक्ष देखिने दूरी) ९ सयदेखि १ हजार २ सय मिटर छ ।

‘तापक्रम र भीजीबीलीटी दुवै बढ्ने र घट्नेक्रम चलिरहेको छ,’ केन्द्रका प्रमुख तथा मौसमविद् सुभाष रिमालले भने, ‘घरीघरी आकाश खुल्ला जस्तो भए पनि खुल्न नसकेर मौसम प्रतिकूल नै छ र दिउँसोपछि अझ प्रतिकूल बनेको छ ।’ 

भैरहवा र आसपास क्षेत्रको मौसम सामान्यतया अझ एक/दुई दिन यस्तै रहने सम्भावना देखिएको उनले बताए । विमान अवतरण र उडानका लागि आवश्यक पर्ने भीजीबीलीटी कम भएकाले मंगलबार दिउसो साढे ४ बजेसम्म भैरहवाबाट कुनै पनि हवाई उडान भएको छैन ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद रावतले आपतकालीन अवस्थाबाहेक सामान्य अवस्थामा हवाई उडान गर्नका लागि १ हजार ८ सय मिटरको भीजीबीलीटी आवश्यक पर्नेमा त्यसअनुरुप नभएकाले हवाई उडान हुन नसकेको बताए ।

बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा-काठमाडौं दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान संचालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुँदै हवाई यात्रा गर्ने गर्छन् । 

हवाई उडानको प्रतिक्षामा रहेका हवाई यात्रुहरु मंगलबार बिहानैदेखि विमानस्थल जानेर फर्किने गरिरहेका छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully