अर्घाखाँची — अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गरिदिने र गर्ने दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । विवाह गर्ने सन्धिखर्क नगरपालिका-८ का मुमाराम विक र विवाह गराइदिने भुमिकास्थान नगरपालिका–९ की सकुन्तला सारुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए ।
१२ बर्षीय बालिकालाई ललाई फकाई सुटुक्क विवाह गरिएको उनले बताए । सारूले काममा लगाइदिने भन्दै १२ वर्षीय बालिकालाई घरमा बोलाई फकाएर मुमारामको जिम्मा लगाएको र मुमारामले बालिकालाई सिन्दुर पहिराएर घरमा भित्राएको भन्दै बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
प्रहरीले घरमा पुगेर खोजी गर्दा बालिकालाई विवाह गरेको भेटिएकाले मुमारामलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सुचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए । उनीहरू दुवै जनालाई अर्घाखाँची अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
