साउदी जान हाँसीखुसी बिदाइ, भिसा नक्कली भएपछि बिचल्ली

साउदी पठाइदिने भन्दै दलालबाट गुल्मी धुर्कोटका ३० सहित ५० युवा ठगिए 

पुस १७, २०८१

गगनशिला खड्का

Goodbye to go to Saudi Arabia, confused after fake visa

गुल्मी — रोजगारीका लागि साउदी अरब जान भनी धुर्कोट गाउँपालिका–६ का नारायण थापालाई गत मंसिर २७ गते एक्कासि एजेन्टको फोन आयो, ‘ल भोलि टिकट आउँदैछ, जसरी पनि काठमाडौं पुग्नू ।’

चिनजानकै व्यक्तिले साउदीको नेसनल एग्रिकल्चर डेभलपमेन्ट कम्पनी (नाडेक)को मानव संशाधन व्यवस्थापक पदमा कार्यरत एक पाकिस्तानी नागरिकले भिसा लगाइदिने आश्वासन दिएपछि मुखैको कुलपूजा छाडेर उनी टीकाटालो गरी घरबाट विदेश जान बिदा भए । 

मंसिर २८ मा काठमाडौं पुगेका उनले टिकटको प्रतीक्षा गरे तर टिकट त परको कुरा भिसा लगाइदिने व्यक्ति नै सम्पर्कविहीन भएको खबर आयो । थापासँगै रहेका १३ युवा अलमलमा परे । वैदेशिक रोजगार विभागमा पुगेर बुझ्दा श्रम स्विकृति अनलाइन इन्ट्री नभएको र नक्कली भएको थाहा पाएपछि सबैको होस उड्यो । आफूले जाने बुझेसम्म हारगुहार, उजुरी गरे तर केही गरी विदेश जाने बाटो खुलेन । दुईदेखि २ लाख ७५ हजार रुपैयाँसम्म बुझाएका उनीहरू आफू ठगिएको थाहा पाएर रुँदै घर फर्किए । 

‘घरबाट मंसिर २७ मा विदेश जाने खुसीयालीको टिकाटालो गरेर हिँडेका थियौं । ठगिएको थाहा पाएपछि पुस ३ गते घर फर्कियौं,’ थापाले भने, ‘गाउँमा पनि विदेश जान भनेर हिँडेको बाहिर कतै निस्किन लाज भयो, फेरि न्याय खोज्न काठमाडौं आएका छौं ।’ 

उनीहरूलाई विदेश लैजाने सम्पर्क गर्ने व्यक्ति गुल्मीको धुर्कोट–६ घर भई साउदीमा ड्राइभरका रूपमा कार्यरत रामु सुनार भएको पनि उनीहरूले बताए । रामुले आफ्नै दाजु लक्ष्मणलाई साउदीको नाडेक कम्पनीमा रोजगारी खुलेको भन्दै कम्पनीमै कार्यरत पाकिस्तानी नागरिक हजि खलिदसँग चिनजान गराएदिएका थिए । लक्ष्मणले विदेश जाने सोचमा पासपोर्ट बनाएर बसेका आफन्त र स्थानीय युवाहरूलाई सुनाएपछि उनीहरूले प्रक्रिया सुरु गरेका थिए । 

Goodbye to go to Saudi Arabia, confused after fake visa

हजिले आफूलाई मानव संशाधन व्यवस्थापक भन्दै कम्पनीमा प्याकेजिङ, ड्राइभर, सेक्युरिटी गार्डलगायतमा ५० जना कामदारको माग रहेको र आफैंले कामदार छनोट गर्ने विश्वास दिलाएर ४० हजार रुपैयाँका दरले रकम जम्मा गर्न लगाएका थिए । उनले मासिक १ हजार ८ सय ५० साउदी रियाल (६६ हजार नेपाली रुपैयाँ) भन्दा धेरै तलब दिने आश्वासन दिएपछि विश्वास गरेर रकम जम्मा गरेको र पछि विभिन्न बहानामा रकम थप्न लगाएको थापाले बताए । 

‘सुरुमा ४० हजारमै उडाउने भनेर रकम जम्मा गर्न लगाए तर पछि श्रम स्विकृति, मेडिकल, इन्स्योरेन्स, टिकटलगायतका लागि भन्दै थप रकम पठाउन लगाएर प्रतिव्यक्ति २ लाखदेखि २ लाख ७५ हजार रुपैयाँसम्म पुगेको छ,’ उनले भने । रकम जम्मा गरेपछि गत मंसिर २७ मा १३ जना युवालाई उडानका लागि भन्दै काठमाडौं बोलाए । मंसिर २८ मा साउदी उड्ने भनेर बोलाए पनि उनीहरूलाई टिकट नपठाएपछि हात परेको भिसा, श्रम, इन्स्योरेन्सका सबै कागजात लिएर वैदेशिक रोजगार विभाग पुगेका थिए । त्यहाँ सबै कागजात नक्कली भएको थाहा भएपछि उनीहरू बिलखबन्दमा परेका छन् । 

आफूहरू ठगिएको थाहा पाएपछि उनीहरूले सुरुमा सम्पर्क गराइदिने व्यक्ति रामु सुनारलाई सम्पर्क गरे । तर रामुले आफैं ठगिएको र हजि सम्पर्कमा नरहेको बताएपछि पीडित युवाहरू झन् अत्ताल्लिए । ‘हामीले रामुलाई भिसा त दिन सक्नुभएन, हाम्रो पैसा फिर्ता गर्नुस् भन्दा त्यो पाकिस्तानी भाग्यो, म पनि दूतावास धाउँदै छु भन्नुहुन्छ,’ ठगिएका मध्येका एक गुल्मी दरबार–२ का पोमराज घर्तीले भने । 

अहिले रामुले आफूहरूको फोन समेत नउठाएर दुःख दिन थालेको उनीहरूको गुनासो छ । ठगिएका युवाहरूले रकम भने पाकिस्तानीको खातामा नभई नेपालकै विभिन्न व्यक्तिको खातामा जम्मा गरिदिएका थिए ।

‘रामुले नै क्यूआरकोड पठाएका आधारमा आकृति श्रेष्ठ, बोमबहादुर विक, जंगबहादुर विक, मोहम्मत हसिन अन्सारी, श्रवण पासवानलगायतका व्यक्तिका नाममा नेपालका विभिन्न बैंक खातामा रकम जम्मा गरेको हो,’ धुर्कोट–६ कै पदम जीसी भन्छन्, ‘उनीहरूको खाता पनि गरिमा विकास, ग्लोबल आईएमई, लक्ष्मी सनराइज गरी फरक–फरक बैंकमा छ ।’ 

थापासहित ठगिएका १३ युवा अहिले काठमाडौंका विभिन्न होटलमा बसेर न्यायका लागि वैदेशिक रोजगार विभागमा धाइरहेका छन् । विभागले खातावाला व्यक्तिको विवरण उपलब्ध गराउनका लागि सम्बन्धित बैंकलाई पत्र पठाएको छ । सोही पत्रका आधारमा ती व्यक्तिको विवरण भेटिएमा आफ्नो रकम फिर्ता आउने विश्वास उनीहरूको छ । 

‘खातावाला मान्छे सम्पर्कमा आए भने त हाम्रो पैसा उठ्छ कि भनेर अहिले बिहान उठेर वैदेशिक रोजगार विभागमा जान्छौं, चिठी आयो आएन भनेर बुझ्छौं अनि फर्केर आउँछौं,’ थापाले भने । उनीहरू आफै बैंकमा बुझ्न जाँदा भने ती व्यक्तिहरूको खाता बन्द भइसकेकाले तीनपुस्ते उपलब्ध गराउन नसकिने जवाफ दिएकाले आफूहरू झन् ठूलो चिन्तामा परेको उनीहरू बताउँछन् । 

‘यसो गर भनेर बताइदिने चिनेजानेको पनि कोही भएन,’ थापा भन्छन्, ‘ऋण खोजेको पैसा त डुब्यो डुब्यो, न्यायका लागि पनि कहाँ जाने ? के गर्ने अलमल परियो ।’ ठगिएकामध्ये ३ जना बुटवलका, ६/७ जना पूर्वी नेपालका र अन्य सबै गुल्मीका रहेको उनीहरूको भनाइ छ । गुल्मीका मध्ये पनि ३० जनाभन्दा धेरै धुर्कोट गाउँपालिकाकै छन् । पाकिस्तानी नागरिकसँग सम्पर्क गराइदिने रामुले आफैं पनि ठगिएको बताउने गरेका छन् । 

‘राम्रो कम्पनी भनेपछि रामुकै श्रीमतीले ऋण खोजेर देवर/जेठाजुहरूको रकम बुझाएकी रहेछिन्,’ पोमलाल भन्छन्, ‘हामीलाई ठग्ने नियत हुने भए त त्यसो गर्दैनथिन् होला ।’ वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका दैनिक ३०/४० उजुरी आइरहेकाले कार्यालयले सबैको आवश्यकताअनुसार सम्बोधन गर्ने प्रक्रियामा नियमित लगिरहेको बताए ।

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully