वडामै पालिकाका सेवा पाउँदा दुर्गमका नागरिक लाभान्वित

सिंहदरकारको अधिकार घरदैलोमा

पुस १७, २०८१

माधव अर्याल

Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

पाल्पा — निस्दी गाउँपालिका–३, झिरुवास सार्कीडाँडाका ५५ वर्षीय चित्रबहादुर सारुलाई वडा कार्यालयसम्म पुग्न दुई घण्टा पैदल हिँड्नु पर्छ । सार्वजनिक सवारी साधन चल्दैनन् । सानातिना काम पर्दासमेत पैदलै वडा कार्यालयसम्म आएर घर फर्किंदा चार घण्टाको दूरी पैदल हिँड्नु पर्छ । सामान्य काम पर्दा वडा कार्यालय जान पनि मन लाग्दैन । विशेष काम परेमात्र उनी कार्यालय पुग्छन् । झण्डै चार घण्टा पैदल हिँडेर गाउँपालिका कार्यालय पुगिन्छ ।

‘गाउँपालिका जानु पर्दा एक दिन पूरै खर्च हुन्छ,’ उनले भने, ‘सानोतिनो काममा गाउँपालिका र वार्ड कार्यालय जान पनि मन लाग्दैन ।’ तर उनी गाउँपालिकाले वडा कार्यालयमा राखेको एकीकृत घुम्ती शिविरमा भने पैदल हिँडेरै पुगे । किनभने यहाँ धेरै प्रकारका सेवा पाउने जानकारी पाएका थिए । ‘धेरै सेवा लिन पाइन्छ भनेर वडा कार्यालय पुगेँ,’ उनले भने, ‘स्वास्थ्य शिविरमा पुगेर मुख र दाँतको उपचार गर्न पाएँ । निकै खुसी लागेको छ ।’ उनले बाख्रा र बंगुरको औषधि पनि लिए । सार्कीडाँडामा बाख्रापालन र बंगुरपालन रहेको छ ।

निस्दी गाउँपालिका–३, खादरका ८८ वर्षीय हरिलाल ढेंगा पनि वडा कार्यालयसम्म एक घण्टा हिँडेर पुगे । उनले पनि स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराए । आवश्यक औषधि लिए । ‘गाउँघरमा यस्ता सबै सेवा लिन पाइँदैन,’ उनले भने, ‘अहिले भने निका धेरै सेवा लिन पाएँ ।’ गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मानसमेत गरेर स्विटर दिएकामा खुसी थिए । झिरुवास गाउँकै ९६ वर्षीय थमन सिंह सोती पनि सम्मानसहित न्यानो स्विटर पाएकामा खुसी थिए । उनलाई भने गाउँघरमै सेवा दिएका थिए । वडा कार्यालय झिरुवास गाउँमै भएकाले घर नजिकै सेवा लिन पाएका थिए । Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

रम्भा गाउँपालिका–२, फोक्सिङकोटकी देउकुमारी सारुले गाउँपालिकाले दिने सबै सेवा वडा कार्यालयमा पाउँदा निकै खुसी लागेको प्रतिक्रिया जनाइन् । गाउँपालिकाको सबै सेवाबाहेक आँखाको जाँच गराउन पाएको उनले बताइन् । अझ अर्को खुसी उनलाई पाठेघरको मुखको क्यान्सरबारे जाँच गराउन पाउँदा भएको छ । ‘कृषि, पशुको सेवा पनि राम्रो लाग्यो,’ उनले भनिन्, ‘थप सेवा लिएर आएकाले पनि महिला बढी लाभान्वित भएका छन् ।’ रम्भा गाउँपालिकाको फोक्सिङकोट भौगोलिक रूपमा नमिलेको वडा हो । यहाँ भूगोलका हिसाबले धेरै टाढाको बस्ती छ । देउकुमारीका अनुसार चार घण्टा पैदल हिँडेर आउनेको संख्या पनि निकै धेरै थियो । ‘आउन नभ्याउँदै फर्किन चिन्ता हुन्छ,’ उनले भनिन्, ‘सार्वजनिक सवारी साधन चल्दैन । पैदल हिँड्दा ८ घण्टा समय नै बित्छ ।’

फोक्सिङकोटकै गंगीसरा सिंजाली पनि आयुर्वेद सेवाका साथै आँखा र पाठेघरको मुखको क्यान्सरको सेवा लिन पाएकामा निकै खुसी थिइन् । वडा कार्यालयबाट सबै सेवा पाइँदैन । तर गाउँपालिकाले राखेको एकीकृत शिविरले भने निकै धेरै सेवा दिएको उनले बताइन् । ‘यस्ता शिविर वर्षमा एक पटक नभई दुई पटक राख्नुपर्छ,’ उनले भनिन्, ‘भूगोलले ठगेका हामी जस्तालाई बल्ल फाइदा पुग्ने थियो ।’ यी केही उदाहरण मात्र हुन् । सिंहदरबारको अधिकार गाउँमा आएको झल्को दिलाउन निस्दी, रम्भा, रैनादेवी छहरा गाउँपालिकाका साथै तानसेन नगरपालिकाले यस वर्ष एकीकृत घुम्ती शिविर आयोजना गरेका हुन् । Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

दुर्गमका बासिन्दालाई घरदैलोमै पुगेर पालिका तहबाट दिने सेवालाई थप प्रभावकारी बनाउन वडा वडामै पुगेर सेवा प्रवाह गर्दै आएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । पालिका तहबाट प्रदान गर्ने सेवाबाहेक थप सेवा लिएर गाउँ पुगेपछि सेवाग्राही नागरिक खुसी भएको उनले बताए । स्वास्थ्य कार्यालय, लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा लगायतको प्राविधिक सहयोग गरेका थिए ।

भौगोलिक विकटताले अझै पनि सेवा लिन तीन/चार घण्टा हिँड्नुपर्ने बाध्यता रहेको रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । विपन्न समुदायका नागरिक गाउँमै एकीकृत सेवा लिन पाउँदा खुसी नै भएको उनले बताइन् । ‘धेरैभन्दा धेरै महिला सहभागिता रह्यो,’ उनले भनिन्, ‘पाठेघरको मुखको क्यान्सर जाँच गर्न पाउँदा थप खुसी देखिएका छन् ।’ वडा कार्यालयबाट सबै सुविधा पाउन नसक्ने तर पालिका केन्द्रसम्म पहुँच नपुग्नेहरूका लागि एकीकृत घुम्ती सेवा प्रभावकारी बनेको रम्भा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए । Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

पालिका तहबाट प्रदान गरिने सेवामा थप सेवासहित गाउँमै घुम्ती टोली पुग्दा रम्भा गाउँपालिकामा मात्र ५ हजार बढीले ५ दिनमा सेवा लिएको उनले बताए । पालिकाको सबै सेवा बाहेक आँखा जाँच, पाठेघरको मुखको क्यान्सर जाँचजस्ता सेवा पाउँदा नागरिकमा खुसीयाली छाएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए । 

रम्भाको एकीकृत घुम्ती शिविरबाट प्रत्येक वडामा एक हजार बढीले सेवा लिएका छन् । शिविरबाट आठ सय जनाले सबै रोगहरूको जाँच, उपचार, परामर्श र प्रेषण स्वास्थ्य सेवा लिएका छन् । एक सय ३३ जनाले प्रयोगशाला सेवा लिएका छन् । ९ जनाको शंकास्पद क्षयरोगीको खकार नमूना संकलन गरिएको छ । २ सय ७८ जनाले पाठेघरको मुखको क्यान्सरको जाँच गराए । ८ जनाले पाठेघर खसेकोमा रिङ्ङ्ग प्रेसरी राखेका छन् । १ सय ३२ जनाले सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार गराएका छन् । 

६ जनाले परिवार नियोजनको साधन आईयूसीडी र इम्प्लान्ट राख्ने तथा झिक्ने सेवा लिए । १७ जना स्तनपान गराइरहेका आमाहरूको लागि सतावरी चूर्ण वितरण गरिएको छ । आयुर्वेद सेवातर्फ चार सय ९७ जनाले सेवा लिए । ४१ जना मोति विन्दु निदान भएकाहरूका लागि निशुल्क शल्यक्रियाका लागि प्रेषण गरिएको छ । नौ सय १ जनाको आँखा जाँच, उपचार, परामर्श र प्रेषण गरिएको छ । ५० जना विपन्न तथा असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरिएको छ । 

एक हजार तीन सय जनालाई कृषि प्रविधि सम्बन्धी सल्लाह तथा बीउ विजन वितरण गरिएको छ । आठ सय ५९ जनालाई पशुपन्छीसम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण गरिएको छ । ५ जनालाई अपांगता परिचय पत्र वितरण गरिएको छ । १६ जना ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरियो ।८० वटा योजना सम्झौता भएको छ । व्यवसाय दर्ता तथा नविकरण १२ जनाले सेवा लिएका छन् । 

जिल्लाका ८१ मध्ये अधिकांश वडा अझै पनि पालिकाको सहज पहुँच भन्दा टाढै छन् । वर्षमा झण्डै ६ महिना सेवा लिन सवारी साधनको सहज पहुँच नहुने, भौगोलिक वनावट, दूरीका हिसाबले समेत टाढा भएकाले पनि एकीकृत घुम्ती शिविर फलदायी बनेको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । विभिन्न रोगका विशेषज्ञ चिकित्सक समुदायस्तरमै पाउँदा चेतनास्तरको कम भएका, गरिब, विपन्न परिवार लाभान्वित हुने गरेको उनले बताए । 

अधिकांश स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रममै एकीकृत घुम्ती शिविरका लागि बजेट विनियोजन गर्ने गरेका छन् । शिविरमा सबै रोगहरूको जाँच तथा उपचार निदानका लागि स्वास्थ्य प्रयोगशाला, भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग शिविर तथा परामर्श सेवा दिइने गरेको छ । आँखा उपचार, आयुर्वेद सेवाका साथै शिक्षा, कृषि, पशुपन्छीका रोगका लागि परामर्श एवं आवश्यक औषधी बितरण गरिएको छ । अपांगता भएका, ज्येष्ठ नागरिक, गरिबी परिचयपत्र बितरणका साथै प्रदेश, गाउँपालिका र वडाको योजना सम्झौताका लागि सेवा प्रदान गरिएको तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराज नागिलाले बताए । शिविरमा शिक्षा शाखा अन्तर्गत गरिब तथा असहाय विद्यार्थीहरूका लागि छात्रवृत्ति वितरण लगायतका सेवा प्रदान गरिएको छ । बेरोजगार सूची दर्ता, सामाजिक सुरक्षा भत्ताका लागि नयाँ दर्ता, कृषि प्रविधिसम्बन्धी सल्लाह, परामर्श, आवश्यक बीउबिजन वितरण लगायतका सेवा दिइएको छ । 

पालिका तहबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निस्दी गाउँपालिकाले वडावडामा पुगेर सेवा प्रदान गरेको छ । वडा कार्यालयबाट सबै सेवा नपाइने र भूगोलका कारण पालिकाको सेवा सबैको सहज पहुँचमा नभएकाले घुम्ती शिविरमार्फत् सेवा प्रवाह गरिएको हो । शिविरको माध्यमबाट पालिकाले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन सहज भएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । टाढा गएर सेवा लिन नसक्ने नागरिकलाई सहज, सरल र सर्वसुलभ रूपमा सेवा प्रदान गर्न एकीकृत घुम्ती शिविर राखेको हो । वार्षिक स्वीकृत कार्यक्रममार्फत पालिकाको सेवा सहित अन्य थप सेवा प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए । 

निस्दी गाउँपालिकामा शिविरबाट ७ वडामा ७२ वटा योजना सम्झौता गरेका छन् । १३ वटा योजनाको पेस्की भुक्तानी गरिएको छ । शिविरमा ६ सय ७८ जनाको दाँत तथा मुखको परीक्षण सेवा दिइएको छ । ५ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । ९०४ किसानका २९ हजार ५५० पशुपंक्षीलाई औषधी वितरण गरिएको छ । शिविरमार्फत् २३ जनाले व्यवसाय दर्ता गरेका छन् । ३८ जनाले नवीकरण गरेका छन् । गाउँपालिका भित्रका ६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । ८४ वटा माटोको नमुना परीक्षण गरिएको छ । २ सय २७ जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । १६ जना असहाय महिलालाई सहयोग प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध ४६ जनालाई सुरक्षा सामाग्री प्रदान गरिएको लेखा अधिकृत सरोज काफ्लेले बताए । 

शिविरले किसान उत्साहित 

स्थानीय तहले राख्ने एकीकृत घुम्तीले किसानलाई उत्साहित बनाएको छ । गाउँमा प्राविधिक सेवा नपाउने, माटो परीक्षणको विषय थाहा नहुने र बीउबिजनका विषयमा जानकारी नपाउने दुर्गमका किसान बढी खुसी भएका हुन् । नजिकमा दक्ष प्राविधिक नभएका एग्रोभेटबाट सामान खरिद गर्नुपर्ने बाध्यतामा रहने किसानलाई गाउँपालिकाबाट प्राविधिक गाउँमै पुग्दा किसान खुसी भएका हुन । Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

निस्दी गाउँपालिका–५, गल्धाका व्यावसायिक किसान सूर्यबहादुर खाम्चाले गाउँमै कृषि प्राविधिक पाउनै मुस्किल पर्ने बताए । ‘चार वर्षदेखि गाउँमै बसेर व्यावसायिक तरकारी खेती गर्न सुरु गरेको थिएँ,’ उनले भने, ‘एकीकृत घुम्ती शिबिरबाट बल्ल धेरै प्राविधिक ज्ञान पाउन सफल भए ।’ ७ वटै वडाका किसानले उत्पादन गरेका कृषि उपजको प्रदर्शन गरी उत्कृष्टलाई पुरस्कृत गरिएपछि थप उत्साहित बनेका हुन् । 

घुम्ती शिविरमा आयोजित प्रतियोगितामा उत्कृष्ट किसानका रूपमा पुरस्कृत भएका खाम्चाले यस्तो प्रोत्साहन पहिलो पटक पाएको बताए । ‘मैले साग लगायत अन्य थुप्रै तरकारी लगाएको थिए,’ उनले भने, ‘स्थानीय जातको साग कसैले ल्याउँदैन होला भन्दै ल्याएको थिए । मेरै साग उत्कृष्ट बनेछ ।’ उनले पुरस्कार पाउनु भन्दा सबैका अगाडि सम्मानित हुनले थप हौसला मिलेको बताए । अझ जोश र जाँगरले अगाडि बढ्न प्रेरणा मिलेको उनले बताए । 

उनले गल्धाको ढुंगानावेशीमा करिव ६ रोपनी जग्गामा व्यावसाियक तरकारी खेती गर्छन् । उनको बहत्तरी कृषि फार्म छ । कृषि प्रदर्शनीमा बाँकामलाङमा १७, सहलकोटमा ३३, झिरुवास १८, मित्याल ३०, गल्धा ३८, अर्चले ५४, ज्यामिरे ४ जना किसानले कृषि प्रदर्शनीमा सहभागिता जनाएको निस्दी गाउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले बताए । गाउँपालिकाका ७ वडामा भएको कृषि प्रदर्शनीमा एक सय ९४ जना किसानले कृषि उपज सामग्री पर्दर्शन गरेका थिए । निस्दी गाउँपालिकाले किसानलाई माटो परीक्षणको सुविधासमेत दिएको उनले बताए । Citizens of remote areas are benefited by getting the services of the municipality in the ward itself

बाँकामलाङमा १३, सहलकोटमा ५, झिरुवास ५, मित्याल १३, गल्धा २२, अर्चले १२, ज्यामिरे १४ जना किसानले माटो परीक्षण गराएका थिए । कृषि प्रविधिसम्बन्धी सल्लाह तथा बीउबिजन बाँकामलाङमा १ सय ५८, सहलकोटमा १ सय २०, झिरुवासमा ८२, मित्यालमा १ सय १३, गल्धामा १ सय ६१, अर्चलेमा १ सय ५८, ज्यामिरेका १ सय १२ जना किसानले सेवा लिएको कृषि अधिकृत सागर न्यौपानेले बताए । रम्भा गाउँपालिकामा कृषि प्रविधिसम्बन्धी सल्लाह तथा बीउबिजन ताहुँमा २ सय ५३, हुमीनमा १ सय ७५, फोक्सिङ्कोट १ सय १५, हुँगीमा ३ सय ३० र पिपलडाँडमा १ सय ४० गरी १ हजार ३ सय जनाले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी तथा सूचना प्रविधि अधिकृत सुरज पाठकले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully