प्यूठान — प्युठानमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । टिकुरी बासपार्कबाट बाग्दुलातर्फ आउँदै गरेको लु ९२प १३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री मल्लरानी गाउँपालिका–४ बासखोलाका अन्दाजी ७० वर्षीय रामचन्द्र शाहको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएका शाहको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिजुवारदेखि बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४००३ नम्बरको म्याजिक र बाग्दुलादेखि बिजुवार जाँदै गरेको लु ७६ प ५४०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । प्युठान नगरपालिका–७ गाँजुरी सहिद पार्क नजिकै दुवै सवारी आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्युठान–४ का मोटरसाइकल चालक ३७ वर्षीय विनोद नेपाली र उनकी श्रीमती रेखा नेपाली घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि बुटवल पठाइएको छ ।
