अर्घाखाँची — गाउँमै सुन्तला उत्पादनबाट घरैपिच्छेका परिवारले रोजगारी पाएका छन् । राम्रो आम्दानी भएपछि पढेलेखेका युवा सुन्तला खेतीमा सक्रिय छन् । सुन्तलाले गाउँको आर्थिक अवस्था पनि फेरिएको छ ।
छोराबुहारी र नातिनातिनासँगै पाणिनि गाउँपालिका–१ सिम्लेका ८२ वर्षीय होमनाथ पौडेल सुन्तला बिक्री गर्न व्यस्त छन् । जवानी उमेरमा भारतीय पल्टनमा रहँदा ‘खान नपाएर आएका नेपाली’ भन्ने दुर्वचन सुन्दा ७ वर्षसम्म गरिखाएको जागिर चटक्कै छाडेर २०२६ सालमा जन्मघर सिम्ले फर्किएको उनले सुनाए । घरमा एक/दुईवटा सुन्तलाका बोट थिए । फलेका दाना बिक्री गर्दैनथे । आएका पाहुनालाई पाहुर दिने चलन थियो । आफैं विरुवा उत्पादन गरे । केही गुल्मीबाट विरुवा ल्याएर बारीभरि लगाए ।
छिमेकीलाई अन्न, घ्यू, डोको, नाम्लो, दाउरा र खेताला (श्रम) सित साटेर सुन्तलाका विरुवा दिए । त्यतिबेला उनको एउटै ध्येय थियो, सुन्तलाबाटै भारतीय सेनाका जवानको तलबभन्दा बढी आम्दानी गर्ने । लगाएको चार वर्षमै सुन्तलाका बोटले फल दिन थाले । ४ सय दानालाई एक रुपैयाँमा पाल्पा तानसेन लगेर बिक्री गरे । उनी हौसिए ।
‘भारतीय पल्टनमा खान नपाएर आएका नेपाली भन्दा साह्रै नरमाइलो लाग्यो,’ उनले भने, ‘जागिर छाडेर सुन्तला खेती गर्न फर्किएको थिएँ । अहिले सफल भएँ, भारतीय पल्टनको पेन्सनजस्तै सुन्तलाबाट बर्सेनि पैसा भित्रिरहेको छ ।’ बेचेर पैसा आउन थालेपछि गाउँले सबै सुन्तला खेतीमा लागेको उनले बताए । ‘अहिले बारीमा अन्नखेती खासै छैन,’ उनले भने, ‘मैले एक्लै सुरु गरेको काममा मेरा चार छोरा र गाउँलेले साथ दिए, म यसैमा खुसी छु ।’ अहिले सुन्तलाबाट लाखौं आम्दानी दिइरहेको सिम्ले गाउँमा कुनै बेला वर्षदिन दुःख गर्दा ६ महिनालाई खान नपुग्दा भारत र स्वदेशका अन्य सहरमा नोकरी गर्न धाउँथे । जिल्लाको अन्य ठाउँबाट घरजग्गा यत्तिकै छाडेर बसाइँसराइ गरिरहेका बेला सिम्लेमा सुन्तला खेतीले नै बसाइँसराइ रोकेको छ ।
होमनाथले कतै नगएर सुन्तला खेती गर्न गाउँले दौतरीलाई उक्साए । उनकै देनबाट सिम्लेको सिंगो गाउँ अहिले व्यावसायिक सुन्तला खेतीबाट स्वरोजगार छ । गाउँका ५३ घरपरिवारले १ लाखदेखि १५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गरिरहेका छन् ।
पौडेलका चार छोरा र चार छोरी छन् । सबैजना छोरा सुन्तला खेतीमा रमाएका छन् । जेठा छोरा केशवका ६ सय सुन्तलाका बोट, माइलो रेवतीका ६ सय, साइलो चिरञ्जीवीले ५ सय र कान्छो नारायणले ३ सय सुन्तलाका बोटबाट आम्दानी लिइरहेका छन् । उनले चारै जना छोरालाई हरेक वर्ष सुन्तलाका दाना धेरै फलाउनेमा प्रतिस्पर्धा गराउँछन् ।
उनका चार छोरा अंशवण्डा गरेरै छुट्टाछुट्टै बसेका छन् । उनी जेठा छोरा केशवसँग बस्छन् । बीचमा रेवती र चिरञ्जीवी वैदेशिक रोजगारीमा गएपछि फर्किएर सुन्तला खेतीमा रमाएका हुन् । ‘मैले स्नातक तह उत्तीर्ण गरेको छु, सरकारी जागिरतिर र विदेश कतै जान्न,’ नारायणले भने, ‘जागिरभन्दा सुन्तलाबाटै धेरै पैसा कमाउँछु । १० रोपनी बारीमा भएका ३ सय बोटबाट गत वर्ष १० लाख रुपैयाँ बचत गरेको थिएँ, अहिले बोटमा लटरम्मै फलेको छ, १४ लाख त कसो नपर्ला र भन्ने लागेको छ ।’
२०७२ सालमा अंशबन्डा गरेर छुट्टिएर व्यावसायिक खेतीमा उनी सक्रिय छन् । होमनाथका चारै छोराले सुन्तला खेतीको प्रगति हेर्न बोटमा दाना हेर्छन् । ‘बुवा र तीन दाजुकै देखासिकी गरेर मैले सुन्तला खेती गरेको हुँ,’ उनले भने, ‘जति उत्पादन गरे पनि बिक्री नहोला भन्ने चिन्ता छैन । घरमै गाडी ल्याएर व्यापारीले खरिद गरेर लैजान्छन् ।’
उनका चार दाजुभाइमध्ये सबैभन्दा धेरै रेवतीले आम्दानी गर्छन् । उनले वार्षिक १५ लाख, केश र चिरञ्जीवीले ८ लाख रुपैयाँसम्म बचत गर्छन् । एउटा बोटमा धेरै र ठूला दाना फलाउन पनि उस्तै मिहिनेत गर्नुपर्छ । ‘पुस १५ भित्रै बोटबाट दाना टिपिसक्नुपर्छ, ढिलासम्म राखे अर्को वर्ष कम फल्छ,’ रेवतीले भने, ‘दाना निखारेर बोटमा सिँचाइ गर्ने, हिउँदभर गोबरमल र खनजोत गर्छौं । युरिया, पोटास र कालोमल मात्रा मिलाएर राख्नुपर्छ ।’ जति राम्रोसँग मलजल गरेर स्याहासुसार गर्यो, त्यतिधेरै दाना फल्ने उनले बताए । बोटमा लटरम्मै दाना फलेकाले हाँगामा टेका लगाएर अड्याइएको छ ।
सबै दाजुभाइबीच मेलमिलाप छ । ‘बुवाले सबैको बारीमा पुगेर रेखदेख गर्नुहुन्छ,’ उनले भने, ‘रोग लाग्नबाट र फूल फुल्दा असिना पानीबाट जोगिए, आम्दानी राम्रो हुन्छ ।’ सबैले गाउँमै पक्की घरगोठ, कच्ची घरमा पनि सिमेन्ट लगाएर चिटिक्क पारेका छन् । सुन्तलाबाट जति आम्दानी गरे पनि बसाइँसराइ गरेर सहर र तराईमा जाने सोच नभएको उनले बताए ।
‘केही वर्ष यहाँभन्दा धेरै कमाइ गर्ने लोभले वैदेशिक रोजगारीमा गएँ,’ चिरञ्जीवीले भने, ‘विदेशभन्दा त यहीँ सुन्तलाबाट राम्रो आम्दानी भएपछि सुन्तला खेतीमा लागेको छु ।’ बोटभित्र काउली, गोभी, मूला, पिँडालु, अदुवा, बेसार लगायत तरकारी खेती पनि छ । सिम्ले गाउँबाट जिल्ला सदरमुकाम सन्धिखर्क र पाल्पा तानसेन हुँदै बुटवलसम्म बस, ट्रक, जिप र कार आउजाउ गर्ने भएकाले उत्पादित वस्तु सबै गाडीबाट सहजै सहरमा निर्यात हुन्छ ।
सिम्लेको सिंगो गाउँ स्वरोजगार
कक्षा १२ पास गरेका युवा कृषक रेवती भट्टराईले तीन वर्ष वैदेशिक रोजगारीमा बिताए । फर्किएर व्यावसायिक सुन्तला खेतीमा सक्रिय छन् । पाखोबारीमा ३ सय १५ बोटले फल दिइरहेका छन् । १ सय ३५ बोट नयाँ छन् । एक सयजति बोट थप्ने तयारीमा छन् । उनले वर्षमा सुन्तलाबाट ९ लाख रुपैयाँ आम्दानी गर्छन् । घरबाट गाडीबाट बुटवल सुन्तला निर्यात गर्छन् । सुन्तलाको आम्दानीबाट उनले गाउँमै अढाइ तले पक्की घर बनाएका छन् । ‘पाखोबारीमा वर्षदिन अन्न खेती गर्दा ६ महिनालाई खान पुग्दैनथ्यो,’ उनले भने, ‘सुन्तलाले त हाम्रो जीवनै परिवर्तन गरिदियो । दुःख गरेपछि आम्दानी राम्रो छ, अब म कहिल्यै विदेश जान्न, यहीँ सुन्तला खेती विस्तार गर्छु ।’
छिमेकीहरू कसले धेरै र ठूला दाना फलाउने भन्नेमा होडबाजी छ । सबै गाउँले समूहमा आबद्ध भएर सुन्तला खेतीमा सक्रिय छन् । गाउँमा सरसल्लाह, छलफल गरेर कसरी धेरै सुन्तला उत्पादन गर्ने भन्नेबारे भलाकुसारी हुने कृषक सीता पौडेलले बताइन् । सिम्ले गाउँमा सुन्तला खेतीमा महिलाहरू बढी सक्रिय छन् । वैदेशिक रोजगारीमा गएका र जाने सोच भएका पुरुषलाई पनि महिलाले रोकेर सुन्तला खेतीमा आबद्ध गराएका छन् । जीवन सुन्तला खेतीमै बिताएका रामप्रसाद पौडेलले पनि छोरालाई सुन्तला खेतीमै लगाएका छन् । ‘पाखोबारीमा सुन्तलाका बोट छन्,’ उनले भने, ‘दाना पहेँला नहुँदै बुटवलबाट व्यापारी किन्न घरमै आउँछन् । अन्न खेती नहुने बारीमा सुन्तलाले हाम्रो आर्थिक अवस्था बदलियो ।’ उनले सुन्तलाबाट वार्षिक ९ लाख जति आम्दानी गर्छन् ।
पोखराथोकका युवा कृषक भाष्कर पौडेलले गत वर्ष बगैंचबाटै सुन्तला बेचेर ६ लाख कमाइ गरे । उनले यस वर्ष उत्पादन वृद्धि भएकाले ९ लाखसम्म आम्दानी हुने बताए । भारतमा रोजगारी गरी घर फर्केका उनले सुन्तला खेतीलाई नै प्रमुख आम्दानीको स्रोत बनाएका छन् । शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष चिरञ्जीवी पौडेलले सुन्तला बिक्रीबाट गत वर्ष ६ करोड रुपैयाँ गाउँमा भित्रिएको बताए । गत वर्षभन्दा अहिले दोब्बर र ठूला दाना भएकाले आम्दानी ७ करोड पुग्ने अनुमान उनले गरे । कृषकले सुन्तला बोटबाट प्रतिकिलो ८५ रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
अर्घाखाँचीमा ४ हजार ९४ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ । सबैभन्दा धेरै सुन्तला उत्पादन हुने गाउँ सिम्ले हो । त्यसपछि पाणिनिको पोखराथोक, खिदिम, मैदान, छत्रदेव गाउँपालिकाको मरेङ, अर्घातोष, मालारानीको खन, खनदह, हंसपुरको साकिनधारा लगायतका गाउँमा व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ ।
‘अहिले खेती भइरहेको ठाउँमा कृषकलाई आधुनिक तरिकाबाट उत्पादन बढाइ थप विस्तार गर्ने र सुन्तला खेती हुने अन्य गाउँका बस्तीमा पनि स्थानीय तहसितको समन्यवमा खेती गर्न कृषकलाई आकर्षित गर्ने कार्यक्रम विस्तार गर्छौं,’ कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले भने, ‘हामीले गाउँमा प्राविधिक खटाएर रोगकिरा लाग्नबाट जोगाउने, कुन समयमा मलजल दिने र स्याहारसुसार कसरी गर्ने भन्नेबारे सहयोग गरेका छौं । सिम्ले गाउँमा खाली रहेका बारी र खर्यानमा पनि सुन्तलाका विरुवा लगाउन कृषकलाई आकर्षित गरेका छौं ।’ सुन्तलाको आम्दानी बर्सेनि निरन्तर आइरहने भएकाले पेन्सनजस्तै भएको घिमिरेले बताए । कृषकलाई सुन्तलासम्बन्धी विभिन्न कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए ।
पहाडका ८ सयदेखि १५ सय मिटर उचाइमा फुल्न, फल्न र स्वादिलो फल उत्पादन गर्न उपयुक्त मानिन्छ । हल्का बलौटे र चिम्ट्याइलो माटोमा राम्रो फल्छ । सुन्तलाका बोटको आयु अधिकतम ८० देखि न्यूनतम ४५ वर्ष हुने विज्ञहरू बताउँछन् ।
