सञ्चारकर्मीद्वारा बौद्ध संचार यात्रा

पुस ११, २०८१

मनोज पौडेल

Buddhist Communication Journey by Communicator

लुम्बिनी — लुम्बिनीको अध्यात्मिकता उजागर गर्दै पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले भैरहवादेखि लुम्बिनीसम्म २४ किमि बौद्ध सञ्चार यात्रा गरिएको छ । सञ्चारकर्मीको साझा संस्था लुम्बिनी प्रेस क्लबले आफ्नो ११ औं स्थापना दिवसका अवसरमा बिहीबार पैदल सञ्चार यात्रा गरेको हो ।

सञ्चार यात्राले लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश दिंदै शान्तिका अनुयायीलाई लुम्बिनी आएर पदयात्रा गर्न उत्प्रेरित गर्ने उद्देश्यले बौद्ध सञ्चार यात्रा गरिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए । 

भैरहवास्थित लुम्बिनी गेटबाट सुरु भएको पैदल यात्रा बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेको थियो । ५० जना सञ्चारकर्मीसहित प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, उद्योगी, व्यवसायी, पर्यटन उद्यमी, भिक्षु, लामा, नागरिक अगुवा र अधिकारकर्मी गरी एक सय जनाले पैदल यात्रा गर्दै लुम्बिनी पुगेका थिए । पत्रकारहरू सधैं कापी–कलम र क्यामेरा बोकेर सूचना लिन जानेमात्र नभई लुम्बिनीबाट आध्यात्मिक ऊर्जा प्रदान गरेर थलिएको पर्यटकीय क्षेत्र उकास्न यात्रा गरेको क्लबका महासचिव प्रकाश न्यौपानेले बताए । 

सञ्चार यात्रा गर्दा दुःखकष्ट भए पनि मायादेवी मन्दिर प्रवेश गर्दा आध्यात्मिक ऊर्जा पलाएर गजबको शान्तिको अनुभूतिले सबै दुःख पीडा हराएर गएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । 

मायादेवी मन्दिरमा सहभागीलाई भिक्षु श्रीबजिरले १० मिनेट ध्यान गराएका थिए । यात्राका सहभागीलाई ठाउँठाउँमा स्थानीयले स्वागत गरेका थिए । महाराज शुद्धोधनका गुरु अतिशकाल देवल नवजात शिशु सिद्धार्थ बोधीसत्वलाई हेर्न आउदा शिशु सिद्धार्थ महान गुरु बन्ने भविष्यवाणी गरेका थिए ।

उनै महान गुरुप्रति समर्पित भई अतिशकाल देवलले आफ्ना भान्जा नालकलाई प्रवज्जित (भिक्षु बनाएका) थिए । उनै भिक्षु नालक आजीवन पैदल यात्रा गर्दै धम्मदेशना गरेकाले पैदल यात्रा महत्त्वपूर्ण रहेको कुरा सूत्र पिटकको सुत्त निकायमा उल्लेख गरेको लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्रध्यापक भिक्षु श्रीवजिरले बताए ।

मनोज

Link copied successfully