स्वास्थ्य प्रगोगशाला भएन सुचारु

पुस ८, २०८१

महेश केसी

The health laboratory did not resume

रुकुम पूर्व — सिस्ने गाउँपालिका–२ नायगाढमा रहेको प्वाङ स्वास्थ्य चौकीको प्रयोगशाला (ल्याब) अवरुद्ध भएको छ । परीक्षणका लागि आवश्यक सामग्री भएर पनि दक्ष जनशक्ति नहुँदा सेवा सुचारु हुन नसकेको हो ।

स्वास्थ्य चौकीमा प्रयोगशालाका लागि आवश्यक पर्ने आधारभूत सामग्री भए पनि दक्ष जनशक्ति नहुँदा गत असोजदेखि सेवा अवरुद्ध भएको स्वास्थ्य चौकी प्रमुख काशीराम खड्काले बताए । 

‘गत २०७९ पुसमा प्रयोगशाला स्थापना गरिएको थियो । करार ल्याब असिस्टेन्टले असोजमा जागिर छोडेपछि सेवा रोकिएको छ,’ उनले भने, ‘यसले गर्दा हामीले यहाँबाट प्रदान गर्ने सेवा पनि प्रभावकारी हुन सकिरहेको छैन ।’

यस प्रयोगशालाबाट गर्भवतीको ल्याव परीक्षण, क्षयरोग जाँच, यौन रोगको परीक्षण, टाइफाइड, दिशापिसाब परीक्षण, एस्पाइलरी परीक्षण, सुगर आदिको परीक्षण गर्ने गरिएको थियो । 

प्रयोगशाला संचालनमा आएपछि परीक्षणका लागि जिल्ला अस्पतालसम्म जानुपर्ने समस्या हल भएको थियो तर अहिले बन्द हुँदा आफूहरू समस्यामा परेको स्थानीय गणेश खड्काले बताए । 

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र यादवले यसअघि भर्ना गरिएका कर्मचारीले जागिर छोडेको बताउँदै अब नयाँ कर्मचारी भर्नाका लागि कसरी अगाडि बढ्ने भनेर सल्लाह भइरहेको बताए ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully