पाल्पा — पाल्पाको रम्भा गाउँपालिकाले शनिबारदेखि सुरु गरेको पाँचदिने एकीकृत घुम्ती शिविरमा एकै दिन १ हजार १८ जना नागरिकले सेवा लिएका छन् ।
शिविरको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उद्घाटन गर्दै एकीकृत शिविरले नागरिकको घरदैलोमै सेवा प्रदान गरेको बताए ।
रम्भा गाउँपालिका–५, ताँहुमा आयोजित शिविरमा सेवाग्राहीको भीड लागेको थियो । रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम अनुसार राखेको शिविरमा सबै रोगको जाँच तथा उपचार निदानका लागि स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
शिविरमा भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्रीरोग शिविर तथा परामर्श सेवा लिन नागरिकको घुइँचो लागेको थियो । आँखा उपचार, निःशुल्क औषधि वितरणका साथै आयुर्वेद सेवा प्रदान गरिएको छ । शिक्षा, कृषि, पशुपन्छीका रोगका लागि परामर्श एवं आवश्यक औषधि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।
अपांगता भएका, ज्येष्ठ नागरिक, गरिबी परिचयपत्र वितरणका साथै प्रदेश, गाउँपालिका र वडाको योजना सम्झौताका लागि सेवा लिन उल्लेख्य संख्यामा सेवाग्राही आएका थिए । घरदैलोमै डाक्टरसहितको स्वास्थ्य जाँचले सेवाग्राहीको भीड लागेको थियो । भिडियो एक्सरे सेवा, ल्याब, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग विशेषज्ञ सेवा, एचपीए र डीएनए विधिबाट स्वाब संकलन, व्यवसाय दर्ता, ज्येष्ठ नागरिक र गरिव परिचयपत्र वितरण लगायतका सेवा प्रदान गरेको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।
शिक्षा शाखाअन्तर्गत गरिब तथा असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण लगायतका सेवा प्रदान गरिएको छ । शिविरमा बेरोजगार सूची दर्ता, सामाजिक सुरक्षा भत्ताका लागि नयाँ दर्ता, कृषि प्रविधिसम्बन्धी सल्लाह, परामर्श, आवश्यक बीउबिजन वितरण लगायतका २७ प्रकारका सेवा दिइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठकले बताए ।
वडा कार्यालयमा आयोजित शिविरमा सबै टोलका बासिन्दा सेवाका लागि आएका हुन् । स्वास्थ्य कार्यालय, लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा लगायतको प्राविधिक सहयोग रहेको शिविर गाउँपालिकाले ताँहुपछि हुमीन, फोक्सिङ्कोट, हुँगी, पीपलडाँडामा समेत संचालन गर्ने गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।
