गाउँपालिका अध्यक्षले मेसिन फुटाइदिएपछि राहदानी सेवा ठप्प

पुस ५, २०८१

गगनशिला खड्का

The passport service stopped after the chairman of the rural municipality broke the machine

गुल्मी — कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले राहदानी शाखाको स्क्यानर फुटाइदिएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरण कार्य ठप्प भएको छ । 

टोकन प्रणालीका कारण आफ्नो पालिकाबाट आउने सेवाग्राहीको पासपोर्ट बनाउने पालो नआएको भन्दै थापाले प्रशासनको स्क्यानर फुटाइदिएपछि राहदानी सेवा ठप्प भएको हो । बिहीबार विपद् व्यवस्थापनसम्बन्धी बैठकका लागि प्रशासन कार्यालयमा पुगेका थापाले आफ्नो पालिकाबाट पासपोर्ट 

बनाउन आएका सेवाग्राहीका बारेमा बुझ्न राहदानी शाखामा पुगेको र विवाद भएपछि स्क्यानर फुटाएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

‘आज सेवाग्राहीको चाप धेरै भएकाले भोलिसम्मकै लागि टोकन वितरण भएको थियो, अध्यक्षज्यूले केही सेवाग्राहीको पालो समयमै नआएको विषयमा विवाद हुँदा स्क्यानर फुटाउनुभएछ,’ गैरेले भने । 

स्क्यानर फुटेपछि गुल्मीमा राहदानी बनाउने काम रोकिएको छ । ‘फुटेको मेसिन यहाँ अन्यत्र किन्न पनि नपाइने रहेछ, अब विभागबाट अर्को मेसिन नआएसम्म राहदानी बनाउने काम रोकिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘भोलि विभाग खुलेपछि सकेसम्म चाँडो ल्याउने व्यवस्था गर्दै छौं ।’

स्क्यानर फुटाएपछि अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीसमक्ष थापाले लिखित माफी मागेको र फुटाएको मेसिनको क्षतिपूर्ति तिर्ने सहमति भएपछि राति आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए ।

कालीगण्डकी गाउँपालिका जिल्लाको सबैभन्दा टाढाको पालिका भएका कारण नागरिकता, पासपोर्ट र मालपोतका लागि मात्र सेवाग्राहीहरू सदरमुकाम आउने गर्छन् । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully