गाउँपालिका अध्यक्षले मेसिन फुटाइदिएपछि राहदानी सेवा ठप्प

पुस ४, २०८१

गगनशिला खड्का

The passport service was stopped after the chairman of the rural municipality broke the machine

गुल्मी — कालिगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले राहदानी शाखाको स्क्यानर फुटाइदिएपछि जिल्ला प्रशासन कार्यालयमा राहदानी वितरण कार्य ठप्प भएको छ । 

टोकन प्रणालीका कारण आफ्नो पालिकाबाट आउने सेवाग्राहीको पासपोर्ट बनाउने पालो नआएको भन्दै थापाले प्रशासनको स्क्यानर फुटाइदिएपछि राहदानी सेवा ठप्प भएको हो । बिहीबार विपद् व्यवस्थापनसम्बन्धी बैठकका लागि प्रशासन कार्यालयमा पुगेका थापाले आफ्नो पालिकाबाट पासपोर्ट बनाउन आएका सेवाग्राहीको बारेमा बुझ्न राहदानी शाखामा पुगेको र विवाद भएपछि स्क्यानर फुटाएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । ‘आज सेवाग्राही चाप धेरै भएकोले भोलिसम्मकै लागि टोकन वितरण भएको थियो, उहाँ अध्यक्षज्यूले केही सेवाग्राहीको पालो समयमै नआएको विषयमा विवाद हुँदा स्क्यानर फुटाउनुभएछ,’ गैरेले भने । 

स्क्यानर फुटाएपछि अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीसमक्ष थापाले लिखित माफी मागेको र फुटाएको मेसिनको क्षतिपूर्ति तिर्ने सहमति भएपछि राति आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी शंकर पोखरेलले बताए । 

कालिगण्डकी गाउँपालिका जिल्लाको सबैभन्दा टाढाको पालिका भएको कारण नागरिकता, पासपोर्ट र मालपोतको लागि मात्र सेवाग्राहीहरु सदरमुकाम आउने गर्दछन् । गाडी रिजर्भ गरेर सेवाग्राहीहरु आउने गरेकोले समयमै काम सम्पन्न हुन नसकेमा ठूलो धनराशी खर्च हुने गरेको कारण एकैदिनमा सेवा लिनुपर्ने बाध्यता छ । बिहीबार पनि बेलुकासम्म कुरेर बसेका सेवाग्राहीलाई आजै पासपोर्ट बनाइदिनु भन्ने विषयमा विवाद भएको पालिका अध्यक्ष थापाले प्रहरीसमक्ष स्वीकारेका छन् । 

गुल्मीमा राहदानी बनाउनेको निकै चाप हुने भएकोले प्रायः कर्मचारीहरु बिहान ९ बजेदेखि बेलुका अबेरसम्म पनि राहदानी वितरणको काम गर्दै आएका छन् । गत मंसिरमा सर्भरमा आएको समस्याका कारण राहदानी सेवा बन्द भएर १८ दिनपछि खुलेकाले सेवाग्राहीको चाप झन् बढेको प्रशासन कार्यालयले जनाएको छ । चापका कारण आएका सेवाग्राहीको समयमै पासपोर्ट बनाउन नसक्ने समस्या भएको प्रशासन कार्यालयले जनाएको छ । 

स्क्यानर फुटाएपछि गुल्मीमा राहदानी बनाउने काम रोकिएको छ । ‘फुटेको मेसिन यहाँ अन्यत्र किन्न पनि नपाइने रहेछ, अब विभागबाट अर्को मेसिन नआएसम्म राहदानी बनाउने काम रोकिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी गैरेले भने, ‘भोलि विभाग खुलेपछि सकेसम्म चाँडो ल्याउने व्यवस्था गर्दै छौं ।’

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully