पाल्पा — यही पुस ९ गतेदेखि पाल्पाको बगनासकाली गाउँपालिका–१, चिलाङ्दीमा हुने पाल्पा महोत्सवको तयारी तीव्र पारिएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवर्द्धनमा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।
महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्नेछन् भने कुल ३ करोडको कारोबार हुने आयोजक समितिका संयोजक नारायण न्यौपानेले बताए । पर्यटन प्रवर्द्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवमा फोटो ग्यालरी, स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिनेछ ।
महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापार व्यवसाय, रेष्टुरेण्ट गरी १ सय ५० स्टल रहनेछन् । महोत्सवमा बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । राष्ट्रिय तथा स्थानीय कलाकार र कला केन्द्रले सांस्कृतिक कार्यक्रमले महोत्सवलाई थप आकर्षक गराउने आयोजकले जनाएको छ ।
