लुम्बिनी — झण्डै एक वर्षदेखि आन्दोलित बनेका लुम्बिनीका होटल व्यवसायीले विरोध कार्यक्रम स्थगित गरेर सहमति गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका विहार र गुम्बाले आफ्नो अतिथि गृहमा अनावश्यक र अस्वभाविक रुपमा पाहुना राखेर होटल ब्यवसाय संचालन गरेको भन्दै होटल व्यवसायी आन्दोलित बनेका थिए ।
८ बुँदे सहमति गर्दै लुम्बिनी विहार तथा तीर्थयात्री ब्यवस्थापन कार्यविधि २०८१ बनाएर उत्फन्न विवाद समाधान गरी समझदारी गरिएको लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।
उनका अनुसार लुम्बिनी होटल संघ, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संलग्नतामा होटल र विहारका बिषयमा देखिएका समस्याहरु समाधान गर्ने गरी कार्यविधि बनाएर उत्पन्न असमझदारी र विवादको अन्त्य गरिएको हो ।
कार्यविधिले गुम्बा विहारमा निश्चित संख्यामा भिक्षु, लामा, भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै बस्न पाउने बनाइएको छ । विहारमा बस्ने पाहुना, भिक्षु, भिक्षुणी र कर्मचारीको दैनिक रेकर्ड राख्नु पर्ने र उक्त विवरण हरेक महिनाको अन्त्यमा लुम्बिनी विकास कोषमा पेश गर्नु पर्ने कार्यविधि बनाइएको छ ।
होटल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आतिथ्यता स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ । त्यस्तै, विहार गुम्बाले लुम्बिनीमा अध्यात्मिक वातावरण बढाउन महिनामा एउटा धार्मिक गतिबिधि गर्नु पर्ने उल्लेख छ ।
कोष, नगरपालिका, स्थानीय प्रशासन, होटल व्यवसायी र विहार गुम्बाका प्रतिनिधि राखेर छलफल गरी कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ । गुम्बा विहार र होटल व्यवसायीबीचको असमझदारी कार्यविधिमा हस्ताक्षर भएसँगै अन्त्य भएको लुम्बिनी होटल व्यवसायी संघ अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गरेर लुम्बिनीमा पर्यटक आगमन बढाउन आग्रह गरे । दुई पक्ष बीचमा भएको सहमतिले राम्रो वातावरण बनेर स्वदेश तथा विदेशमा सकारात्मक सन्देश गएको कोष उपाध्यक्ष लामाले बताए ।
