मानव-वन्यजन्तु द्वन्द्व समाधानबारे लुम्बिनीका मुख्यमन्त्री र निकुञ्जबीच छलफल 

पुस ४, २०८१

वीरेन्द्र केसी

Discussion between Chief Minister of Lumbini and Park on human-wildlife conflict resolution

दाङ — बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा मानव-वन्यजन्तुबीच भएको द्वन्द्वको समस्याबारेमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र निकुञ्जका जिम्मेवार पदाधिकारीसँग बिहीबार छलफल गरेका छन् ।

निकुञ्जमै पुगेर मुख्यमन्त्री आचार्य र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायतसँग छलफल गरेका छन् । 

मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने स्थानीयको दैनिक कामकाजदेखि जीविकोपार्जनको बारेमा समेत छलफल भएको हो । 

मानव वन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाको बारेमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले बताए । बर्दिया पर्यटकीय क्षेत्र भएकोले वन्यजन्तु र मानव दुवै सुरक्षित हुने गरि उपाय खोज्न मुख्यमन्त्री आचार्यले सुझाव दिए ।

लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक वर्ष २०८०/०८१ मा ५ जनाको मृत्यु भएको र आठजना घाइते प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमध्ये बर्दिया जिल्लामा चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो ।

 एक वर्षमा भेडाबाख्रा २ सय १७, गाईभैंसी ३१, बंगुर ४५, हाँस–कुखुरा १ सय ८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वन बिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको तथ्यांकमा उल्लेख छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् । 

लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको वन मन्त्रालयले जनाएको छ । 

वीरेन्द्र

Link copied successfully