अर्घाखाँचीमा टिपरलाई टाइम कार्ड 

पुस ३, २०८१

वीरेन्द्र केसी

Time card to tipper at Arghakhanchi

अर्घाखाँची — दुर्घटना न्यूनीकरण गर्न सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा टिपरलाई टाइम कार्ड लागू गरिएको छ । प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार डोहोटेदेखि नरपानीसम्म चल्ने टिपरमा टाइम कार्ड लागू गरिएको हो ।

विशेषगरी खाँचीकोटमा रहेको चुनढुंगा बोक्ने टिपरलाई अनियन्त्रित रुपमा चलाउने भएकाले सम्भावित जोखिमलाई मधयनजर गर्दै टाइम कार्ड लागू गर्नुपरेको हो । 

नरपानीदेखि डोहोटेसम्मको ३८ किमि सडकमा ४ घण्टा र फर्कंदा डोहोटेसम्म साढे दुई घण्टाको समय कायम गरिएको मल्लले बताए । चुनढुंगा बोक्ने र अन्य टिपर तीव्रगतिका कारण दुर्घटनाको जोखिम हुने भएकाले समय तालिकाअनुसार टिपर सञ्चालन गर्नु परेको उनले बताए । 

अर्घाखाँची सदरमुकाम जोड्ने मुख्य सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानी–दोहोटेसम्म बाटामा धेरै मोड र अप्ठ्यारो छ । धार्मिक पर्यटकीयस्थल सुपादेउराली मन्दिरमा दर्शनका गाडी रिजर्भ गरेर आउजाउ गर्ने यात्रु र नियमित चल्ने सवारी साधनलाई टिपरका कारण दुर्घटना जोखिम न्यूनीकरण गर्न र सहज यात्राको लागि समय तालिका निर्धारण गरएको प्रहरीले जनाएको छ । 

नियम पालना नगर्ने टिपरलाई कारबाही गरिने मल्लले बताए ।

वीरेन्द्र केसी

Link copied successfully