स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा ५ सय स्टल
बुटवल — बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा २४ औं औद्योगिक व्यापार मेला सुरु भएको हो । मेलाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन् ।
बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा पुस १८ सम्म चल्ने मेलामा ५ लाखभन्दा बढीले अवलोकन गर्ने र मेला अवधिभित्र १५ करोड बढीको कारोबार हुने आयोजकको अनुमान छ । बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीका अनुसार मेला औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यबसायिकरणका लागि विशेष महत्त्वका साथ आयोजना गरिएको हो । मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, गार्मेन्ट, जुत्ता, एफएमसीजी (फूड एन्ड बेभरेज), अटोमोबाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभेलियन छन् । त्यसैगरी दुबई फिस टनेलसहितको बाल उद्यान, औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण पनि चल्नेछन् । मेलामा ५ सय स्टल छन् ।
मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, ब्युटी फेयर, टिकटकलगायतका प्रतियोगिता गरिने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईंले बताए ।
मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताए । ‘राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण बिग्रिँदै गएको अवस्थामा अहिले दुई ठूला दलको संयुक्त सरकारले उद्योगी व्यवसायीको चिन्ता हटाएको छ,’ उनले भने, ‘त्यसैले तपाईंहरू ढुक्क भएर लगानी गर्नुस, त्यसको सुरक्षाको ग्यारेन्टी गर्न अहिलको सरकार तयार छ ।’ उद्योगीका कानुनी झमेला र अप्ठ्यारा हटाउन पनि सरकार तयार रहेको उनले बताए । ऊर्जामन्त्री खड्काले वर्तमान सरकार बनेपछि दस वर्षभित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाएको बताए । सरकारले बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको, भारतमासमेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कम गराइएको पनि उनले बताए । विद्युत्मा ट्रंक लाइन र डेडिकेटेड लाइनमा भएको विवाद अहिलेको नभई दश वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको भन्दै उनले महसुल बक्यौता उठाउनकै लागि लाइन काट्ने कुरा उचित नभएको स्पष्ट पारे ।
मेलामा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको बताउँदै लगानीको वातावरण बनाउन संघीय सरकारसँगै प्रदेश सरकार पनि लागिरहेको बताए । ‘प्रदेशको पूर्वाधार विकास र औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ,’ उनले भने, ‘निजी क्षेत्रबाट सञ्चालन हुने यस्ता मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ, त्यसमा प्रदेश सरकारको पनि साथ र सहयोग छ ।’ मेलामा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै समस्या समाधानका लागि साझा एजेन्डा बनाएर अघि बढ्नु जरुरी रहेको बताए ।
२०४१ सालमा उपत्यकाबाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिव्य संघले औद्योगिक प्रदर्शनी गरेको थियो । त्यसयता निरन्तर चल्दै आएको मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाा औद्योगिक लगानी र व्यावसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिष्कृत रूपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताए ।
