दाङ — तुलसीपुरमा बुधबार विहान श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-२ भम्केस्थित एकताटोलका २९ वर्षीय चित्रबहादुर बुढाथोकीले घरमा कोही नभएको अवस्थामा ३२ वर्षीया श्रीमती हस्तीकुमारी बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण टाउकोमा दाउ प्रहार गरेपछि उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए ।
हत्यापछि भाग्दै गरेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोलीले कारागार कार्यालय तुलसीपुर नजिकैबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ठकुरीले बताए ।
