कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित १० दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ । विश्व शान्ति र मानव कल्याणको कामना गर्दै शाक्यमोन्लम पूजा मंसिर २४ गते सुरु भएको थियो । ४१ औं शाक्य गोङ्मा ट्रिचेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको थियो ।
पूजामा विभिन्न मुलुकका एक सय ५० बढी लामा, भिक्षु भिक्षुणी र उपासक उपासिकासहित ५ सय स्वदेशी लामा, भिक्षी भिक्षुणी, उपासक, उपासिका सहभागी थिए । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा पछिल्लो ८ वर्षयता लुम्बिनीमा आयोजना गर्न रोकिएको थियो । आठ वर्षसम्म भारतमा गरिएको पूजा लुम्बिनी विकास कोष उपाध्यक्ष ल्हारक्याल लामाको अग्रसरतामा लुम्बिनीमा निरन्तरता पाएको हो ।
जगतको कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको थियो । हिमाली बौद्ध परम्पराअनुसार पूजाका अवसरमा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको थियो ।
