बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता जैविक मार्गमा वन्यजन्तुबाट खाद्यान्न जोगाउन मधुवन नगरपालिका–१ पत्थरबोझीमा अन्न भण्डार भवन निर्माण गरिएको छ । डिभिजन वन कार्यालय, उज्यालो नेपाल, मधुवन नगरपालिका र स्थानीयको श्रमदान गरी करिब १३ लाख रुपैयाँमा भवन निर्माण गरिएको हो ।
९० प्रतिशत कच्ची घर रहेका पत्थरबोझीमा हात्तीले घर भत्काएर किसानले जम्मा गरेको खाद्यान्नमा नोक्सान पुर्याउन थालेपछि यहाँ पक्की भवन निर्माण गरिएको हो ।
मधुवन नगरपालिका र उज्यालो नेपालको सहयोगमा उक्त भवन निर्माण भएपछि यहाँका किसानले धान, गहुँ, तोरी लगायतका खाद्यान्न ल्याएर यहाँ राख्न थालेका छन् । करिब ३० हजार केजी अन्न भण्डार क्षमताको भवन निर्माण भएपछि यहाँका किसान लाभान्वित भएको उज्यालो नेपालका जिल्ला अध्यक्ष नवराज न्यौपानेले बताए । माथिल्लो तलामा अन्न भण्डार छ भने तल्लो तलामा कुटानी पिसानी मिल रहेको छ । हात्तीबाट प्रभावित किसानले यहाँ अन्न भण्डार गर्न थालेका छन् ।
अन्न भण्डार भवन निर्माण भएपछि किसानले भित्र्याएको अन्नको सुरक्षा हुनुका साथै जीउधनको क्षति रोकिएको मधुवन नगरपालिका–१ का किसान एवं वडा सदस्य धनीराम थारुले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गमा पर्ने पत्थरबोझी भएर वन्यजन्तु ओहोरदोहोर गर्ने गर्छन् । यस आर्थिक वर्षमा यहाँका करिब एक दर्जन घर हात्तीले भत्काएका छन् ।
