परासी — पश्चिम नवलपरासीको रामग्राम–१८ स्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल पण्डितपुरमा उत्खनन सुरु भएको छ । यसअघि भू–भौतिक सर्वेक्षण (जिओफिजिक्स सर्वे)मा बुद्धकालीन प्राचीन सहरको संरचना भेटिएको स्थानमा थप उत्खनन सुरु गरिएको हो ।
पण्डितपुरको दक्षिण–पश्चिम क्षेत्रमा गरिएको भू–भौतिक सर्वेक्षणका क्रममा जमिनमुनि गोलाकार आकारमा रहेको संरचना फेला परेको क्षेत्रमा थप उत्खनन सुरु गरिएको पुरातत्त्व विभागका वरिष्ठ पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए ।
‘यसअघि फेला परेको सामानको वैज्ञानिक परीक्षणमा छैटौं शताब्दीको भएको पुष्टि भएको छ,’ उनले भने, ‘यो क्षेत्र बुद्धकालीन र त्यसभन्दा पनि अगाडिको ठूलो सहर र दरबार रहेको अनुमान छ ।’
यहाँ भेटिएका पुरातत्त्व बस्तुको वैज्ञानिक परीक्षणमा छैटौं शताब्दीको संरचना भेटिएकाले विस्तृत रूपमा उत्खनन सुरु गरिएको पहिलो चरणको उत्खननका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख, पुरातत्त्व विभागले ९ लाख र रामग्राम नगरपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ । लुम्बिनी विकास कोषले यस क्षेत्रको उत्खनन र विकासमा आवश्यक ध्यान नदिएपछि स्थानीयले पण्डितपुरको संरक्षण र विकासका लागि समिति गठन गरेका छन् ।
रामग्राम स्तुप र पण्डितपुर बुद्धकालीन समयको प्राचीन स्थान भएकाले संघ र लुम्बिनी विकास कोषसँग सहकार्य गरेर स्थानीय तहले आवश्यक बजेटको सुनिश्चितता गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए ।
पण्डितपुरलाई कोलियाक गणराज्यको राजधानीका साथै बुद्धको मावली स्थलका रुपमा दाबी गरिंदै आएको छ । वि.सं. २०६८ देखि २०७२ सम्म पुरातत्त्व विभागले परम्परागत प्रविधिको सहायताले गरेको उत्खननका क्रममा यस क्षेत्रमा आठौं शताब्दीका भाँडा, इनार र इँटा भेटिएका थिए ।
पण्डितपुर क्षेत्रमा ६० बिघा क्षेत्रफलमा पुरातत्त्व क्षेत्र फैलिएको र त्यसमध्ये ३० बिघा क्षेत्रमा मात्र जियोफिजिक्स सर्वेक्षण भएको छ । बाँकी भागमा आवश्यक बजेट र प्रविधिको अभावमा जियोफिजिक्स सर्वे हुन सकेको छैन । पुरातत्त्व दृष्टिकोणले संरक्षित क्षेत्रमा ठूला विकास निर्माणको काम र अतिक्रमण रोक्नुपर्ने भए पनि यो क्षेत्र पुरानो बस्ती भएकाले मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था छ । यसका लागि आवश्यक बजेट नभएको पुरातत्त्व विभागको भनाइ छ । ऐतिहासिक स्थल संरक्षणमा आफूहरूले अपनत्व लिने तर बस्ती र खेतीयोग्य जमिनको आवश्यक मुआब्जा पाउनुपर्ने स्थानीयको माग रहेको छ ।
यसअघि रामग्राम नगरपालिका–७ स्थित रामग्राम स्तुपमा बौद्धकालीन पोखरीको भग्नावशेष र विहारको संरचना फेला परेको थियो । पुरातत्त्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयको विज्ञ टोलीले स्तुपको उत्तरपश्चिम क्षेत्रमा एक महिनासम्म गरेको उत्खननमा महत्त्वपूर्ण बस्तु फेला पारेको हो ।
बौद्धकालीन समयको पोखरी र विहार भेटिएको र त्यसमा प्रयोग भएका सामानहरु उत्खननमा भेटिएकाले रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न वैज्ञानिक आधार भेटिएको छ । सन् २०१८ मा गरिएको जियोफिजिक्स सर्वेमा ठूलो बिहार, पोखरी लगायतका बुद्धकालीन सामग्रीहरू फेला परेपछि त्यसको वास्तविक अवस्था पत्ता लगाउन अहिले थप उत्खनन गर्न सुरु गरिएको हो ।
