गौतम बुद्ध विमानस्थलबाट १५० ग्राम सुनसहित ३ जना पक्राउ

मंसिर २४, २०८१

घनश्याम गौतम

3 people arrested with 150 grams of gold from Gautam Buddha Airport

बुटवल — भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आइतबार १ सय ५० ग्राम सुनसहित ३ जनालाई पक्राउ गरेको छ । रूपन्देही प्रहरीका अनुसार पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ३६ वर्षिया जनार्दन गुप्ता, राजन यादव र बाबुलाल विश्वकर्मा रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलेको छैन ।

दुबईको उडानमार्फत आएका तीनै जनालाई सुनको सिक्रीसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना रूपन्देही प्रहरीको हिरासतमा रहेका छन् ।

एयरपोर्ट भन्सार कार्यालयकी अनुसन्धान अधिकृत पवित्रा घिमिरेले पक्राउ परेकाहरूलाई थुनामा राखेर अनुसन्धान सुरु गरिएको बताइन् । ‘तीनैजनालाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान सुरु गरेका छौं,’ उनले भनिन्, ‘अनुसन्धानमै रहेकाले थप विवरण छैन ।’

स्रोतका अनुसार चेकिङका क्रममा १ सय ५० ग्रामको सुनको सिक्रीसहित जनार्दन गुप्ता पक्राउ परेका थिए । उनीसँगै रहेका २ जना पनि संलग्न रहेको देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully