पाल्पा — सुन्तलाको पकेटक्षेत्र पाल्पाको रैनादेवी छहरा–५ मुझुङ्को कटौजेपानीमा शनिबारदेखि दोस्रो सुन्तला महोत्सव सुरु भएको छ ।
महोत्सवको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले उद्घाटन गर्दै सुन्तला उत्पादन हुने क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्दै युवाको विदेश पलायनलाई रोक्न सुन्तला खेती उपयुक्त हुने बताए । पाल्पासँगै छिमेकी गुल्मी र अर्घाखाँची, प्युठानका विभिन्न स्थानमा सुन्तला खेती हुने र यस क्षेत्रलाई करिडोरका रुपमा लैजानुपर्नेमा जोड दिए ।
महोत्सवमा सुन्तलाको उत्पादनमा विविधिकरणअन्तर्गत वाइन, घरेलु मदिरा, जुस, जाम, मिठाई, जेली लगायतका समानहरु निर्माण गरी प्रदर्शन तथा बिक्री गरिएको छ ।
कृषि ज्ञान केन्द्र, सुन्तला जात फलफूल विकास केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला जोन कार्यालयले सुन्तला रोप्ने क्षेत्रको माटो परीक्षण, रोग किरा नियन्त्रण, सुन्तला खेतीसम्बन्धी आवश्यक परामर्श तथा जानकारी दिइएको छ । तर किसानको आकर्षण भने महोत्सवमा देखिएन ।
एक हजार बढी किसानले सुन्तला खेती गर्ने र यस क्षेत्रबाट न्यूनमात्र किसानले माटो परीक्षणलगायत परामर्शका लागि आएका थिए । किसानलाई बिरुवा लगाउँदा, काँटछाँट गर्दा अपनाउनु पर्ने सावधानी, सुन्तला बगैंचाको हेरचाह तथा मलखाद प्रयोगसम्बन्धी कृषि प्राविधिकहरुले किसानलाई जानकारी गराएको महोत्सव आयोजक कमिटीका संयोजक दानबहादुर कुँवरले बताए ।
सुन्तला खेती गरेर गाउँघरमै वार्षिक लार्खौं कमाई हुने र बसाइँसराईसमेत रोक्न सकिने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताए । रैनादेवी छहरा गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० हजार सुन्तलाका बिरुवा अनुदानमा दिएको उनले बताए । रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले गतवर्ष गरेको सुन्तला महोत्सवका कारण मैनादी क्षेत्रमा २२ घरपरिवार बसाइँसराई रोकिएको बताए ।
रिब्दीकोट गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले सुन्तला खेती गरेर धेरैले नगद कमाई गर्न सफल भएको बताए । रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले किसानलाई उत्साह जगाउन महोत्सव सफल हुने विश्वास लिएको बताए ।
सुन्तला महोत्सवमा २५ वटा स्टल रहे पनि कतिपय स्टल खाली रहेको छ । मुझुङ र अमलावासका किसानले सुन्तला बिक्री गर्न ल्याए पनि मैनादी क्षेत्रबाट ल्याइएको थिएन । दुबै गाउँपालिकाको आयोजनामा मुझुङको कटौजेपानीमा सुन्तला महोत्सव आयोजना गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य बीरबहादुर रानाले सुन्तला किसानको समस्या बुझ्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा पालिकाले खेलेको भूमिका महत्वपूर्ण हुने बताए । लुम्बिनी प्रदेशसभा सदस्य रामजी घिमिरेले किसानको नगदेबाली सुन्तला भए पनि यसमा देखिएका समस्या समाधान गर्नमा सरोकारवाला निकायको ध्यान नपुगेको गुनासो आउन नहुने बताए ।
सुन्तला महोत्सवमा संविधानसभा सदस्य लिला सोमैले हार्थोकदेखि अर्घाखाँचीको पाणिनी गाउँपालिकासम्म सुन्तला पकेट, सुन्तला करिडोरको रुपमा विकास गर्नुपर्ने बताए । कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष सुमन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, रिब्दीकोट गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसी, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, लुम्बिनी प्रदेश मुख्यमन्त्री जनसम्पर्क सल्लाहकार रामबहादुर राउतलगायतले विदेशिएका युवालाई सुन्तला उद्यमी बनाएर गाउँमै बस्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए ।
महोत्सवका अवसरमा पुराना सुन्तला किसानहरु रैनादेवी छहरा, अमलबासका यमलाल कोइराला लगायतलाई सम्मान गरिएको थियो ।
