‘अस्पतालमा वर्षमा एक पटक माघ/फागुनतिर भ्याक्सिन आउने गर्छ, अहिले सकिएको छ’
भैरहवा — रूपन्देहीको मर्चवारी गाउँपालिका–४ का रामलखन केवटलाई बाटामा हिँडिरहेका बेला कुकुरले टोक्यो । रेबिजविरुद्धको खोप लगाउन उनी नजिकको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे । त्यहाँ खोप सकिएको जानकारी पाएपछि भैरहवास्थित भीम अस्पताल पुगे । भीम अस्पतालमा पनि रेबिजविरुद्धको खोप नपाएपछि उनी सीमावर्ती भारतको नौतनवा बजारमा पुगे । ‘रेबिजको भ्याक्सिन कतै नपाएपछि नौतनवा पुगेर लगाएँ,’ केवटले भने, ‘सरकारी अस्पतालमा खोप लगाउन नपाएर भारत पुग्ने धेरै जना थियौं ।’
जिल्ला अस्पतालका रूपमा रहेको भीम अस्पतालमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या धेरै छ । अस्पतालका अनुसार रेबिजविरुद्धको खोपका लागि दैनिक ५० जनाजति आउने गरेका छन् । उनीहरू अस्पतालमा खोप नपाएपछि निजी स्वास्थ्य संस्था वा सीमावर्ती भारतीय बजार धाउन बाध्य छन् ।
भीम अस्पतालका प्रशासन प्रमुख ईश्वरी ज्ञवालीले तीन सातादेखि अस्पतालमा ‘एन्टिरेबिज भ्याक्सिन’ सकिएको बताए । ‘वर्षमा एक पटक माघ/फागुनतिर भ्याक्सिन आउने गर्छ । सकिएकाले छैन भनेर फर्काउनुको विकल्प छैन,’ उनले भने, ‘माग गरिरहेका छौं, चाँडै आइपुग्ला ।’ सरकारले रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रलगायत ४० स्वास्थ्य संस्थामा सरकारका तर्फबाट रेबिजविरुद्धको खोप उपलब्ध गराइँदै आएको छ । बुटवलस्थित लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ती संस्थामा कोटा निर्धारण गरी खोप उपलब्ध गराउँछ । तर केन्द्रमै अभाव भएपछि स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकिएको हो । लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र खोप शाखाका हरि आचार्यले भने, ‘सबैतिरबाट खोपको माग आए पनि स्टक नहुँदा उपलब्ध गराउन सकिएको छैन ।’
मुलुकभरि आवश्यक पर्ने खोपको खरिद प्रक्रिया स्वास्थ्य मन्त्रालयको भएको उनले बताए । प्रदेशले रेबिजविरुद्धको खोप उपलब्ध गराउन गत भदौदेखि माग गर्दै आएको छ । आचार्यका अनुसार स्वास्थ्य मन्त्रालयको सरुवा रोग नियन्त्रण महाशाखाबाट गत वर्ष लुम्बिनी प्रदेशका लागि १ हजार १ सय ६० भायल मात्र ‘एन्टिरेबिज भ्याक्सिन’ उपलब्ध भएको थियो ।
अघिल्लो वर्षको मौज्दात रहेको १२ हजार १ सय २५ भायलसमेत गरी प्रदेशले कात्तिक दोस्रो सातासम्म केही मात्रामा उपलब्ध गराए पनि त्यसपछि वितरण गर्न सकेको छैन । ४० स्थानका लागि मासिक ५ हजार ७ सय ७० का दरले वार्षिक ६९ हजार २ सय ४० भायल आवश्यक पर्ने आचार्यले बताए ।
सरकारी स्वास्थ्य संस्थामा उपलब्ध हुन नसक्दा निजी स्वास्थ्य संस्थाबाट रेबिजविरुद्धको खोप महँगोमा लगाउनुपर्ने अवस्था छ । कुकुर वा रेबिज संक्रमण फैलाउन सक्ने जनावरले टोके तीन पटकसम्म लगाउनुपर्ने यो खोपका लागि निजीमा न्यूनतम २५ सय रुपैयाँ तिर्नुपर्छ । तर सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध हुने भनिएकाले अधिकांश निजी क्लिनिकले यो भ्याक्सिन राख्दैनन् । सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथस्थित सिजल फार्मेसीका सञ्चालक प्रमोद ज्ञवालीले कुकुरले टोकेको भन्दै रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या धेरै रहेको बताए ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले नयाँ खरिद गर्न नपाउँदै गत वर्ष किनेको खोप सकिएको बताए । यस वर्षका लागि खरिद गरिएको भ्याक्सिन आवश्यक नभएको धेरै व्यक्तिले पनि धेरै लगाएकाले चाँडो सकिएको उनको अनुमान छ ।
पछिल्लो समय कुकुरले टोकेका घटना बढिरहेका छन् । पशु चिकित्सकहरूका अनुसार छाउरा जन्मिने सिजनमा कुकुर झन् बढी आक्रामक हुने गर्छन् । कतिपयले रेबिज नभएको कुकुरसँग सामान्य संसर्ग भए पनि जोखिम नलिने भन्दै भ्याक्सिन लगाइहाल्ने गर्छन् । ‘जतिसक्दो चाँडो आवश्यक परिमाणमा भ्याक्सिन उपलब्ध गराउने प्रक्रियामा छौं,’ डा. घिमिरेले भने । एन्टिरेबिज भ्याक्सिन खरिदका लागि गत वर्ष १३ करोड रुपैयाँ विनियोजन गरिएकामा बढी खपत भएकाले यसपटक दोब्बर रकम छुट्याइएको उनले बताए ।
