नीलगाई मारेको आरोपमा दुई जना पक्राउ

मंसिर १८, २०८१

रुपा गहतराज

Two arrested for killing nilgai

नेपालगन्ज — बाँकेमा दुर्लभ वन्यजन्तु नीलगाई मारेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ । 

राप्तीसोनारी गाउँपालिका-६ का लालबहादुर थारु र सुरेशशमसेर राणालाई नीलगाईको मासुसहित नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । राप्ती सवडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत रामगणेश साहले राप्तीसोनारी-६ लक्ष्मीराजपुरका लालबहादुर थारुको घरबाट नीलगाई काटिएको अवस्थामा टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको बताए  ।

'आइतबार सुराक पाएको आधारमा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र वन रक्षकसहितको हाम्रो टोली उक्त स्थानमा राति १ बजेको समयमा पुग्यौं,' वन अधिकृत साहले भने, 'उक्त घरमा सुरेशशमसेर राणा भन्ने व्यक्तिलाई फेला पार्‍यौं, उहाँलाई राति नै नियन्त्रणमा लियौं ।'

सोमबार बिहान घर खानतलासी गर्दा ३९ किलोग्राम तौल बराबरको नीलगाईको टाउको, खुर, मासु, छाला र भुँडी बरामद गरिएको उनले बताए । घरधनी थारुलाई पनि नियन्त्रणमा लिइएको थियो । 

बरामद गरिएको मासुलगायतलाई स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन टोली, स्थानीयवासीको रोहबरमा खाडल खनेर गाडिएको छ । नियन्त्रणमा लिएका राणा र थारुलाई डिभिजन वन कार्यालयको थुनुवा कक्षमा राखेर प्रारम्भिक अनुसन्धान सुरु गरेको उनले बताए । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully