घोराही तुलसीपुर सडक अवरुद्ध

मंसिर १७, २०८१

दुर्गालाल केसी

Ghorahi Tulsipur road blocked

दाङ — सडक दुर्घटनाका मृतकका आफन्तले सोमबार घोराही–तुलसीपुर सडकखण्ड अवरूद्ध गरेका छन् । 

शुक्रबार तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी डाँडाँगाउँमा रा १ ख १३८२ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार तुलसीपुर-१७ दुधरासकी ३२ वर्षीया ईन्द्रा थापा रोकायको मृत्यु भएपछि आफन्तले सडक अवरूद्ध गरेका हुन् ।

दुर्घटनामा परी घाइते भएकी थापाको उपचारका क्रममा आइतबार नर्सिङहोम बाँकेमा ज्यान गएको थियो ।

चालकको लापरवाहीका कारण दुर्घटना भएको  र यातायात व्यवसायीको लापरबाहीका कारण घाइतेको मृत्यु भएको भन्दै आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् ।

दोषीलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै आन्दोलनमा उत्रिएको मृतकका श्रीमान् बहादुर रोकायले बताए । सडक अवरुद्ध भएपछि यातायातका साधन र यात्रु अलपत्र परेका छन् । दुवै पक्षसँग छलफल गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully