कपिलवस्तुमा कुष्ठरोगका बिरामी बढ्दै

सरकारको बेवास्ता हुँदा दाताको लगानी पनि प्रभावहीन

मंसिर १६, २०८१

मनोज पौडेल

Leprosy patients are increasing in Kapilvastu

कपिलवस्तु — महाराजगन्ज नगरपालिका–५, इट्रोलकी माया यादव दाहिने पाखुरामा ससाना दाग देखेर उपचार गराउन गइन् । उनलाई चिकित्सकले कुष्ठरोग भएको बताए । उनीजस्तै खडैनाका रामसुमिरन केवटका पनि शरीरमा रातो फुस्रो दाग देखियो । उनी पनि उपचारका लागि जाँदा कुष्ठरोगको संक्रमण देखियो ।

गत असारमा यहाँको उदयपुरमा छाला रोग उपचार शिविर संचालन गर्दा १० जना कुष्ठरोगका बिरामी पहिचान भए । त्यसपछि वडा नं. ५ का ७ गाउँमा ३ दिने खोजपडताल अभियान चलाइयो । थप ५ जना कुष्ठरोगका बिरामी भेटिए । कन्ट्र्याक्ट ट्रेसिङ गरियो । थप ३ जना बिरामी भेटिए । बिस्तारै शंकास्पद बिरामी स्वास्थ्य चौकीमा आफैं आउन थाले । दुई सातामा ३१ जना कुष्ठरोगका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मोहम्मद इर्फानले बताए । ‘हामी आफैं अचम्ममा पर्‍यौं,’ उनले भने, ‘एउटै वडामा यति धेरै कुष्ठरोगका बिरामी मुलुकभरि कहीं छैनन् ।’ 

संघीयता आएपछि कुष्ठरोग निवारण कार्यक्रममा सरकारले ध्यान नदिँदा अहिले बिरामी बढ्दै गएका हुन् । २०६६ माघ ५ गते नेपाल सरकारले कुष्ठरोग जनस्वास्थ्य समस्या नरहेको भन्दै निवारण भएको घोषणा गरेको थियो । अहिले कपिलवस्तु कुष्ठरोगका सबैभन्दा धेरै बिरामी भएको जिल्ला बन्न पुगेको छ । 

४ वर्षदेखि यहाँ बिरामी बढ्दै गएका हुन् । प्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम बिरामी हुनु पर्नेमा यहाँ गत आव ०८०/८१ मा दुई दशमलव ७ प्रतिशत पाइएका छन् । ०७९/८० मा दुई दशमलव ४ प्रतिशत, ०७८/७९ मा एक दशमलव ७ प्रतिशत र ०७७/७८ मा एक दशमलव २ प्रतिशत बिरामी पाइएका छन् । 

जिल्लामा ०८०/८१ मा १ सय ८८ जना, ०७९/८० मा १ सय ६७ जना र ०७८/७९ मा १ सय २२ जना नयाँ बिरामी फेला परेका थिए । लुम्बिनी प्रदेशका १२ जिल्लामा ०८०/८१ मा २ हजार ७ सय ६ नयाँ बिरामी फेला परेका थिए । प्रदेशमा प्रति १० हजारमा एक प्रतिशतभन्दा कम बिरामी छन् । प्रदेशमा पनि यहीं सबैभन्दा बढी बिरामी छन् । कपिलवस्तुका १०/१२ जना कुष्ठरोगी लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबाट औषधी लिएर सेवन गर्छन् । उनीहरूको संख्या जोड्यो भने त बिरामीको संख्या अझ बढ्छ । 

‘नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको केही वर्षसम्म अवस्था नियन्त्रणमै थियो,’ अधिकृत मोहम्मद इर्फानले भने, ‘बढ्दै गएर अहिले नेपालकै सबैभन्दा धेरै बिरामी पाइयो ।’ चेतना र अशिक्षाले कुष्ठरोगीले रोग लुकाएर बसेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीले बताए । ‘लाटो फुस्रो दागलाई सामान्य भन्दै निजी क्लिनिकमा देखाउने गरेका छन्,’ उनले भने, ‘जसले गर्दा समस्या झन् जेलिएको फाइयो ।’ रोगका बारेमा हेलचेत्र्याइ गर्नु र सरकारी स्वास्थ्य संस्थाको पहुँचमा नआउँदा रोगी लुकेर बसेको देखिएको उनले बताए । 

‘समाजमा हेयभाव, धार्मिक कुरीति र अन्धविश्वासले जरो गाडेको छ,’ उदयपुर स्वास्थ्य चौकीका सिनियर अहेब प्र्रभा पौडेलले भनिन्, ‘त्यसै कारण कुष्ठरोग लागेका बिरामी लुकेर बसेका थिए ।’ लुकेर बसेका बिरामीले उपचार नगराए ३/४ वर्षमा आफ्ना परिवार र छिमेकीलाई सार्नर् ेभएकाले सचेतना जरुरी रहेको उनले सुनाइन् । 

जिल्लामा सबैभन्दा बढी प्रति १० हजारमा ७ दशमलव ५९ प्रतिशत बिरामी महाराजगन्ज नगरपालिकामा छन् । यहाँका सबै स्थानीय तहमा प्रति १० हजारमा एक प्रतिशतभन्दा बढी कुष्ठरोगका बिरामी छन् ।

समाजले आफ्नो रोगबारे थाहा पाउँछ भनेर पनि कतिपय खुल्न चाहँदैनन् । गरिब, विपन्नता कारण उपचार गराउन नजाने प्रवृत्ति यहाँ बढ्दो छ । त्यसैले बिरामी बढ्दै गएका हुन् । कुष्ठरोगले तत्कालै ठूलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रवृत्ति छ । लामो समय अस्पताल नजाँदा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था पनि आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

स्वास्थ्य संस्था स्थानीय तहमा गएपछि बिरामीको खोज पडताल शून्य छ । प्रशिक्षित जनशक्ति आ–आफनो घरपायकका प्रदेशका आफ्ना ठाउँमा जाँदा बिरामी खोजबिन प्रभावकारी हुन नसकेको बताइएको छ । 

विश्व स्वास्थ्य संगठन लगायतका संस्थाले कुष्ठरोगका सहयोग पनि बन्द गरेका छन् । मन्त्रालयले कुष्ठरोग महाशाखा पनि खारेज गरेको छ । तर, समस्या बढ्दै र जेलिंदै गएको छ । मुलुकलाई सन् २०२० सम्म कुष्ठरोगमुक्त गर्ने अभियान काजगमा मात्र सीमित भयो । अब फेरि २०३० भित्र गर्ने नयाँ लक्ष्य बनाइएको छ । १० वर्षे रणनीति बनाएर काम गर्ने भने पनि सरकारले कुष्ठरोगलाई प्राथमिकतामा नराख्दा बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लामा कुष्ठरोगका लागि फेयरमेट र द लेप्रोसी मिसनले काम गरिरहेका छन् । तर, यी दातृ संस्थाको काम प्रभावकारी नहुँदा समस्या बढ्दो छ ।

‘महिला घरायसी काममा लाग्नु पर्ने बाध्यता छ,’ सिंहोखोर स्वास्थ्य चौकीका सिनियर अहेब केशव घिमिरेले भने, ‘थला नपरुन्जेल उपचारका लागि नआउने प्रवृत्तिले समस्या बढ्दो छ ।’ सर्ने खालको कुष्ठरोगले छालामा असर गरे पनि तत्काल शरीरमा प्रभाव नपार्दासम्म बिरामी हेलचेक्र्याइँ गर्छन् । हिँडडुल गर्न, कामकाज गर्न समस्या नहुँदासम्म बिरामी स्वास्थ्यप्रति ध्यान नदिँदा समस्या थपिँदै गएको उनले बताए । 

कुष्ठरोगका किटाणुले बिस्तारै असर गर्दै छाला बाक्लो हुने र गिर्खाहरू देखा परेर स्नायुमा असर गर्छ । हातगोडा छुँदा यस्तो रोग थाहा नपाउने र मांसपेशी कमजोर बनाउँदै लैजान्छ । त्यसपछि शारीरिक रूपमै कुरूप र कामकाज गर्न समस्या भएपछि मात्रै बिरामी स्वास्थ्य संस्थाको सम्पर्कमा आउने हुँदा संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत इर्फानले बताए । ‘रोग लागेको २ देखि ५ वर्षभित्र लक्षण देखा पर्छ,’ उनले भने, ‘त्यसपछि नराम्ररी प्रभावित बनाउँछ ।’ 

भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । पहाडी क्षेत्रबाट बसाइँसराइ गरेर आउने बिरामी र भारतीय बजारमा रोजगारी गरेर फर्कने बिरामीका कारण रोगीको संख्या बढ्दै गएको उनीहरू बताउँछन् । पछिल्लो पटक कुष्ठरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्तिलाई रोग लाग्नबाट रोकथाम गर्न कुष्ठरोग रोकथाम कार्यक्रम (एलपेप) चलाइएको छ । कार्यक्रमअन्तर्गत नयाँ बिरामी भेटिएका घरका आसपास ८ घरका परिवारमा पनि रोगको जाँच–पडताल गरिन्छ । यो कार्यक्रम प्रभावकारी रहे पनि बजेट अभावमा निरन्तरता दिन गाह्रो भइरहेको छ ।

माइक्रो ब्याक्टेरियम लेप्रीबाट सर्ने उक्त रोग निको पार्न अवस्था हेरी ६ महिनादेखि १ वर्षसम्म नियमित औषधी सेवन गर्नुपर्छ । जिल्लामा कुष्ठरोगका ६१ प्रतिशत बिरामी एक वर्ष औषधी सेवन गर्ने खालका छन् । बिरामीमध्ये ४ दशमलव २७ प्रतिशत अपांगता भएका छन् । गम्भीर खालका बिरामीलाई एमबी र सामान्य खालका रोगीलाई पीबी औषधी दिइने गरिएको छ । नचिलाउने र लाटोफुस्रो दाग देखा पर्छ । बिस्तारै शरीरका सेल मार्दै जाने, अंगभंग हुने र बिरामी अपांग हुनेसम्मको अवस्था आउँछ । समयमै रोग लागेको पत्ता लगाई उपचार गरेमा शरीर अंगभंग हुँदैन । 

कुष्ठरोग दीर्घ संक्रामक रोग हो । लामो समयसम्म आफनो सान्निध्यमा रहेका व्यक्तिको श्वासप्रश्वासको माध्यमबाट यो अन्य मानिसमा सर्ने कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए । ‘तर, छुँदैमा, हात मिलाउँदैमा भने यो रोग सर्दैन,’ उनले भने, ‘करिब ८० प्रतिशतमा यो रोग आफैं ठिक हुन्छ भने रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका करिब २० प्रतिशत मानिसलाई उपचार आवश्यक पर्छ ।’ 

उनका अनुसार कुष्ठरोगको लक्षण अनुहारमा, ढाडमा, बस्ने ठाउँमा, हात–खुट्टामा सेतो वा रातो रंग भएको लाटोफुस्रो दाग देखिने, दागमा रौं नउम्रिने, पसिना नआउने र अनुहार तथा हात खुट्टामा गिर्खा आउने लगायत हुन्छ । ‘हात–खुट्टाका नसा कमजोर हुने, तातो चिसो थाहा नपाउने, हात–खुट्टा पोलिरहने, झमझम गरिरहने, हिँड्दा चप्पल फुस्किरहने आदि पनि कुष्ठरोगका लक्षण हुन सक्छन्,’ कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. चौधरीले भने ।

मनोज

Link copied successfully