बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका-४ को वडा अध्यक्ष पदका लागि आइतबार भएको चुनावमा ६३ दशमलव ८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको मतदानको अवधिमा २ हजार २ सय ३९ अर्थात् ६३ दशमलव ८ मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले मतदान शान्तिपूर्णरुपमा सकिएको बताए । कुल ३ हजार ५ सय मतदाता रहेको यस वडामा महिला मतदाता १ हजार ८ सय ३९ रहेका छन् । पुरुष मतदाता १ हजार ६ सय ५१ मतदाता रहेका छन् । २ मतदान केन्द्र र ५ मतदान स्थल रहेका छन् ।
कृषि भवनको मतदान केन्द्रमा ७ सय ४२ र बर्गदास्थित विद्यालयमा १ हजार ४ सय ९७ मतदान भएको छ । शान्तिपूर्ण र भयरहित मतदानका लागि सुरक्षाका सबै अंग परिचालित भएका थिए । सर्वदलीय बैठक बसेर मतगणना राति ८ बजेदेखि सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जनाए ।
एक अध्यक्षका लागि ६ उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट अमिन थारु, एमालेका विष्णुप्रसाद देवकोटा, माओवादी केन्द्रका शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राप्रपाका रत्नबहादुर शाही र नागरिक उन्मुक्ति पार्टीका प्रितीलाल थारु उम्मेदवार छन् ।
२०७९ मा यस वडाबाट कांग्रेसका सूर्यबहादुर विष्ट निर्वाचित भएका थिए । उनले वडा अध्यक्ष पदबाट राजीनामा दिएर जिल्ला समन्वय समितिका प्रमुख भएका छन् ।
