पाल्पा — पुस्तान्तरण नहुँदा पछिल्ला वर्ष पाल्पामा सराय नाच लोप हुँदै गएको छ । दसैंमा टीका लगाएपछि एकादशीदेखि पूर्णिमासम्म सराय नाच्ने चलन छ । तर पछिल्ला वर्षमा भने यसको पुस्तान्तरण नहुँदा बिस्तारै हराउँदै गएको हो ।
मन्दिरमा भएका हतियारको संरक्षण नहुनु, युवा पुस्ताले चासो नदिनु, स्थानीयमा यस्ता संस्कृतिलाई महत्त्व नदिएपछि लोप हुँदै गएको हो । पाल्पाको पूर्वभेगमा अष्टमी, पश्चिममा एकादशीदेखि पूर्णिमासम्म सराय नाच्ने पुरानो चलन हो । तर २० वर्षयता सराय नाच बिस्तारै कमी हुँदै गएको रिब्दीकोट गाउँपालिका पालुङमैनादीका रमेश खत्रीले बताए ।
कतिपय स्थानमा पछिल्ला वर्षमा देख्न नपाइने अवस्था आएको छ । पाल्पाको तानसेनस्थित बन्दीपोखराको लिपिन्देवी, रैनादेवी छहराको मुझुङ कालिका मन्दिर बाहेक अन्यत्र तरबार, खुँडा लगायत हतियार प्रदर्शन गरेको देख्न पाइन छाडेको छ । ख्याहा, बतासे, बौघागुम्हामा निकालिए पनि खासै यसमा चासो देखिएको छैन । परम्परागत संस्कृति धान्नका लागि एक–दुई स्थानमा मात्र सराय निकाल्ने गरिएको जानकारहरू बताउँछन् ।
मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरबार, खुँडा, खड्ग हतियार एकआपसमा ठोक्काउँदै पञ्चेबाजाको तालमा वाख्खै हृवा भन्दै सराय खेलिने गरिन्छ । ‘पछिल्लो समयमा त्यस्ता हतियार नै देखिन छाडेको छ,’ तानसेन नगरपालिका १३ बौघागुम्हाका चित्रवीर थापाले भने, ‘पहिला धेरै रमाइलो हुन्थ्यो । अहिले बिस्तारै लोप हुँदै गएको छ ।’
पाल्पाका ३० बढी स्थानमा नाचिने सराय पछिल्ला वर्षमा एक–दुई स्थानमा मात्रै देखिने गरेको छ । जिल्लाका अर्गली, बौघागुम्हा, लिपिन्देवी, मस्याम, बतासे, ख्याहा, छहरा लगायतका स्थानमा पूर्णिमामा सराय खेल्ने, नाचगान गर्ने र मेला लगाउने गरिन्थ्यो ।
सप्तमीदेखि सुरु भएको सराय कोजाग्रत पूर्णिमासम्म खेलिने ऐतिहासिक दशैंघरका पुजाराी हरिकृष्ण गौतमले बताए । देवीका मन्दिरमा नाच्ने, तरबार ठोक्काउने, पञ्चेबाजा बजाउने, वाख्वाई हृवा भन्दै रमाइलो गर्न भीड लाग्ने उनले सम्झिए । ‘पहिला जस्तो छैन,’ उनले भने, ‘अहिले धेरै ठाउँमा हराइसकेको छ ।’
कोटघर र शक्तिपीठहरूमा सराय नाच्ने परम्परा हो । सराय नाच फरक स्थानमा फरक दिनमा नाच्ने चलन थियो । पाल्पाको केही भागमा दसैंको अष्टमीको राती (कालरात्रि)देखि नै नाच्ने चलन रहेको रामपुर नगरपालिका–९ का वडाध्यक्ष डिलबहादुर रानाले बताए । कतिपय स्थानमा दसैंको राती र एकादशीपछि पनि नाचिन्छ । रैनादेवी छहरामा पूर्णिमाको चार दिनपछि ‘दमिनी सराय’ निकाल्ने चलन रहेको रैनादेवी छहरा–४ का वडाध्यक्ष विष्णु पोखरेलले बताए ।
यसलाई एक प्रकारको खेलका रूपमा समेत लिइन्छ । पञ्चेबाजा बजाएर मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाएर एकापसमा जोडिएर सराय नाच्ने र खेल्ने गरिन्छ । पहाडको अग्लो भाग चुचुरोमा रहेका कोटघरको आँगनमै पनि यो नाच्ने चलन रहेको बन्दीपोखराका लिपिन्देवी मन्दिरका अध्यक्ष शेरबहादुर खातीले बताए । ऐतिहासिक हातहतियारको भण्डार पनि कोतघरमा हुने हुँदा कोट नजिकै सरायमा उत्सवको नाच खेलिने सांस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको हो ।
सरायले ऐतिहासिक संस्कति जोगाउने काम गरेको थियो । परम्परादेखि नै गाउँको देवी मन्दिरमा भएका सयौं खुँडाहरूलाई धारिलो बनाई प्रत्येक वर्ष विशेषगरी कोजाग्रत पूर्णिमामा निकालेर ठोक्काउने चलन छ । जानकारहरूका अनुसार भुरे–टाकुरे राजाहरूको युद्धमात्र होइन, दैत्यमाथि देवीको विजयको उत्सवको रूपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरिने चलन हो । सराय नाचको प्रचलन बाइसे–चौबिसे राज्यकाल (१५ औं शताब्दी) बाट सुरुवात भएको हो ।
