युवापुस्तामा हराउँदै, बसाईसराईसँगै तराईमा पनि झर्दै पहाडको सराय नाच
बुटवल — लुम्बिनी प्रदेशका पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र पाल्पाका विभिन्न कोतघर र देवीका शक्तिपीठहरुमा हतियार जुधाएर नाच्ने सराय नाच सुरु भएको छ ।
यस क्षेत्रका ऐतिहासिक कोतघर, दुर्गा र कालिका मन्दिरहरूमा दसैंसँगै सराय नाचको विशेष महत्त्व छ ।
यी जिल्लामा दसैंको टीकाको भोलीपल्टदेखि पूर्णिमासम्म सराय नाचिन्छ । खुँडा, भाला, तरबार, ढाललगायत घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिने गरी सराय नाचिन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र मन्दिरहरूमा हतियार प्रदर्शनसहित सराय नाच्न थालिएको जनविश्वास छ ।
सराय नाचको छुट्टै महत्त्व र विजय उत्सवको इतिहास रहेको गुल्मीको चन्द्रकोट मन्दिर व्यवस्थापन समिति अध्यक्ष यमबहादुर थापाले बताए ।
चन्द्रकोट मन्दिरमा बाईसे र चौबीसे राजा बस्ने समयदेखि दसैंको कोजाग्रत पूर्णिमाका दिन सराय नाच्दै दसैंलाई बिदा गर्ने परम्परा छ ।
‘पहिलाका राजाहरूले युद्ध मन पराउने भएकाले त्यसको अभिनय गरी दसैं बिदाइका बेला राजालाई देखाउने गरी नाच सुरु भएको किम्बदन्ती छ,’ उनले भने, ‘त्यसैले यसमा पनि पहिले लडाइा वा युद्धमा प्रयोग हुने घरेलु हतियारको प्रयोग गरिन्छ ।’ सराय हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुन्छ ।
जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, पुर्कोट, चन्द्रकोट, मानकोट, छत्रकोट, अर्जैकोटलगायत स्थानको नामकरणसँगै सराय नाचको महत्त्व जोडिएको छ । ठाउँ अनुसार सराय फरक तरिकाले नाच्ने गरिन्छ ।
तम्घासका मठ, मन्दिरहरूमा पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ भने कोतहरूमा हतियार जुधाएर, पशु बलि दिएपछि टाउको हातमा लिएर ‘वाख्यै हा’ गर्दै नाच्दै घटस्थापनाको दिन घरघरमा राखेको जमरा र दसैंको टिका खोला र पोखरीमा बगाएर बिर्सजन गरिन्छ । ‘अहिलेका युवामा सरायको भाखा र शब्दको ज्ञानै छैन,’ इस्मारजस्थलका ७१ वर्षीय नुरदेव पैंयानीले भने, ‘बुढापाकाले सक्दैनन्, युवाले गर्दैनन्, अब सरायको इतिहास हराउँदै जान थालेको छ ।’ कतिपय कोतमा भजनकीर्तन गर्दै सराय नाच्ने चलन छ ।
गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँचीका पूर्वी क्षेत्रका कोतहरू, अर्घा र भण्डारथुममा हुने सराय नाच यस क्षेत्रकै प्रख्यात सराय नाच हो । पूर्णिमाको दिन अर्घा र भण्डारथुममा सराय नाच्नेको ठुलो मेला नै लाग्ने गर्छन् ।
त्यस्तै अहिले गुल्मी, अर्घाखाँची लगायतका जिल्लाबाट बसाई सर्नेहरुले बुटवलमा पनि दसैंको टिका लगत्तै सराय नाच्ने गर्दछन् । बुटवलमा क्षेत्री समाजले हरेक वर्ष सराय नाच नाच्ने गर्दै आएको छ । त्यस्तै सराय नाचको महत्व बुझाउन र त्यसको ऐतिहासिकता जोगाउन बुटवलमा पौवा होटलले पनि हरेक वर्ष सराय नाच गर्ने गरेको छ ।
पहिले पहाडी जिल्लामा मनाइने यो नाच अहिले तराईका जिल्लाहरुमा पनि सुरु भएको संस्कृती संरक्षण अभियान्ता विष्णुप्रसाद भण्डारीले बताए । ‘पहाडी जिल्लाहरुमा इतिहास बोकेको सराय नाच अहिले बसाईसराईसँगै तराईमा पनि झरेको छ,’ उनले भने, ‘अहिले पहाडकै शैलीमा सबै विधि पुरा गरेर तराईमा पनि सराय नाच्न सुरु गरिएको छ ।’
सराय नाच र यसको महत्त्व
पृथ्वीनारायण शाहको पालामा पाल्पा, गुल्मी, अर्घाखाँची र प्युठानमा भुरेटाकुरे राजाहरू थिए । ती जिल्लालाई ऐतिहासिक र सांस्कृतिक राज्यको रूपमा लिने गरिन्थ्यो । त्यतिबेला पनि राजाहरूलाई शक्तिपीठ, कोट र मन्दिरमा विजयादशमीका वेला सराय नाच देखाउने चलन थियो ।
दैत्य र दानवहरूमाथि देवी–देवताले विजय हासिल गरेपछि त्यही खुसीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान सुरु भएको किंवदन्ती छ । सप्तमीको दिन फूलपाती भित्र्याएपछि मन्दिर वा कोटमा आलम (भगवानको प्रतिमा) निकाल्ने गरिन्छ । विभिन्न रंगीचंगीसहितका ध्वजापतकाले सिंगारिएको आलमलाई भगवानको प्रतीकको रूपमा मन्दिरबाहिर सजाएर राखेपछि दैनिक पूजापाठ हुन्छ ।
खासगरी बहुमूल्य मूर्तिहरू, हातहतियारको सुरक्षाका लागि पनि यो संस्कार सुरु भएको हुन सक्छ । सराय नाच विशेष गरी दसैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाच पनि हो ।
यो गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, प्यूठान, दाङ जस्ता विभिन्न कोट र शक्तिपिठहरूमा नाचिन्छ । यो नाच एकादशीदेखि पूर्णिमासम्म नाचिन्छ । पहाडको बस्तीमा यो नाच बढी नाचिन्छ । पञ्चेबाजासहित मन्दिरमा चढाएका खुकुरी तरबार र खुाडा नचाई एकापसमा जोडिएर सराय नाच खेलिने गरिन्छ ।
कहाँ कहाँ नाचिन्छ सराय नाच
अर्घाखाँचीको र ढुङगेचौरकोटमा त्रयोदशीका दिन, उलुक छत्र र अर्घातोस कोटमा दसैंका दिन, बाइगाउँ र काम्लेचौरकोटमा द्वादशीका दिन, गुल्मीको उनायाचौरकोटमा चतुर्दशीका दिनमा, भण्डारथुम, धुर्कोट, चन्द्रकोट, इश्माकोट, मुसिकोट, अर्जै, अमरपुर, नयाँगाउँ, धागिथुम र जोगीथुमकोटमा पूर्णिमाको दिनमा सराय नाचिन्छ । त्यस्तै प्युठान बिजुवारको डल्लेमा भने तिहारपछिको पञ्चमीका दिनमा सराय नाच्ने परम्परा छ ।
प्यूठानको बिजुलीकोट, ओखरकोट, भित्रीकोटलगायतका क्षेत्रमा र विजुवारमा डल्ले सराय तिहारसम्म खेलिन्छ । पाल्पामा मुझुङ्गकोट, ख्याहा, गोखुंगा रैनादेवी, कुसुमखोला, बल्डेङ्गगढी क्षेत्र, रम्भादेवी, माथागढीमा खेलिन्छ । बाग्लुङ्ग र पर्वत, स्याङ्गजामा अहिले हराउँदै गएको यस क्षेत्रका संस्कृतबिद राजेन्द्रप्रसाद आचार्यले बताए ।
