लुम्बिनीमा भिक्षाटन गर्दै वर्षावासमा थाई भिक्षुहरू

आश्विन १, २०८१

मनोज पौडेल

Thai monks in a rain forest doing alms in Lumbini

लुम्बिनी — थाई भिक्षु दन्तचित्त हरेक दिन बिहान ७ बजेपछि लुम्बिनी आसपासका गाउँमा भिक्षापात्र लिएर पुग्छन् । थाइल्याण्डको खोराट प्रान्तबाट आएका उनी स्थानीयसँग मागेर ल्याएको अन्नपात–तरकारी पकाएर खान्छन् । उनीसँगै आएका १० जना भिक्षु पनि गाउँगाउँ हिँड्दै मागेरै भान्सा चलाइरहेका छन् । दिउँसो १२ नबज्दै भोजन गर्ने उनीहरू त्यसपछि धम्मदेशना गर्न हिँड्छन् ।

 उनीहरूले पैसा नभएर मागेको भने होइन । अहिले लुम्बिनीमा थाइल्याण्डका विभिन्न ५ प्रान्तबाट १७ जना भिक्षु ३ महिने वर्षावास बसेका छन् । बौद्ध धर्मावलम्बीको दोस्रो महत्त्वपूर्ण पर्व असार पूर्णिमाका दिनदेखि सुरु भएको थियो । बुद्धस्थल लुम्बिनी, कपिलवस्तु र नवलपरासीमा भिक्षु र उपसम्पदाहरू वर्षावास बसेका छन् । 

बुद्ध धर्ममा असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षावास भनिन्छ । बौद्ध धर्मको मेरुदण्ड उपषोत विनय कर्मपालन गर्दा नजानेर भएका त्रुटि कमजोरीबाट पाप नलागी क्षमादान पाउने हुँदा भिक्षु–भिक्षुणी र उपसम्पदा वर्षावास बस्ने चलन छ । वर्षाबास बस्ने भिक्षुले पुण्य संचय हुने जनविश्वास छ । वर्षाबासका बेला साँझ बिहान ध्यानभावना बस्ने र परित्रान पाठ गर्ने गरिन्छ । स्थानीयलाई ज्ञान बाँड्दै बुद्ध गुन, धर्म गुन, संग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ ।Thai monks in a rain forest doing alms in Lumbini

वर्षावासका बेला बिहान एक छाक खाना खाने गर्छन् । सकेसम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्छन् । ‘बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षावास बस्न आएको छु,’ थाइल्याण्डका च्याङमाईबाट आएका भिक्षु फ्रामहा क्रिडिटिन तारापोनले भने, ‘राम्रो ध्यानलाभ भएको छ ।’ जीवनकै महत्त्वपूर्ण पुण्यसंचय गर्ने अवसर पाएको उनले बताए । ‘यहाँबाट सद्भाव, करुणा र भ्रातृत्व संचय गरी थाइल्याण्ड लगेर बाँड्छु,’ उनले भने । 

लुम्बिनीको राजकीय थाई विहारमा ७ भिक्षु र शाक्यमुनि विहारमा १० जना, म्यानमारको गोल्डेन टेम्पलमा २ जना भिक्षु वर्षावास बसेका छन् । त्यस्तै श्रीलंका विहारमा एक र महाबोधी सोसाइटीमा दुई भिक्षु वर्षावास बसेका छन् । नवमैत्री महाविहारमा ३, आईबीएसमा ३ जना बसेका छन् । कपिलवस्तुको तिलौराकोटमा ४, निग्रोधाराममा ४ र नवलपरासीको रामग्राममा ४ थाई भिक्षु वर्षावास बसेका छन् । तीनै ठाउँमा थाई, म्यान्मार, श्रीलंका र नेपालका गरी ४० भिक्षु वर्षावास बसेका छन् । Thai monks in a rain forest doing alms in Lumbini

भगवान् बुद्धले प्रतिपादन गरेका विनय पिटकअन्तर्गत पर्ने महाभग्गपालीको १० भागमध्ये ३ र ४ भागमा वर्षावासको नियम र कठिन चिबर दानको नियम उल्लेख रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्री बजिरले बताए । बौद्ध परिव्राजक भिक्षु कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ । ‘वर्षावास विशेष परिस्थितिमा बनेको नियम हो,’ उनले भने, ‘त्यसकारण यसलाई विशेष मानिन्छ ।’

भगवान् बुद्धका धेरै चेला र अनुयायीहरू बाह्रै मास हिँड्दा वर्षाका बेला बाटो, खेतबारीमा निस्कने किरा फट्यांग्रा मर्ने, बालीनालीलाई क्षति पुगेको कुरा बाहिर आएपछि ३ महिने वर्षावासको नियम बनाइएको उनले बताए । वर्षावास बसेका भिक्षुले स्थानीयलाई ज्ञान बाँड्ने, ध्यान भावना सिकाउने र दानपुण्यको महत्त्व बताउने हुँदा वर्षावास समुदायसँग पनि जोडिएको उनले बताए । वर्षावासमा भिक्षुहरू तीन महिना एकै विहार, मन्दिरमा बसेर अध्ययन एवं चिन्तन मनन गर्छन् । विशेष परिस्थितिले कुनै काम परे एक साता बढी बाहिर जान पाइँदैन । जानैपरे वर्षावास छोडेको मानिने उनले बताए । Thai monks in a rain forest doing alms in Lumbini

कतिपय भिक्षु उपसंपदाहरू उपासक–उपासिकाको आग्रहमा पनि वर्षावास बस्छन् । त्यसका लागि निम्तो दिन्छन् । यो बेला भिक्षु भिक्षुणीलाई आवश्यक चिवर (पहेंलो वस्त्र), खाने कुरा, ओढ्ने ओछ्याउने वस्त्र र औषधिमूलोका सबै खर्च उपासक–उपासिकाले दान गरेर दिने प्रचलन छ । यसलाई चर्तुप्रत्य भनिन्छ । चर्तुप्रत्य पूजा गरेर सहयोग स्विकारिन्छ । ३ महिनापछि फेरि वर्षावासका लागि निम्तो दिने उपासक–उपासिका आएर भिक्षुलाई चिवर दान गर्छन् । पूजाआजा गर्छन् । पुण्य संचय गर्छन् । भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक–उपासिकाले खुसीले कठिन चिबर उत्सव मान्ने परम्परा छ । Thai monks in a rain forest doing alms in Lumbini

त्यहाँ प्राप्त चिबर नियमसँग वर्षावास बस्ने भिक्षुलाई दान गरिन्छ । असोजदेखि कात्तिक पूर्णिमासम्मको वर्षावासलाई कठिन चिबरोत्सव भनिन्छ । त्यसपछि वर्षावास पूरा हुन्छ । ‘लुम्बिनीमा वर्षावास बस्न आउनका लागि थाई भिक्षु मरिहत्ते गर्छन्,’ लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विड्सले भने, ‘यस वर्ष १७ जना आएका छन् ।’ बुद्ध धर्ममा थेरवादी सम्प्रदायका अनुयायी मात्रै वर्षावास बस्छन् ।

मनोज

Link copied successfully