पक्की पुल बनेको ६ वर्षसम्म पहुँचमार्ग नबन्दा यात्रुलाई सास्ती

भाद्र ३०, २०८१

माधव अर्याल

After 6 years of the construction of the concrete bridge, passengers suffer because the access road is not built

पाल्पा — पर्यटकीय स्थल रानीमहल नजिकै पाल्पा र स्याङ्जा जोड्न निर्माण भएको पक्की पुलको पहुँच मार्ग बन्न नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ । हरेक वर्ष तीनदेखि चार महिना सवारी साधन संचालन हुन सक्दैन ।

हिउँदयाममा कालीगण्डकी नदीको छेउबाटै ट्र्याक खोलेर सवारी साधन सञ्चालन हुन्छ । कलीगण्डकी नदीको बहाव बढेसँगै सवारी साधन संचालन ठप्प हुने स्याङ्जा कालीगण्डकी गाउँपालिका सटुकाका सुरेश पाण्डेयले बताए । ‘व्यवस्थित पक्की पुल बनेपछि पहुँचमार्ग बन्नुपर्ने हो,’ उनले भने, ‘पुल बनेको यतिका वर्ष बितिसक्दा पनि पहुँचमार्ग बनाइएको छैन ।’ 

यो पक्की पुलको पहुँचमार्ग कालीगण्डकी करिडोर सडक हो । यो पुलको पहुँचमार्गदेखि रानीमहल–तानसेन सडक छोटो दूरी पर्छ । १२ किलोमिटरको यात्रामा यहाँबाट तानसेन जान सकिने भए पनि पक्की पुलसम्म पुग्ने सडक मार्ग बन्न सकेको छैन । ‘अचम्म के छ भने पक्की पुल बन्यो, हिउँदमा सवारी साधन चल्छन्,’ उनले भने, ‘कालीगण्डकी नदीको बहाव बढ्ने बित्तिकै मोटरसाइकलसमेत चल्न सक्दैनन् ।’After 6 years of the construction of the concrete bridge, passengers suffer because the access road is not builtनदीको बहाव बढेसँग डुबेको रानीमहल परिसर । तस्बिरहरू : माधव अर्याल/कान्तिपुर 

नदीमा पक्की पुल भएर पनि यातायातको साधन संचालन गर्न नसक्दा बिरामी, ज्येष्ठ नागरिक लगायतले समस्या बेहोर्नु परेको स्याङ्जा, सटुकाका दीपक पाण्डेयले बताए । ‘पक्की पुलसम्म पहुँचमार्ग कहिले बन्ने हो, थाहा छैन,’ उनले भने, ‘८ महिनाजति कालीगण्डकी नदीबाटै यात्रा गरिन्छ । वर्षा लागेपछि उही सास्ती पर्छ ।’ 

तानसेनदेखि रानीमहलसम्म कालोपत्र सडक छ । यही सडक भएर स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मीका बासिन्दाले यात्रा गर्छन् । छोटो दूरीमा तानसेन र बुटवल जान यो सडक प्रयोग हुने गरेको उनले बताए । पानी पर्नासाथ बराङदीखोला र कालीगण्डकी नदीको बहाव बढेपछि सवारी साधन ठप्प पारेर पैदल यात्रा गर्नुपर्ने उनले बताए । मिर्मी, जिरो, राम्दी भएर तानसेन जान चार गुणा बढी समय लाग्छ । ‘तीन–चार किलोमिटर पैदल हिँडेपछि रानीमहलसम्म सवारी साधन लिन बोलाउँदा फाइदा हुन्छ,’ उनले भने, ‘यसका लागि सम्बन्धित निकायको चासो देखिएन ।’

यस भेगका बासिन्दालाई बिरामी पर्दा अस्पताल पुर्‍याउनसमेत वर्षायाममा समस्या रहेको उनले बताए । कालीगण्डकी गाउँपालिका स्याङ्जा र गुल्मीका साथै पर्वत, बाग्लुङका बासिन्दाले व्यापारिक रूपमा यही सडक प्रयोग गर्छन् । ६ वर्षअघि पाल्पाको बगनासकाली–७, खानीगाउँ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका सटुका जोड्ने गरी पक्की पुल निर्माण भएको हो । कालीगण्डकी करिडोरको रानीमहल–दैलातुङ सडक खण्डको रानीमहलतर्फको डेढ किलोमिटर सडकमा पहिरो खसेर अवरुद्ध भएको वर्षौं भइसकेको छ । 

After 6 years of the construction of the concrete bridge, passengers suffer because the access road is not builtनिर्माण सम्पन्न भए पनि अस्थायी ट्र्याक पुरिएपछि सवारी साधन चल्न नसकेर अलपत्र परेको पक्की पुल । 

झण्डै १५ वर्षअघि ट्र्याक खुलेको कालीगण्डकी करिडोरको पहिरो अझैसम्म सफा गरिएको छैन । जसले गर्दा पक्की पुलको पहुँचमार्गसमेत प्रयोग गर्न नपाएको स्थानीय कालीगण्डकी सटुका स्याङ्जाका अर्जुन पाण्डेयले बताए । पाल्पाको तानसेनदेखि रानीमहल भएर स्याङ्जाको सटुका, आलमदेवी लगायत गुल्मीसम्मका सवारी साधन यही सडक भएर संचालन हुन्छ । ‘पहुँचमार्ग निर्माणमा सम्बन्धित सरोकारवालाले चासो दिएको पाइँदैन,’ उनले भने, ‘यसका लागि सबै सरकारको ध्यान पुगोस् भन्ने नै हो ।’ 

स्थानीयका अनुसार पक्की पुल निर्माण गर्दा पाल्पातर्फ झण्डै सय मिटर सडक कालोपत्र गरेको थियो । तर, सडक पहिरोले पुरिएर कच्चीजस्तै बनेको छ । कालीगण्डकी करिडोरको ट्र्याकसम्म पुग्न सकिन्छ । तर दैलातुङ भएर तानसेन पुग्न घुमाउरो हुन्छ भने वर्षायामको तीनदेखि चार महिना कच्ची सडक भएकाले पानी पर्नासाथ सवारी साधन चल्न नसक्ने उनले बताए ।

बगनासकाली गाउँपालिका–७, खानीगाउँ दैलातुङका केशवराज खरालले समयमै कालीगण्डकी करिडोरको सडकमा काम गराउन सरोकारवाला निकायले चासो नदिएकाले अहिलेसम्म यस्तो अवस्था आएको बताए । उनले भने, ‘सुरुमा ठेक्का लिएका निर्माण व्यवसायीले १–२ किलोमिटरमा पुगिने सडकको पहिरो सफासमेत गरेनन् । जसले गर्दा स्याङ्जाका बासिन्दालाई ६० किलोमिटर घुमेर तानसेन र बुटवल जानुपर्ने हुन्छ ।’ 

रानीमहल नजिकै बराङ्दी खोलाको वल्लो–पल्लो भागमा १५ वर्षदेखि पहिरो नपन्छाएको उनले बताए । सुरुमा ट्र्याक खुल्यो, त्यसपछि पुनः डोजर लगाइएको छैन । पहिरो खसेर, जंगल बनेको छ । जसले गर्दा कालीगण्डकी नदी किनार भएर सवारी साधन चल्नु परेको छ ।

पुलसम्मको पहुँचमार्गबाट कालीगण्डकी नदीमा पुग्नुपर्ने उनले बताए । बराङ्दी खोलाको वल्लोपल्लो भागमा ट्र्याकसमेत राम्रोसँग खुलेको छैन । यही स्थानमा पुल निर्माणको कामसमेत अघि बढेको छैन । झण्डै एक किलोमिटर क्षेत्र जंगल बनेको छ । वर्षौंअघिको पहिरो पन्छाइएको छैन । पहिरो नपन्छाउँदा सवारी साधन ओहोरदोहोर गर्न पाएका छैनन् ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully