वार्षिक ५६ हजार पर्यटकबाट २९ लाख बढी राजश्व संकलन
पाल्पा — अघिल्लो आर्थिक वर्षमा ६ महिनासम्म पनि पाल्पा दरबार संग्रहालयमा कार्यरत अस्थायी/करारमा कार्यरत कर्मचारीले तलब पाएनन् । ठूलो संघर्षपछि मात्र उनीहरुलाई तलब व्यवस्थापन गर्न सकिएको थियो । गत आर्थिक वर्षमा असार महिनाभर ५ जना कर्मचारी काममै आएनन् ।
दुई जना कार्यालय सहयोगी र पुरातत्वतर्फका प्राविधिक सहायक कर्मचारी मात्र काममा थिए । चालु आर्थिक वर्षमा पनि रकम अभाव हुने भएपछि सरसफाईकर्मी एक जना बिदा भइसके ।
दैनिक ज्यालादारीमा राखेका सरसफाईकर्मीलाई पनि पैसा दिन सकिने वा नसकिने कुनै निधो छैन । ‘मुख्य कुरा दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा समस्या भएको छ,’ पुरातत्वतर्फका प्राविधिक सहायक सपना श्रेष्ठले भनिन्, ‘यति ठूलो दरबार छ । यसको परिसरको सरसफाईदेखि टिकट व्यवस्थापनमा हम्मे हुन्छ ।’ कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी नभएपछि श्रेष्ठलाई काम गर्न धेरै समस्या हुने गरेको छ ।
पाल्पा दरबार संग्रहालय लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्रालय मातहत छ । दरबार संग्रहालय विकास समिति गठन कार्यविधि संचालनमा आएको वर्षौ भइसक्यो । कार्यविधिको पहिलो संशोधन २०७९ सालमै भइसकेको छ । तर अहिलेसम्म संग्रहालय प्रदेश सरकारको उपेक्षामा छ ।
संग्रहालयलाई व्यवस्थित गर्न कर्मचारी व्यवस्थापन हुन सकेको छैन । गत वर्षदेखि एक जना स्थायी कर्मचारी प्रदेश सरकारले पठाएको छ । यसबाहेक डिभिजन वन कार्यालयका प्रमुख साथै अन्य कार्यालयका लेखापालले नै संग्रहालयको संचालन तथा व्यवस्थापनमा सहयोग गर्दै आएका थिए ।
तत्कालीन लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले राजपत्रांकित तृतीय श्रेणीका अधिकृत प्रमुख रहने गरी ७ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । अहिलेसम्म संग्रहालयका लागि छुट्टै अधिकृत छैनन् । ८ वर्षदेखि अन्य कार्यालयबाट रेखदेख हुने गरेको छ । स्वीकृत दरबन्दी अनुसार कार्यकारी निर्देशक/अधिकृत, पथप्रदर्शक, ग्यालरी सहायक, सहलेखापाल, खरिदार एक/एक साथै कार्यालय सहयोगी दुई जना हो ।
सुरक्षाका साथै सरसरफाई कर्मचारीको कुनै दरबन्दी छैन । यसअघि रेखदेखको जिम्मा पाएका डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार दरबार र यसको परिसर व्यवस्थापन गर्न दुई जना कार्यालय सहयोगीले थेग्न सक्ने अवस्था छैन ।
‘दैनिक ज्यालादारीमा कर्मचारी राख्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘तर पैसा पठाउन मन्त्रालयले कन्जुस्याई गर्दा गत असार महिनामा ५ जना दैनिक ज्यालादारीका कर्मचारीलाई काममा लगाउन सकिएन ।’
दरबारमा दुई सुरक्षा गार्ड, सरसफाईकर्मी चार जना थिए । चालु आर्थिक वर्षमा दैनिक ज्यालादारीमा दुई सुरक्षाकर्मी र तीन सरसफाईकर्मी मात्र राखिएको छ । दुई जना करारका छन् । अहिलेसम्म डिभिजन वन कार्यालय प्रमुखको जिम्मेवारी थियो भने चालु आर्थिक वर्षका लागि घरेलु तथा साना उद्योग कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय प्रमुख श्यामकुमार पौडेललाई कार्यकारी निर्देशक र संग्रहालय प्रमुखको जिम्मेवारी तोकेको छ । ‘आफ्नो कार्यालयको कामसहित दरबार संग्रहालयको पनि रेखदेख र व्यवस्थापनमा सघाउनुपर्ने हुन्छ,’ उनले भने, ‘समय के कति व्यवस्थापन गर्न सकिने हो थाहा छैन ।’
संग्रहालय संरक्षण तथा विकासको लागि प्रादेशिक सांस्कृतिक पाल्पा दरबार संग्रहालय विकास समिति गठन भएको छ । समितिमा मन्त्रालयका मन्त्री अध्यक्ष, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख, मन्त्रालयका सचिव, पाल्पाका प्रमुख जिल्ला अकिारी, मन्त्रालयका संस्कृति हेर्ने महाशाखा प्रमुख, संग्रहालय रहेको वडाध्यक्ष, प्रदेश सरकारले मनोनित गरेका संस्कृति, संग्रहालय वा पुरातत्व विषयका विज्ञ, समाजसेवी मध्येबाट एक महिलासहित दुई सदस्य रहने व्यवस्था छ । गठन आदेश २०७९ अनुसार जसको सदस्य सचिव कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ । मनोनित सदस्यको पदावधि दुई वर्षको हुन्छ ।
समितिले योजना तर्जुमा गर्ने, आर्थिक स्रोतको व्यवस्थापन, ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तु तथा कलाकृतिलाई शैक्षिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले गुणस्तरयुक्त तुल्याई अन्तर्राष्ट्रियस्तरको संग्रहालयको रुपमा विकास गर्ने, प्रवेश शुल्क निर्धारण र असुल, कलाकृतिको सुरक्षा, प्रदर्शनी, मर्मतसम्भारलगायतका काम गर्ने अधिकार छ । तर समितिको पूर्ण बैठक बस्नै समस्या छ ।
संग्रहालयको प्रशासकीय प्रमुखको रुपमा काम गर्न एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरेको छ । प्रदेश सरकारको सातौं तहको अधिकृतलाई कार्यकारी निर्देशकको रुपमा कार्य गर्ने गरी तोक्ने व्यवस्था छ । विक्रम संवत् २०७३ फागुन १५ गते दरबार संग्रहालय उद्घाटन भएको थियो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा बैठक बसेर योजनातर्जुमा सम्बन्धी छलफल गरी योजना/कार्यक्रम माग गर्ने गरेको छ । संग्रहालयमा कार्यरत कर्मचारीको व्यवस्थापन, संग्रहालयको विकास समिति पुर्नसंरचना, सांस्कृतिक डबली संचालनका विषयमा निर्णय भएको समन्वय प्रमुख खनालले बताए ।
कार्यक्रमको प्रगतिको जानकारी एवं अनुगमन निरिक्षणका लागि समिति गठन गर्ने कार्य भएको उनले बताए । ‘प्राप्त बजेट कार्यान्वयन साथै फल्चा निर्माणका लागि समेत निर्णय गरिएको छ,’ उनले भने, ‘दरबार संग्रहालयको संरक्षण र व्यवस्थापनका लागि निर्णय भएका छन् ।’
कलात्मक गेट र कम्पाउण्ड वाल निर्माण कार्य, संग्रहालय अगाडी ढुंगा बिछ्याउने कार्य, सौन्दर्यमूलक लाइटेनिङ (हाईमस्ट), फल्चा निर्माण, पानी संकलन गर्नका लागि जमिनमुनी ट्यांकी निर्माण गर्ने, दरबार संग्रहालयको रंगरोगन, दरबार संग्रहालयको सामानहरूको लेभलिङलगायतका काम भएको छ ।
यी कामका लागि १ करोड ४० लाख बजेट विनियोजन भएको थियो । ‘आवश्यक समिति, कर्मचारी व्यवस्थापन नहुँदा आएको बजेट कार्यान्व्यनमा पनि ढिलाई हुने समस्या थियो,’ जिल्ला समन्वय समिति प्रमुख खनालले भने, ‘अघिल्लो आर्थिक वर्षमा बजेट कामै नगरिकन फिर्ता भएको थियो । गत वर्ष भने काम गरिएको छ ।’
संग्रहालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा स्वदेशी तथा विदेशी गरी २९ हजार २ सय ३३, २०७९/८० मा ५४ हजार ७ सय, २०८०/८१ मा ५६ हजार ९ सय ८७ पर्यटकले अवलोकन गरेका छन् । यसबाट तीन वर्षको अवधिमा ७ लाख ५२ हजार ५९५, २९ लाख ४४ हजार ३००, २९ लाख ४९ हजार ४४५ राजश्व संकलन भएको छ ।
तथ्यांक अनुसार पर्यटकको अवगमन र राजश्वमा वृद्धि हुँदै गएको छ । संग्रहालय रहेको दरबार काठ र इँट्टाबाट निर्माणाधीन छ । झण्डै सात करोडको लागतमा निर्माण भएको दरबारमा चारवटा तल्ला, ४२ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल छन् ।
तत्कालीन शासक जनरल प्रतापशमशेरले १९८२ सालदेखि १९८९ सालसम्म निर्माण गरिएको थियो । प्रतापशमशेर राणाको मृत्युपछि यो दरबार प्रयोगविहीन अवस्थामा रहेको थियो । राजा महेन्द्रले विसं. २०१५ मा प्रशासनिक कार्यालयका लागि सञ्चालनमा ल्याएका थिए । क्षतिग्रस्त दरबार निर्माण पूरा भएपछि २०७२ मंसिर ३ गते पाल्पा दरबारलाई संग्रहालय स्थापना गर्ने सरकारले निर्णय गरेको हो ।
यहाँ दरबारको पश्चिमतर्फ नेपाल राष्ट्रिय अनुसन्धान, विद्युत् प्राधिकरण, नेपाल टेलिकमको कार्यालय छ । दरबारको दक्षिणतर्फ जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको भवन छ । दरबारको उत्तरतिर बालमन्दिर, जिल्ला समन्वय समिति रहेको छ । नेपाली सेनाले निशान घर निर्माण गरेको छ ।
संग्रहालयमा पुराना सामग्रीहरु सजाइएको छ । साथै थारु, मगर, ब्राम्हण नेवार तथा अन्य जातजातिको परम्परागत भेषभूषा, कलाकौशल राखिएको छ । यहाँको आकर्षण सैनिक संग्रहालय छ । सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम सम्बत १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ ।
तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा सामग्रीहरु राखिएको दि फेमस महिन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङ्गले बताए ।
संग्रहालयभित्र बृतचित्रमार्फत नेपाल–अंग्रेज युद्धको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर निर्माण भएको छ । तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रर्दशनलगायत संग्रहित गरी राखिएको छ ।
तानसेन नगरपालिकाले पाल्पा दरबार परिसरलाई ‘दरबार स्क्वायर’ बनाउने तयारी थालेको छ । साथै विश्व सम्पदा सूचिमा सूचिकरण गर्नसमेत तयारी गरेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए ।
पाल्पा दरबार परिसरले करिब ६४ रोपनी जग्गा ओगटेको छ । यहाँ अहिले दरबारबाहेक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय अनुसन्धान, नेपाल टेलिकम, विद्युत् प्राधिकरणको पाल्पा बितरण केन्द्र, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति, बाल संगठन, पाल्पा उद्योग वाणिज्य संघलगायत कार्यालय छन् । तात्कालीन अवस्थामा बेलायती शैलीमा निर्मित यो दरबारले ७ रोपनी १४ आना, २ पैसा १ दाम जग्गा ओगटेको छ ।
इतिहासविद् निर्मल श्रेष्ठका अनुसार प्रताप शमशेर पाल्पा गौडाको तैनाथवाला भएर आएपछि बद्रीनरसिंहले बनाएको दरबार निकै पुरानो र थोत्रो थियो । त्यसलाई भत्काई सोही ठाउँमा एक चोक भएको हाल पुनर्निर्माण गरिएको दरबार बनाएका हुन् । १९८९ माघ २८ गतेसम्म प्रताप शमशेरले त्यही दरबारबाट पाल्पा गौडाको तैनाथी चलाएका हुन् । २००७ सालअघि तैनाथवालाहरु यस दरबारमा बसी तैनाथी चलाउँथे ।
२००७ को परिवर्तनपछि जिल्लाका प्रमुखहरु भएर आउने वडाहाकिमहरुको निवास स्थान यही दरबार थियो । विसं. २०१५ मा तत्कालीन राजा महेन्द्र पाल्पा आउँदा सरकारी अड्डा अदालत पाल्पा दरबारमा राख्न भनेका हुन् ।
त्यसपछि दरबार परिसरमा साविकका लुम्बिनी अञ्चल कार्यालय शाखा नं. १ तानसेन, पाल्पा अदालत, मालपोत, कारागार कार्यालय, बैंक, टेलिफोन कार्यालय, आकाशवाणी सेटेलाइट स्टेशन कार्यालय, हुलाक लगायत १९ वटा कार्यालयहरु रहने व्यवस्था भएको इतिहासविद् श्रेष्ठले जानकारी दिए ।
