अंग्रेजलाई हराएको सम्झनामा २०५ वर्षदेखि भगवती रथयात्रा

भाद्र ११, २०८१

माधव अर्याल

Bhagwati Rath Yatra for 205 years commemorating the defeat of the British

पाल्पा — पाल्पामा मंगलबार भगवतीको २०५ औं रथयात्रा निकालिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिले यसपटकको रथयात्रा थप आकर्षण बनेको हो । नुवाकोट (पाल्पा)–जितगढी युद्धमा नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा यो रथयात्रा निरन्तर छ ।

वि.सं. १८७७ को भाद्र कृष्णनवमीका दिनदेखि पाल्पाको तानसेनमा निरन्तर यो जात्रा निकालिँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । रथयात्रामा पाल्पा लगायत छिमेकी जिल्लाका सयौं श्रद्धालुको सहभागिता रह्यो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, सर्वसाधारणको उपस्थिति थियो । रथयात्रामा राष्ट्रपति पौडेल, रक्षामन्त्री मानवीर राई, पर्यटनमन्त्री बद्री पाण्डेय, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सहभागिताले थप उल्लासमय बनेको थियो ।

कर्णेल उजीरसिंहका सन्तानहरूसमेत पूजाका लागि आएका थिए । रथयात्रामा जिल्लाका सरकारी कार्यालय, संघसंस्था, टोल विकास समूह बजार परिक्रमा गरेका थिए । भजनकीर्तन, पञ्चेबाचासहितको सांस्कृतिक झाँकी प्रस्तुत भए । भगवती मन्दिरबाट निशान, मुलढोका शीतलपाटी हुँदै दरबारमा प्रशासन, प्रहरी, सशस्त्र, समन्वय समितिले पूजा दिएका थिए । त्यसपछि मात्र सर्वसाधारणले रथयात्राका क्रममै पूजा दिए । कर्णेली पूजाका साथै नेपाली सेनाको गणभित्र पुगेर पूजा दिइएको छ । बजार क्षेत्रमा पनि पूजा दिएका थिए । तानसेनका बसन्तपुर, असनटोल, नारायणटोल, भीमसेनटोल, बसपार्क, टुँडिखेल, बडिज्ञानटोल, सिल्खानटोल, टक्सार लगायतका स्थानमा रथ लगिएको थियो । 

Bhagwati Rath Yatra for 205 years commemorating the defeat of the British

तत्कालीन कर्णेल उजीरसिंह थापाले जीतगढी बुटवल क्षेत्रलाई अंग्रेजबाट जोगाएको सम्झनामा यो रथयात्रा निकालिन्छ । थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई खटयात्रा निकाल्ने परम्परा सुरु गरेका हुन् । वि.सं. १८७२ वैशाख ७ गते दोस्रो पटकको युद्धमा विजयी भएका हुन् । तत्कालीन प्रशासनिक केन्द्र तानसेनमा १८७२ देखि १८७६ सम्म मन्दिर निर्माण गरेका हुन् । युद्धमा जानुअघि उजिरसिंहले भाकल गरेको र युद्ध जितेको विश्वासमा तीनतले भव्य मन्दिर बनाएका हुन् । उनै थापाले १८७७ भाद्र कृष्णनवमीका दिनदेखि भगवतीको रथयात्रा सुरु गरको इतिहास छ । काठमाडौको जात्राबाट प्रभावित थापाले पाल्पामा पनि भगवतीको रथयात्रा गराएको बताइन्छ । 

तत्कालीन कर्णेल थापाको नेतृत्वमा लडाइँमा गएको फौजले वि.सं. १८७२ वैखाख ७ गते नुवाकोट–जितगढी युद्ध जितेको हो । रथयात्राको महत्वका विषयमा संघीय, प्रदेश र स्थानीय सरकारले बुझेर आगामी दिनमा सरकारी पात्रोमै पाल्पाको भगवती जात्रालाई समावेश गर्नुपर्ने माग राखिएको भगवती मन्दिर व्यवस्थापन समितिका प्रचार संयोजक पदम न्यौपानेले बताए । ‘यसपटक राष्ट्रप्रमुखको उपस्थितिले पनि ठूलो महत्व राख्छ भन्ने लाग्छ,’ उनले भने, ‘आगामी दिनमा पक्कै केही परिवर्तन हुनेछ भन्ने विश्वास छ ।’ 

Bhagwati Rath Yatra for 205 years commemorating the defeat of the British

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले इतिहास र वीरता बोकेको भगवती मन्दिरको दुरावस्थालाई प्रदेश सरकारले आगामी वर्ष पुनःनिर्माणको लागि आवश्यक बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा मुख्यमन्त्री आचार्यले ब्रिटिस साम्राजलाई पराजित गरेको महिमा बोकेको विजय रथ यात्रालाई महत्त्व दिएरै प्रदेश सरकारले जिल्लाभरि सार्वजनिक बिदा दिएको बताए । ‘सही ढंगको जानकारी प्राप्त नभएकाले थोरै बजेट विनियोजन गरिएको हो,’ उनले भने, ‘आउने वर्ष भगवती मन्दिर त्रिपालले छोपिने छैन ।’

Bhagwati Rath Yatra for 205 years commemorating the defeat of the British

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully