पाल्पा — तिनाउ गाउँपालिका–२ र ३ जोड्ने तिनाउ खोलामा बनेको पक्की पुल जोखिममा परेको छ । निर्माण व्यवसायीले वर्षाको समयमा बक्स कल्भर्ट निर्माणको काम अलपत्र छाड्दा तिनाउ खोलामा निर्मित पक्की पुल जोखिममा परेको हो ।
सिद्धार्थ राजमार्गको दोभान बजारदेखि चुनुमाया पार्क जाने बक्स कल्भर्ट निर्माणका लागि द लुम्बिनी निर्माण सेवाले गत वैशाख १६ गते ठेक्का सम्झौता गरेको हो । बक्स कल्भर्ट निर्माणका लागि सडक चौडा गरेर अलपत्र छाडेपछि वर्षायामको भेलले तिनाउ खोलामा निर्मित पक्की पुलतर्फ लेदो र गेग्र्यान बगाएर लगेपछि जोखिममा परेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए ।
यो पक्की पुल भएर दोभानका विभिन्न स्थानका साथै कचल, जुठापौवा, ठिमुरे लगायतका स्थानमा आवातजावत हुन्छ । गाउँपालिका पहुँचमार्ग भएकाले पनि यस पुल जोखिममा पर्दा चासो बडेको अध्यक्ष श्रेष्ठले बताए । सामान्य पानी पर्दासमेत पक्की पुलमा माथिल्लो भागबाट ढुंगामाटोसहितको लेदो पस्ने गरेको छ ।
पक्की पुल हिलाम्मे हुने र साना सवारीसाधनसमेत गुडाउन मुस्किल पर्ने गरेको स्थानीय तोया लम्सालले बताए । माथिल्लो भागबाट नालीसमेत राम्रो बनेको छैन । जसले गर्दा वर्षा हुनासाथ भेल बगेर पुलमा जानेगर्छ ।
बक्स कल्भर्टको काम गर्दा माथिल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गसमेत जोखिममा परेको सडक डिभिजन पाल्पाले जनाएको छ । समन्वय नगरिकन काम गरेकाले राजमार्ग नै जोखिममा पर्ने देखिएको स्थलगत अनुगमनमा पुगेका सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए ।
२०८२ वैशाखमा निर्माण सम्पन्न गर्ने गरी भ्याटसमेट १ करोड १ लाख लगत इस्टिमेट भए पनि ७३ लाख ८७ हजार मा ठेक्का सम्झौता भएर काम अघि बढेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका सूचना अधिकारी श्याम श्रेष्ठले बताए । निर्माण कम्पनीले ढुंगा माटो विक्री गर्न सडक चौडा गर्दा पक्की पुल नै जोखिममा परेको गुनासो आफूलाई पनि जानकारी आएको उनले बताए ।
चुरे क्षेत्र पर्ने र तिनाउ खोला पुलसम्म व्यवस्थित नाली नहुँदा थप क्षति पुग्न सक्ने प्राविधिकहरु बताउँछन् । पुल जोखिममा परेपछि संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले स्थलगत अनुगमन गरेका थिए ।
