बुटवल — रोल्पाका कृष्णबहादुर घर्तीले लुम्बिनी प्रदेशको चौथो प्रदेश प्रमुखको रुपमा शुक्रबार पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यकाल ५ वर्ष हुने संविधानमै उल्लेख भए पनि संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा घर्ती लुम्बिनी प्रदेशका चौथो प्रदेश प्रमुख हुन् । यसअघि उमाकान्त झा, धर्मनाथ यादव र अमिक शेरचन प्रदेश प्रमुख बनेका थिए ।
२०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो प्रदेश प्रमुखको रुपमा झालाई नियुक्त गरेको थियो । सरकार फेरिएपछि २०७६ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले झालाई हटाएर यादवलाई प्रदेश प्रमुख बनाएको थियो । त्यसपछि कांग्रेस-माओवादी गठबन्धन सरकारले यादवलाई हटाएर २०७८ साउन १३ गते शेरचनलाई प्रदेश प्रमुख बनाएको थियो ।
संघीय सरकारमा दलअनुसार फेरिने सरकार र प्रधानमन्त्रीले पार्टीको भागबन्डाअनुसार अहिले कांग्रेस एमालेको सरकार बनेपछि फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरचनलाई हटाएर घर्तीलाई नियुक्त गरेका हुन् । लुम्बिनीका प्रदेश प्रमुख बनेका झा कांग्रेस, यादव एमाले र शेरचन माओवादी पृष्ठभूमिबाट आएका हुन् । अहिलेका घर्ती कांग्रेस रोल्पाका लामो समय पार्टी सभापति भएका नेता हुन् ।
घर्तीले बिहीबार राष्ट्रपति राचमन्द्र पौडेलसमक्ष शपथ लिएका थिए । शुक्रबार उनले पदभार ग्रहण गर्ने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, मन्त्री भूमिश्वर ढकाल, प्रदेश प्रमुखको कार्यालयका सचिव बेदप्रसाद खरेल, कार्यालयका कर्मचारीलगायतले स्वागत गरेका थिए ।
पदभार ग्रहणसँगै घर्तीले संविधानले दिएको अधिकार र कानुनलाई अध्ययन गर्दै सबैको सल्लाह र सुझावमा कार्यसम्पादन गर्ने बताए ।
