असारे विकास : गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग

असार ४, २०८१

माधव अर्याल

Asare Bikas: Demand action against the builders who do substandard work

पाल्पा — नियमनकारी निकायको पहुँच नपुग्दा ग्रामीण भेगमा ठेक्का भएका काममा लापर्वाही भएपछि स्थानीयले निर्माण व्यवसायीलाई कारबाहीको माग गरेका छन् । उत्तर–दक्षिण सडकअन्तर्गत तनहुँको भिमाद–पाल्पाको रामपुर–मित्याल–पूर्व नवलपुरको अरुणखोला जोड्ने सडक स्तरोन्नतिमा लापर्वाही भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका हुन् । 

ठेक्का भएर काम सक्ने म्याद गुज्रेको दुई वर्षसम्म २१ प्रतिशत मात्र काम गर्ने निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेपछि स्थानीयले विरोध जनाएका छन् । सडकअन्तर्गत पाल्पा खण्डको रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न निस्दीका बासिन्दाले माग गरेका हुन् । 

सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर र सब–इन्जिनियरको लापर्वाहीले मित्यालका विभिन्न स्थानमा ग्याभिन वाल, नाली निर्माण, रिटेनिङ वाल र ग्राभेलको काममा लापर्वाही भएपछि स्थानीयले गाउँपालिका र सडक डिभिजन गुहारेको स्थानीय ओमबहादुर थापाले बताए । ‘रिटेनिङ वाल लगाएको स्थानमा माटो र बालुवासहित सिमेन्ट मुछेको देखिएको छ,’ उनले भने, ‘कुनै पनि काम राम्रो भएको छैन । तर नियमनकारी निकायको अनुगमन भएको पाइएको छैन ।’

गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा पुगेको अनुगमन टोलीले सडक डिभजनलाई गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीका विषयमा जानकारी गराएका छन् । स्थानीयको गुनासोको आधारमा गाउँपालिकाको अनुमगन समितिले अनुगमन गर्दा सडक डिभिजनमार्फत भएको काम कमसल गरेको फेला पारेको उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । ‘स्थानीयको गुनासोको आधारमा हामीले अनुगमन गरेका हौं,’ उनले भनिन्, ‘त्यही क्षेत्रमा गाउँपालिकाको पनि काम भएकाले स्थानीयले गुनासो गरेका हुन् ।’

Asare Bikas: Demand action against the builders who do substandard workगाउँपालिकाका इन्जिनियर, अधिकृतसहितको टोलीले अनुगमन गर्दा निमार्णाधीन सडकमा बालुवा, ढुंगा, गिट्टी र सिमेन्टको अनुपात नमिलाइएको र काममा लापर्वाही भएको भेटिएको हो । सडकका विभिन्न स्थानमा लगाइएका रिटेनिङ वाल र नालीमा प्रयोग गरिएको मसलामा बाटोकै माटोसमेत राखेर गुणस्तरहीन काम भएको भेटिएको छ । सडक डिभिजनले रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा दुई वटा ठेक्का लगाएको छ । 

दुवै ठेक्काका निर्माण व्यवसायीले समयमा काम गरेका छैनन् । यही सडकमा निस्दी गाउँपालिकाअन्तर्गत सुवेदी निर्माण सेवा, भिमाद तनहुँले १ करोड ९३ लाख २१ हजार लगत इस्टिमेट रहेको ठेक्का १ करोड ४ लाख ४७ हजारमा सम्झौता गरेको छ । २०७८ असार ६ गते सम्झौता गरेको निर्माण व्यवसायीले २०८० असार २५ गते सम्पन्न गर्नुपर्ने हो । 

तर अहिलेसम्म ८२ प्रतिशत मात्र काम गरेको छ । गरेका कामसमेत गुणस्तरहीन रहेको छ । मित्याल बजार (रुक्सेभन्ज्याङ) मा ग्राभेल, रिटेनिङ वाल, नाली निर्माण, ग्याभिन, चौडा गर्नेलगायतका काम गर्नु पर्ने हो । ‘तीव्र गतिमा काम हुनुपर्ने हो तर भएको पाइएको छैन,’ स्थानीय बासिन्दा दुर्गा सारुले भने, ‘काममा ढिलाइ गर्ने र पूरा नगर्ने समस्या रहेको छ ।’ स्थानीय युवाले विगतदेखि नै सडकको काममा ढिलाइ भएपछि सडक डिभिजन, गाउँपालिकालाई खबरदारी गर्दै आएको छ ।

Asare Bikas: Demand action against the builders who do substandard workस्थानीय खुम सारुका अनुसार सडक स्तरोन्नतिको ठेक्का हुने तर समयमा काम नगर्दा निस्दीका बासिन्दाले वर्षायाम लागेपछि सास्ती भोग्नु परेको छ । ‘हामीले पटकपटक खबरदारी गर्दै आएका छौं,’ उनले भने, ‘तर पनि सुनुवाइ अझै भएको छैन । निर्माण व्यवसायीले पनि काममा ध्यान नदिएर निस्दीका बासिन्दाले जहिले सास्ती भोग्नु परकोे छ ।’

निर्माणका लागि ठेक्का लागे पनि सरोकारवाला निकायको ध्यान नपुग्दा काममा सुस्तता छ । इन्जिनियर र सब–इन्जिनियर अनुगमनमा नजाँदा ठेक्काको म्याद सकिएको दुई वर्षसम्म पनि काम पूरा भएको छैन । सडकअन्तर्गत अमृत कन्स्ट्रक्सनले १ करोड ९२ लाख ६२ हजार लगत इस्टिमेट रहेको ठेक्काको काम ९७ लाख ५४ हजारमा ठेक्का सम्झौता गरेको छ । २०७८ फागुन २ गते सम्झौता भएर २०७९ असार २५ गते सक्ने गरी १ करोड ९२ लाखको काम ९७ लाख ५४ हजारमा ठेक्का सकारेको छ । ४९ प्रतिशत घटेर ठेक्का लिएको व्यवसायीले अहिलेसम्म २१ प्रतिशत मात्र काम गरेको छ । 

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटले स्थानीय र गाउँपालिकाको गुनासो सम्बोधन गर्न तत्काल इन्जिनियरलाई साइटमा खटाइएको बताए । रामपुरमा बसेर हेर्ने गरी इन्जिनियर र सब इन्जिनियरको व्यवस्था गरिएको छ । ‘साइट इन्जिनियरलाई भएको कामको गुणस्तर बुझ्न खटाइएको छ,’ उनले भने, ‘यदि गलत भएको छ भने सबै भत्काएर पुनः लगाउन भनेको छु ।’ 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully