भारतीय चालकलाई सीमा नाकामा 'सम्झाइ-बुझाइ अभियान'  

वैशाख ३०, २०८१

माधव ढुंगाना

'Reminding and understanding campaign' for Indian drivers at border crossings

भैरहवा — भारतीय चालक–सहचालकलाई नेपालको ट्राफिक नियमका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले सुनौली सीमा नाकामा ‘सम्झाइ–बुझाइ’ अभियान संचालन गरेको छ ।

एक हप्तामा १ हजार भन्दा बढी भारतीय चालक र सहचालकलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिने गरी शुक्रबारदेखि भैरहवा भन्सार कार्यालय परिसरमा यो अभियान संचालन गरिएको हो ।

भारतको विभिन्न स्थानबाट औद्योगिक तथा व्यापारिक सामान लिएर सुनौली नाकाबाट नेपाल आउने अधिकांश भारतीय चालकले नेपालको प्रचलित ट्राफिक नियम अनुरुप सवारी साधन नचलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि उनीहरीलाई ट्राफिक नियम बारेमा सचेतना दिन जरुरी भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक वजिरसिंह बिष्टले नेपाल भित्रिने मालबाहक भारतीय सवारी साधन भन्सार जाँचपासका क्रममा रोकिएको मौका मिलाएर भन्सार कार्यालय परिसरमै ट्राफिक नियमबारे जानकारी गराइँदै आएको जानकारी दिए । 

बिष्टकाअनुसार, अधिकांश भारतीय चालकमा सडक लेन अनुशासन, ओभरट्याक गर्ने तरिका, बाटो क्रस गर्ने तरिका, रातमा सवारी साधनको बत्तीको प्रयोग, गती (स्पीड), भोभरलोड लगायतमा समस्या देखिएका छन् । भन्सार परिसरमा उनिहरूलाई जम्मा गरेर उनीहरूकै भाषामा ट्राफिक नियम सिकाइँदै आइएको छ । ‘धेरै भारतीय मालवाहक सवारी चालक र सह–चालकलाई नेपालको ट्राफिक नियमबारे जानकारी छैन । कतिपयले जानकारी भएपनि बेवास्ता गर्ने गर्छन्,’ बिष्टले भने, ‘यसले गर्दा सडक दुर्घटना र जोखिम बढ्दो छ ।’

अभियान अन्तर्गत भारतीय सवारी चालकलाई लक्षित गरी सीमा क्षेत्र र सडकका विभिन्न ठाउँमा हिन्दी भाषामा पनि ट्राफिक सचेतनाका बोर्ड राखिएका छन् ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully