उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकाले हामी अलग भयौ : महासचिव राई 

वैशाख २९, २०८१

रुपा गहतराज

Upendra Yadav singled out the party and we separated: General Secretary Rai

नेपालगन्ज — जनता समाजवादी पार्टीका महासचिव मोहम्मद ईश्तियाक राईले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी गरेकै कारण आफूहरु अलग भएको बताएका छन् । यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको उनको भनाइ छ ।

 ‘पार्टी फुट्नु, टुक्रिनु पक्कै राम्रो कुरा होइन् । यो हाम्रो लागि रहरभन्दा पनि बाध्यता हो,’ पार्टी विभाजनपछि पहिलो पटक नेपालगन्जमा पत्रकारहरुसँग भने । 

उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका शालिन नेताहरुले अर्को पार्टी निर्माण गरेको जिकिर गरे । उपेन्द्र यादवको सत्तामोहका कारण मधेशी, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि बिर्सदै गएको उनको आरोप थियो । ‘मधेशलगायत विभिन्न आन्दोलनको मुद्दालाई बिर्सेर आफूमात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रवृत्ति छ,’ उनले भने, ‘मधेशी, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्न परेको हो ।’

‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दास सम्झिने, हैकमवाद लाद्ने उपेन्द्रजीको प्रवृत्तिले पार्टीबाट एकपछि अर्को बाहिरिने अवस्था आएको हो,’ महासचिव राईले भने । सरकारबारे प्रश्नमा उनले आफूहरु सरकार ढाल्ने खेलमा नलाग्ने बताए । ‘सरकारलाई केही समय राम्ररी काम गर्न दिनुपर्छ । दिनदिनै सरकार ढाल्दा त्यसको प्रभाव केन्द्रदेखि प्रदेशसम्म पर्छ र त्यसबाट जनतालाई घाटा पुग्छ,’ उनले भने । 

लुम्बिनी प्रदेशमा आफू नेतृत्वकै पार्टीका सांसदहरूको बहुमत हुने दाबी गरेका छन् । उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै सबैजना जसपामा आबद्ध हुन आग्रहसमेत गरे । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एक खालको अलमलको अवस्था पक्कै छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा साथ पाएको छु ।’

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully