पाल्पा — तत्कालीन पश्चिम कमाण्डर जनरल प्रताप शमशेरले वि.सं. १९८९ पुनः निर्माण सकेको पाल्पा दरबार परिसर क्षेत्रलाई पुरानै स्वरुपमा लैजाने काम थालिएको छ । प्रशासकीय कार्य सञ्चालन गर्ने निजी प्रयोजनका लागि निर्माण गरेको पाल्पा दरबार २०७२ पछि पाल्पा दरबार संग्रहालय बनेको छ । यसलाई पुरातत्व विभाग, संघीय, प्रदेश र स्थानीय सरकारले पुरानो स्वरुपमा लैजान प्रयास गरेका हुन् ।
पाल्पा दरबार परिसरमा पर्खाल, गेट, आँगन तथा मूलढोका बनाउन सुरु भएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । तानसेन बजारको मुख्य क्षेत्र मखनटोलतर्फको बाहिरी भागमा ऐतिहासिक स्वरूपमा पर्खाल बनाउने काम भइरहेको हो ।
वि.सं. १९११ सालमा पाल्पा दरबारको सुरक्षाका लागि यसको परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल लगाइएको थियो । सोही पर्खालको आकार तथा स्वरूपमा पुरातत्व विभाग, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिकाको लगानीमा बनाउन थालिएको हो । लुम्बिनी प्रदेश सरकारले ५० लाख लगानीमा प्रशासनदेखि दरबार गेटसम्म ५० मिटर पर्खाल लगाउन सहयोग गरेको छ । दरबारको गेटदेखि शित्तलपाटी क्षेत्रसम्म ७३ मिटर क्षेत्रमा ८० लाख लगानीमा पर्खाल लगाउने काम अघि बढेको छ ।
यस क्षेत्रमा ढल निर्माणका साथै ऐतिहासिक पर्खाल संरक्षणको काम हुने तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । २०८१ साल असार मसान्तभित्र सक्ने गरी पर्खाल लगाउने काम धमाधम भइरहेको उनले बताए । ‘यहाँको पुरानो संरचनालाई नबिगारिकन हामीले काम गर्नेछौं,’ उनले भने, ‘यसलाई हिजो जे जस्तो थियो, सोही अनुसारकै निर्माण गर्ने हो ।’ ऐतिहासिक स्थलको संरचना र डिजाइन नबिगार्ने गरी पर्खाल बनाउने काम धमाधम भइरहेको उनले बताए । स्थानीयले भने पुरातात्विक महत्वको ढुंगा, इट्टा पूर्ण रुपमा संरक्षण हुन नसकेको गुनासो गरेका छन् ।
‘माटो फाल्ने बहानामा केही ढुंगा र इट्टा पनि डम्पिङ साइटमा लगेर फालिएको छ,’ मखनटोलका एक स्थानीयले भने, ‘यसमा नगरपालिकाले पनि सुपरभाइजर खटाउनुपर्ने हो । तर नखटाएकाले यसमा महत्वपूर्ण सामान बाहिरिन सक्ने सम्भावना हुन्छ ।’ पर्खालका लागि डोजरले खन्ने क्रममा तामाका गाग्रीहरुसमेत भेटिएको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत यज्ञेश्वर पन्थीले खनेका स्थानमा भेटिएका तामाका भाँडा जिल्ला प्रशासन कार्यालयको भण्डारकक्षमा सुरक्षित रहेको बताए ।
पाल्पा दरबार संग्रहालय परिसरभित्र र बाहिर ढुङ्गा छाप्ने काम भएको छ । तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख रुपैयाँ बजेट विनियोगन गरेको थियो । यसमा लुम्बिनी प्रदेश सरकारको ५० लाख बजेट थप रहेको छ । दरबार परिसरभित्रको मूलढोका बनाउने काम सुरु हुन सकेको छैन । ‘टेण्डर लागिसकेको छ,’ नगरप्रमुख श्रेष्ठले भने, ‘निर्माण व्यवसायीले सम्झौता पनि गरिसकेको र छिट्टै काम सुरु हुने जानकारी पाएका छौं ।’
पुरातत्व विभागले शित्तलपाटीमा रहेको मूलढोका बनाउन निर्माण व्यवसायी छनोट गरिसकेको छ । व्यवसायीले काम सुरु गरिसकेको छैन । विभागले मूलढोकासहित त्यस क्षेत्रको संरचना मर्मत सुधार गर्न ८१ लाख ९५ हजार १२९ रुपैयाँमा ठेक्का लगाएको हो । सित्तलपार्टीस्थित मूलढोका नेपालकै सबैभन्दा पुरानो ठुलो ढोका भएको दाबी छ । राणाकालमा बनेको ऐतिहासिक मूलढोका अहिले जीर्ण बनेको इतिहासविद् निर्मल श्रेष्ठले बताए ।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंहले तानसेनमा रहँदा विसं १९११ देखि १९३० सम्ममा मूलढोकासमेत निर्माण गर्न लगाएका हुन् । पाल्पा दरबार परिसरको बाहिरपट्टि मूलढोका त्यतिबेलाको सुरक्षा नीति अनुसार बनाइएको हुनसक्ने इतिहासविद् श्रेष्ठको भनाइ छ । ‘सित्तलपार्टी, मुलढोका, खड्ग स्तम्भ लगायत पुरातात्विक महत्वका हुन्,’ उनले भने, ‘यसलाई संरक्षण गर्न र यहाँ भेटिने वस्तुलाई जोगाउन पर्ने हुन्छ ।’
पश्चिम क्षेत्रको कमाण्ड गर्ने थलो भएकाले पाल्पा दरबार परिसरमै तीन साँचासमेत रहेको छ । जिल्ला समन्वय समितिको भवनभित्र रहेको तीनसाँचा सर्वसाधारणले देख्नसमेत पाएका छैनन् । पाल्पा दरबार पहिलो पटक १९६९ मा बेलायती शैलीमा बनाइएको इतिहासविद् श्रेष्ठले बताए । दरवारले मात्र ७ रोपनी १४ आना २ पैसा १ दाम क्षेत्रफल ओगटेको छ ।
यसको परिसरमा झण्डै ५० रोपनी जग्गा रहेको छ । पाल्पा दरबारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा थियो । २०६२ माघ १८ गतेसम्म पनि यो दरवारमा अधिकांश कार्यालयहरु सञ्चालन भएका थिए । पाल्पा दरबारमा क्षतिग्रस्त हुनुभन्दा अघि जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, राष्ट्रिय अनुसन्धान, सरकारी वकिलको कार्यालय, प्रमुख जिल्ला अधिकारी निवास लगायत थिए ।
पाल्पा गौडाको तैनाथवाला मध्य आफ्नो छोरा केदारनरसिहको रेखदेख गर्न चार वर्ष र आफू तैनाथवाला भएर वि.सं. १९११ देखि १९३० सम्म पाल्पामा रहँदा बद्रीनरसिंहले पहिलो पटक पाल्पा दरबार निर्माण गरेका हुन् । त्यो दरबार भएको ठाउँमा पछि विंसं. १९८३ मा प्रताप शमशेरले पुनः निर्माण गरेको दरबार भएको इतिहासविद् श्रेष्ठले बताए ।
जनरल प्रतापशमशेर १९८२ सालमा पाल्पा आएर १९८९ साल माघ २८ गतेसम्म तैनाथवाला भएर बसेका थिए । २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएपछि अहिले पुनःनिर्माण भएको छ। त्यसपछि पाल्पा दरबार संग्रहालय लुम्बिनी प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।
