नेपालगञ्ज — बाँकेको बैजनाथ गाउँपालिका-६ एच गाउँका ६१ वर्षीय असर केसी छिनमा चुरोट सल्काउने र निभाइरहेका हुन्छन् । बेचैन र अशान्त बनेका उनको वरिपरि तीन छोरीहरु बसेर सान्त्वना दिइरहेका हुन्छन् । छेउमै श्रीमती नसा सम्बन्धी समस्याले थलिएकी छन् ।
रुसमा मारिएका ३८ वर्षीय छोरा सञ्जयको शनिबार काजकिरिया सकेका अमरको परिवारै यतिबेला झनै विक्षिप्त बनेको छ । अमरका कान्छा छोरा पनि बैदेशिक रोजगारीमा छन् । लामोसमय देखि नसा सम्बन्धी समस्याले थला परेकी श्रीमतीको उपचारका लागि सबै ठाउँ चहार्दा पनि रोग पत्ता नलाग्दा हैरान भएको परिवारमा सञ्जयको मृत्यु व्यहोर्दा झनै संकटमा परेको छ ।
‘अहिले म बोल्न सक्ने अवस्थामा छैन् । छोरोको शव पठाइदिन हारगुहार गरिरहेको छु,’ अमरले भने,‘मृत्युको मुखमा छोरोलाई पठाउने रहर कसको हुन्छ ? रुसी सेनामा भर्ती हुन जाने थाहा पाएको भए घरबाट निस्कन दिँदैनथे । अब मैले छोरो गुमाइसके । उताबाट शव पठाइदिन्छौं भन्ने खबर आएको छ । त्यसको पर्खाइमा छु ।’
३८ वर्षीय सञ्जय केसी माघ २२ गते घटनामा परेको थाहा पाएका परिवारजनले उनको अवस्था पत्ता लगाउन खोजे । अनेक उपाय लगाउँदा सञ्जयको अवस्थाबारे एकिन खबर आएन । छटपटी बीच खबर कुरिरहेको परिवारले फागुन ४ गते मात्र मोबाइलमा शव र मृत्युको कागज पाएको हो । भोलिपल्ट फागुन ५ गते धार्मिक परम्परा अनुसार काजकिरिया थालेको हो ।
‘मृत्युको खबर पुष्टि भएपछि बुवालाई रोक्न नसकिएपछि काजकिरिया गरेका हौं,’ मृतककी दिदी पार्वती केसीले भनिन्, ‘परराष्ट्र मन्त्रालयबाट मत्यु भएकै हो भन्ने पत्राचार आएपछि हामीले भाईलाई गुमाइसकेको एकिन गर्यौं ।’
असोज ११ गते भिसा लगाउन जाने भन्दै घरबाट काठमाडौं हिँडेका सञ्जय थिए । पुस २९ गते दिदीभाईको एकपटक फोनमा कुराकानी भए पनि दुखपीडाबारे केही नबताएको पार्वतीले बताइन् । ‘भाइले दुख भएको केही कुराकानीनै गरेन् । त्यही दिनको फोन अन्तिम भयो,’ उनले भनिन् । सञ्जयकी पत्नी ३३ वर्षीया सपना केसीले श्रीमान् रुसी सेनामा भर्तीका लागि जान लागेको आफुलाई समेत थाहा नभएको बताइन् ।
‘धेरैजसो फोनमा कुराकानी पनि हुन सकेन्’ सपनाले भनिन्, ‘उहाँ आइफोन चलाउनु हुन्थ्यो । त्यहाँ लोकेसन ट्रेस हुन्छ भनेर फोन चलाउन पनि दिदैन्थ्यो ।’ घरमा भिसा लगाउने कुराबाहेक थप केही नभनी काठमाडौं हिँडेका सञ्जयले एकैपटक रुसी सेनामा भर्ती भएपछि घरमा खबर गरेका थिए । ७ कक्षा पढ्दै गरेका सञ्जयका १३ वर्षीय छोरा बुवाको किरिया सकेर बसेर परीक्षाको तयारी गर्दैछन् ।
नेपाली सेनामा जागिरे सञ्जय सशस्त्र द्वन्द्वकालमा अर्घाखाँचीको गोरुसिङ्गेमा भएको झडपमा एक साता बेपत्ता भएका थिए । उनले ज्यान जोगाउन भन्दै अढाइ वर्षमै सेनाको जागिर छाडेका थिए । मलेसिया र दुबईमा गरेर पाँच वर्ष वैदेशिक रोजगारीमा बसेका उनले पछि गाउँमै हार्डवेयरको व्यापार सुरु गरे । पाँच लाख ऋण खोजेर सुरु गरेको व्यवसायले घरव्यवहार चलाउन समस्या भएपछि मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती हुन गएका थिए ।
‘थारै महत्वकांक्षा, धेरै अभाव, बेरोजगारी र आम्दानी नभएपछि एउटा होनहार युवाले आफ्नो जीवन गुमायो,’ छिमेकी नन्द विश्वकर्माले भने, ‘यहाँ युवालाई केही गर्ने वातावरण छैन् । सरकारले आफ्नै पौरखमा आफ्नै परिवारसँग बसेर बाँच्ने सामर्थ्य दिन नसक्दा आज एउटा परिवारको खुसी लुटियो ।’
