पाल्पा — मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
राप्रपा नेपालका जिल्ला अध्यक्षसमेत रहेका गैरे प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर लागि मत माग्दै घरलैलो अभियानमा थिए । उनी धेरै वर्षदेखि राप्रपाको राजनीतिमा सक्रिय थिए । गैरेले विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका हुन् ।
कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै राप्रपा नेपाल छाडेर कांग्रेसमा प्रवेश गरेको उनले बताए । उनले सोमबारदेखि नै आफ्नो उम्मेदवारी निष्क्रिय रहेको विज्ञप्तिमार्फत जनाएका छन् ।
कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका सत्ता गठबन्धन दलका उम्मेदवारलाई पूर्ण समर्थन र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ । गैरेलाई कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेस प्रवेश गरेको सदस्यता दिए । पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिइने सभापति श्रेष्ठले बताए ।
