तिलोत्तमा — मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा रुपन्देहीका ६५ मतदानस्थल र १ सय ८६ केन्द्र सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशीलको सूचीमा परेका छन् । प्रतिनिधिसभामा ५ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २ सय १३ मतदानस्थल र ७ सय ७ केन्द्र तोकिएको छ ।
मतदान स्थलमध्ये ५ वटा मतदानस्थल अस्थायी हुन् । जिल्ला कारागार रुपन्देही, २७ नं गण हेडक्वार्टर बेलहिया, रामनगर व्यारेक बुटवल, श्री नं २ सैन्य तालिम केन्द्र सैनामैना र श्री सैनिक ब्याटल स्कुल सालझण्डीलाई अस्थायी मतदान स्थलको रुपमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिले जिल्लामा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी विश्लेषण र मूल्यांकनको आधारमाअति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान स्थललाई तीन किसिमबाट वर्गीकरण गरेको हो । वर्गीकरणका लागि मतदानस्थलको भौतिक संरचना, सीमानाका संगको निकटता, भौगोलिक अवस्था, प्रहरी कार्यालयदेखिको दूरी तथा सुरक्षा सतर्कता र विगतमा निर्वाचनमा हुने गरेको घटनालाई जिल्ला सुरक्षा समितिले सूचकको रुपमा लिएको छ ।
जिल्लाका मतदानस्थलमध्ये ६६ मतदानस्थल र २ सय २२ केन्द्रलाई संवेदनशील र ८२ मतदानस्थल र २ सय ९९ केन्द्रलाई सुरक्षाका दृष्टिकोणले समान्यको सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए । मतदानस्थल र केन्द्रमध्ये सीमानाकासँग नजिक भएका क्षेत्रका धेरै मतदानस्थल र केन्द्र अति संवेदनशीलको सूचीमा वर्गीकरण गरिएको प्रवक्ता अर्यालले बताए । निर्वाचन प्रयोजनका लागि रुपन्देहीमा ३ हजार ९५ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।
