तिलोत्तमालाई दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार

फाल्गुन २९, २०७८

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ । मुलुकभरका महानगर, उपमहानगर र नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले पुरस्कार प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई उत्कृष्ट नगरपालिका पुरस्कार—२०७८ स्वरुप कदर पत्र प्रदान गरे । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।  

तिलोत्तमा नगर प्रमुख घिमिरेले नगरपालिकाले प्राप्त गरेको पुरस्कारमा सबै जनप्रतिनिधि, कर्मचारीलगायत सम्पूर्ण नगरबासीको योगदान रहेको बताए । उनले सबैको सहकार्य, सहयोगले तिलोत्तमाले रचनात्मक काम गर्न सकेको भन्दै आगामी दिनमा अझै रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तिलोत्तमाले गत वर्ष सहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार पाएको थियो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully