७५ वर्षीयाको दुखेसो– ‘आफ्नै जग्गा उपभोग गर्न पाइनँ’

माघ २०, २०७८

अमृता अनमोल

बुटवल — बुटवल–५ की ७५ वर्षीया विजयदेवी कसौधनको नाममा हाटबजारनजिकै १९६. ५० वर्गमिटर क्षेत्रफल जग्गा छ । त्यसमा पुरानो एकतले घर पनि छ । तर एकल महिला विजयदेवीले घरजग्गा उपभोग गर्न पाएकी छैनन् । २१ वर्षअघि अंशबन्डा भएको सौतेलो छोराले संरक्षणको हक खोजेको भन्दै वडा कार्यालयले तिरो बुझ्न र चारकिल्ला प्रमाणित गर्न रोकेको छ । यसले उनी थप समस्यामा परेकी छन् ।

संविधानले हरेक व्यक्तिलाई आफ्नो नामको सम्पत्ति उपयोग गर्ने र बेचबिखन गर्ने अधिकार दिएको छ । तर विजयदेवीका मामिलामा त्यस्तो भएन । आफ्नै जग्गा उपभोग गर्न नपाएपछि उनी अदालत गइन् । अदालतले पुस २७ मा उनले आफूखुसी जग्गा प्रयोग गर्न पाउने र वडा कार्यालयले रोक्न नपाइने परमादेश जारीसमेत गरेको छ । अदालतको परमादेश बोकेर पटक–पटक वडा कार्यालय र बुटवल उपमहानगरपालिका पुगेकी छन् । तर वडा कार्यालयले कित्ता नम्बर २९ को उक्त जग्गाको तिरो अझै बुझेको छैन । चारकिल्ला प्रमाणित पनि गरेको छैन । यसले एकातिर विजयदेवीले सास्ती भोगेकी छन् । अर्कोतिर अदालतको परमादेशको समेत अवहेलना भएको छ । 

‘वडाध्यक्षज्यूले म अध्यक्ष छँदासम्म जग्गा बेच्न दिन्नँ । अरु जान्दिनँ भन्नुहुन्छ । सारै दुःख पाएँ,’ उनले गुनासो गरिन्, ‘म सारै अन्यायमा परें । अदालत जाँदा पनि भएन । अब न्याय खोज्न कहाँ जाऊँ ?’ बुटवल–५ मा वडाध्यक्ष तेजप्रसाद सुनार छन् । विजयदेवीका अनुसार पतिको मृत्युपछि २०५७ सालमा घरपरिवारबीच अंशबन्डा भएको थियो । त्यसमा सौतेनीतर्फको जेठो छोरा वीरेन्द्रकुमार, आफूतर्फको छोरा सुरेन्द्रकुमार र विजयदेवीको नाममा गरी तीन भाग लगाएर अंशबन्डा भएको थियो । उक्त अंशबन्डामा विजयदेवी र सुरेन्द्रका नाममा पुरानो घरसहितको जग्गा परेको हो । तर सुरुदेखि नै छोरासित बेमेल भएपछि विजयदेवी र उनका छोराबाहिरै भाडामा बसे । बाहिरी आम्दानीको स्रोत नभएको र औषधोपचार गर्न नियमित रकम खर्च हुन थालेपछि विजयदेवीले अहिले उक्त जग्गा बेच्न थालेकी हुन् । 

आफ्नो नामको जग्गा बेच्ने र आएको रकमले व्यवहार मिलाउने एवं थप उपचार गर्ने वृद्धाको योजना छ । विजयदेवीको जग्गा भएकै छेउमा उनका छोरा ५० वर्षीय सुरेन्द्रकुमार कसौधनको १९३.५ वर्ग मिटर क्षेत्रफल जग्गा छ । कित्ता नम्बर ३० को सुरेन्द्रको जग्गा बेच्नसमेत वडाध्यक्षले चारकिल्ला प्रमाणित गरेका छैनन् । ‘आमाको जग्गाको तिरो बुझ्न भन्दा वृद्धाको जग्गा बेचे बिचल्ली हुन्छ भन्नुहुन्छ,’ छोरा सुरेन्द्रले भने, ‘वडाध्यक्षले तिरो बुझ्ने र चारकिल्ला प्रमाणित गर्ने काम हुँदैन भन्नुहुन्छ । मेरो तिरो बुझ्नूस् भन्दा दाजुको निवेदन छ भन्नुहुन्छ ।’

वडाध्यक्ष सुनारले भने उक्त जग्गामा दाजुभाइबाट निवेदन परेकाले निवेदनमाथि छलफल नगरी वडाले कुनै काम गर्न नसक्ने बताए । अदालतले परमादेश दिए पनि पारिवारिक निवेदन परेकाले छलफल गरेर मात्रै जग्गाको तिरो बुझ्ने वा चारकिल्ला प्रमाणित गर्ने उनले दाबी गरे । ‘विजयदेवीको जिउनीको जग्गा रहेछ । वडामा जग्गा आमा पाल्नेले खान पाउने तर सुरेन्द्रले आमालाई दुःख दिएको छ । त्यसैले बेच्न नहुने भन्ने वीरेन्द्रकुमार कसौधन र उनका चार बैनीहरूको निवेदन परेको छ । त्यो निवेदनमाथि परिवारका बीच बसेर छलफल गर्ने सहमति भएको हो तर उहाँहरू अदालत जानुभएछ,’ वडाअध्यक्ष सुनारले भने, ‘एकातिर अंशियारको कुरा छ । अर्कोतिर वृद्धाको मामिला छ । वृद्धाको सुरक्षाबिना जग्गा किनबेच गर्न रोकेको हो ।’ 

वडाध्यक्ष सुनारले कसौधन समाज र दिदीबैनीले समेत सुरेन्द्रले वृद्धालाई प्रलोभनमा पारेर जग्गा बेच्न लागेको गुनासो गरेको बताए । वृद्धा विजयकुमारीले भने सौतेला छोराछोरीले आफ्नै छोरामाथि अनावश्यक बहाना बनाएर जग्गा आफ्नो दाउमा पार्न खोजेको दाबी गरिन् । अधिवक्ता पदम कार्की वडा कार्यालयले व्यक्तिगत जग्गा भोगचलनमा रोक्नु भनेको एकल र वृद्धा महिलामाथिको अन्याय भएको ठान्छन् । ‘अदालतले समेत कानुनी विवाद नभएको व्यक्तिगत जग्गा भोगचलन गर्न दिनू भनेर परमादेश गरेकाले वडा कार्यालयले रोक्नु अदालतमाथिको अवहेलना हो,’ उनले भने ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully