कोरोनाबाट बुटवल १८ का वडाध्यक्षको निधन

असार २२, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोनाका कारण निधन भएको छ । उनको मंगलबार बिहान ८ बजे उपचारका क्रममा काठमाडौंको ह्याम्स अस्पतालमा मृत्यु भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

गत असार १० गते कोरोना संक्रमण देखा परेपछि बुटवलको कोरोना विशेष अस्पतालमा उपचार भएको र पछि परिवारले थप उपचारका लागि काठमाडौं लगेको उनले जानकारी दिए ।

‘वडाध्यक्ष आचार्यको उमेरको अवस्थालाई मध्यनजर गर्दै परिवारले ७/८ दिन अघि थप उपचारका लागि काठमाडौं लग्नु भएको थियो,' उनले भने, 'अस्तिसम्म राम्रै भएको छ भन्ने खबर आएपनि आज निधन भएछ ।' 

रेग्मीका अनुसार आचार्यले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका थिए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully