महेन्द्र बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक आन्दोलित

श्रावण २६, २०७७

कान्तिपुर संवाददाता

दाङ — महेन्द्र बहुमुखी क्याम्पस घोराहीका आंशिक प्राध्यापकहरुले क्याम्पसमा लगाएको ताला प्रहरीले सोमबार फोडेको छ । उनीहरुले आइतबार क्याम्पस प्रमुखको कुर्सी,टेबुल र नेमप्लेट जलाउनुका साथै विद्युतीय हाजिरी मेसिन समेत फुटाएका थिए ।

क्याम्पस प्रमुख दिवाकर शर्मालाई बाहिर निकालेर आइतबार उनीहरुले कार्यकक्षमा तालाबन्दी गरेका थिए । सोमबार प्रशासनिक कक्षमा पनि तालाबन्दी भएको थियो । आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिक रहेका प्राध्यापकलाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेको छ । 

माग सुनुवाइ नभएपछि ताला लगाउनु परेको संघका अध्यक्ष बालकृष्ण डाँगीले बताए । क्याम्पसमा ४२ जना आंशिक प्राध्यापक रहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully