बालविवाह रोक्नै कठिन

‘बालबालिकाको विवाह रोक्न समाज, नेता र प्रहरीबाटै असहयोग’

पुस १४, २०७६

दुर्गालाल केसी

दाङ — शान्तिनगर गाउँपालिकास्थित मावि तुलसीपुरमा ९ कक्षामा पढ्ने बालिका र १० कक्षामा पढ्ने बालकका दुई जोडीले एक वर्षअघि विवाह गरे । प्रधानाध्यापक गोविन्दबहादुर घर्तीले विवाह रोक्न अनेक प्रयास गरे तर सकेनन् ।

‘घरमा गएर अभिभावकलाई अनुरोध गर्दा पनि विवाह रोक्न मानेनन् । अन्त्यमा विवाह भयो नै । तीमध्ये एक जोडीले बच्चा नै जन्माइसके,’ प्रधानाध्यापक घर्तीले भने, ‘बच्चा जन्माउने बालिकाले पढाइ छोडिन् ।’ त्यसपछि घर्तीको गाउँमै अर्को बालविवाह भयो । त्यसलाई पनि उनले रोक्न सकेनन् । केही समयअघि उनकै विद्यालयमा ९ कक्षामा पढ्ने अर्की बालिका विद्यालय समयमै कोहलपुरका एक मजदुरसँग भागिन् । घर्तीले तत्कालै प्रहरीलाई खबर गरे तर पनि विवाह रोकिएन । ‘बालविवाह रोक्न कोही तयार छैनन् । आफैं विवाह गर्ने बालबालिकालाई फिर्ता गर्न पनि अभिभावक मान्दैनन्,’ घर्तीले भने, ‘विवाह गर्न खोजेका र गरेका बालबालिकालाई मनोविमर्श गरेर थप जोखिमबाट बचाउनुपर्ने आवश्यकता छ ।’ 


शान्तिनगर–३ का बाल सञ्जाल अध्यक्ष खिमबहादुर बस्नेतले पनि हालै एकसाथ चारवटा बालविवाह देख्नु पर्‍यो । क्लबको अध्यक्षका हिसाबले उनले रोक्न धेरै प्रयास गरे तर सकेनन् । ‘म विद्यार्थीको जुलुस लिएर रातारात विवाह रोक्न गएँ तर हामीलाई सहयोग गर्न कोही पनि आएनन्,’ बस्नेतले भने, ‘वडाध्यक्षलाई बोलाउँदा पनि आउनुभएन । प्रहरीलाई खबर गर्दा पनि सहयोग पाइएन ।’ बालविवाह रोक्न खोज्दा समाज, नेता र प्रहरीबाटै असहयोग भइरहेको उनले बताए । ‘८ कक्षा पढ्ने बालबालिका नै विवाह गरिरहेका छन् । अभिभावकलाई भन्दा कसरी रोक्छौ हेरौंला भन्छन्,’ उनले भने, ‘हामीलाई सहयोग गर्नुको सट्टा उल्टै चुनौती दिइरहेका छन् ।’


पश्चिम दाङका गाउँमा बालविवाह व्याप्त छ । विद्यालयमा अध्ययनरत बालबालिकाको विवाह भइरहँदा शिक्षकहरू पनि हैरान भएका छन् । जति प्रयास गर्दा पनि रोक्न नसकिएको वीरेन्द्र मावि खिलतपुरका प्रधानाध्यापक कुलबहादुर डाँगीले बताए । ‘मेरै विद्यालयमा १० कक्षा पढ्ने एक बालिकाले चारपटकसम्म विवाह गरेको घटना छ,’ उनले भने, ‘विद्यालयमा हुने विवाह घट्न सकेको छैन । हाम्रो प्रयासले सफलता पाउनै सकेन ।’


जानेबुझेका र विद्यार्थीका अगुवाले पनि विवाह गरिरहेको दंगीशरण गाउँपालिकास्थित मावि मधपुरमा ९ कक्षामा अध्ययनरत पिमा डाँगीले बताइन् । ‘बाल क्लबमा लागेका, बालविवाहबारे जानकारी भएका र पढाइ राम्रो भएकाहरूले पनि विवाह गरिरहेका छन्,’ उनले भनिन्, ‘कतिपय आर्थिक अभाव र घरायशी कारणले पनि विवाह गर्न बाध्य भएका देखिन्छन् ।’ बालविवाहका कारण धेरैले पढाइ छोडिरहेको मावि मधपुरमै ९ कक्षामा अध्ययनरत भूपेश खत्रीले बताए । ‘विवाह गर्दै पढाइ छोड्दै गर्ने चलन बढिरहेको छ,’ उनले भने, ‘बाल क्लबबाट जति प्रयास गर्दा पनि रोक्न सम्भव भएको छैन ।’


छोराछोरीलाई उचित हेरविचार गर्न नसक्दा सानैमा विवाह हुने गरेको दंगीशरण–२, कौवाघारीस्थित निगरानी महिला समूहकी सदस्य नीलम केसीले बताइन् । ‘धेरैजसोलाई आफ्ना छोराछोरी के गरिरहेका छन् भन्ने थाहा छैन,’ उनले भनिन्, ‘समयमै उचित निगरानी नपुग्दा विवाह भइरहेको छ ।’ बालबालिकालाई घरायशी काममा लगाउने र जसका कारण पढाइ कमजोर भएपछि हीनताबोधका कारण विवाह गर्ने प्रवृत्ति पनि रहेको उनले बताइन् ।


यहाँका २० प्रतिशतभन्दा बढीले २० वर्षमुनि बच्चा जन्माउने गरेको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि पुनले बताए । ‘१४ वर्षमै सुत्केरी भएका घटना पनि छन् । धेरै महिलामा पाठेघरको समस्या छ,’ उनले भने, ‘यस्तो समस्या हुने सबैले बालविवाह गरेको देखिन्छ ।’ बालविवाहले विकराल रूप लिइरहेको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले बताए । शान्तिनगरमा मात्रै ३३ प्रतिशत बालविवाह रहेको जानकारी दिंदै उनले बालविवाहलाई मुख्य चुनौतीका रूपमा लिंदै विभिन्न अभियान चलाइरहेको बताए ।


स्थानीय तहका न्यायिक समितिमा आउने सम्बन्धविच्छेदका अधिकांश मुद्दा बालविवाहकै रहेको शान्तिनगर गाउँपालिका न्यायिक समिति संयोजक मिथिला शाहले बताइन् । ‘बालविवाह गर्ने र केही वर्षपछि सम्बन्धविच्छेद गर्ने घटना धेरै छन्,’ उनले भनिन्, ‘हामीसमक्ष यस्ता धेरै मुद्दा आइरहेका छन् । हामाीले सम्झाइबुझाइ गरेर मेलमिलाप गराउने प्रयास गरिरहेका छौं ।’


ग्रामीण तहमा बालविवाह रोक्न निकै समस्या रहेको प्रहरी चौकी चिराघाटका प्रमुख प्रहरी सहायक निरीक्षक भरतनाथ योगीले बताए । ‘शान्तिनगरमा एक महिनामै दुईवटा बालविवाहका घटना भए । हामीले तत्कालै रोक्यौं,’ उनले भने, ‘तर, पछिसम्म त्यसलाई टिकाइराख्न सकेनौं । अभिभावकले कानुनी प्रक्रियामा लैजान दिंदैनन् । छोरीलाई विवाह गरी पठाउने हतारो छ ।’ अधिकांश बालविवाहको जानकारी प्रहरीसम्म नपुग्ने गरेको उनले बताए ।शान्तिनगर र दंगीशरणमा अध्ययन गर्दा ३० प्रतिशत बढी बालविवाह पाइएको समाजमा वातावरणीय शिक्षाको विकासका कार्यक्रम संयोजक माधव चौधरीले बताए । 

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully