(पर्वत) — बजारमा बंगुर, कुखुरा, खसीबोकाको मासु र माछा एउटै फ्रिजमा राखेर बिक्रि गरेको पाइएको छ । दसैंलक्षित बजार अनुमनका क्रममा कतिपय व्यवसायीले मासुसँगै फ्रिजमा दूध, फलफूलसमेत राखेको भेटिएको छ ।
जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीको संयोजकत्वमा केही दिनदेखि कुश्माका मासु, डेरी र खाद्य तथा किराना पसलमा अनुगमन भइरहेको छ । प्रहरी, पशु प्राविधिक, उद्योग वाणिज्य संघ, उपभोक्ता संघ, सञ्चारकर्मी लगायतको टोलीले बजारका सय बढी पसलमा अनुगमन गरेको हो ।
कुश्मा बजारक्षेत्रका २६ मासु पसलमा गरिएको अनुगमनका क्रममा सबैजसो मापदण्ड नपुगेको भेटिएको हो । ‘कतिपयले विनादर्ता लापरवाहीपूर्ण तरीकाले चलाएको भेटियो,’ सुवेदीले भने, ‘पहिलोपटक भएकाले सजग गराइएको छ । अर्को अनुगमनमा उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाहि गरिन्छ ।’ अनुगमनका क्रममा कुखराको मासु बंगुरको स्वादमा रहेको भेटिएको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ ले मिसावट भएका, मिति गुज्रेका, अखाद्य वस्तु मिसिएका खाद्यान्न बिक्री गर्नेलाई कारबाही गर्ने उल्लेख छ । ऐनको परिच्छेद ३ को दफा ११ को उपदफा (ख) मा बिक्रेताले वस्तुको किसिम वा प्रकृति अनुसार गुणस्तरमा ह्रास नआउने गरी सुरक्षित रूपमा राख्ने र सुरक्षित रूपमा बिक्री गर्नुपर्ने व्यवस्था छ । त्यस्तै परिच्छेद ४ को दफा १६ मा अनुचित व्यापारिक तथा व्यापारजन्य क्रियाकलाप गर्न नहुने व्यवस्था छ । ऐनमा कसुर र सजाय सम्बन्धी व्यवस्था पनि छ ।
उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, सञ्चयकर्ता, बिक्रेता कसैले पनि ऐन विपरीत गरेको पाइए सामान जफत गर्नुका साथै कम्तीमा ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । त्यसबाहेक उपभोक्तालाई क्षतिपूर्तिको व्यवस्थासमेत छ । तर, चाडबाडका बेलामात्रै हुने औपचारिक अनुगमनले व्यवसायीलाई कुनै कारबाही गरेको पाइँदैन । वर्षमा एकपटक मात्रै औपचारिकता पुरा गर्न गरिने अनुगमनमा दिइने निर्देशन व्यवसायीले पालना गरेको समेत पाईंदैन । ६ वर्षदेखि निरन्तर अनुगमनका क्रममा दोहोरिने एउटै गल्ती सुधार्न पटक–पटक अनुगमन समितिले निर्देशन दिने गरेको छ ।
