जहाँ छ लुम्बिनी

जेष्ठ ११, २०७५

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनीलाई पर्यटकीय गन्तव्यमा परिणत गर्न बनेको गुरुयोजना आफैंमा ‘मिनी बुद्धिस्ट वल्र्ड’ मा परिणत भइसकेको छ । नेपालसरकारको नेतृत्वमा यो गुरुयोजनाले निकट भविष्यमै पूर्णता पाउँदै छ । तर यसको व्यवस्थित पर्यटनमैत्री उपयोगिताको योजना बाँकी छ ।

गुरुयोजनाअन्तर्गत विहार क्षेत्रमा बनेका अन्तर्राष्ट्रिय मठमन्दिरहरूलाई बुद्ध धर्म संस्कृति ध्यान परम्परा केन्द्रका रूपमा व्यवस्थित विकास गर्न भौतिक संरचनाहरू तयार भइसकेका छन् । नेपाल सरकारले बलियो कूटनीतिक पहलकदमीबाट तिनीहरूलाई जीवन्त बौद्ध ध्यान केन्द्रका रूपमा छोटो समयमै परिणत गर्न सक्छ । यसका साथै खासै भौतिक विकास भइनसकेका प्रशस्त खाली जमिन उपलब्ध कपिलवस्तु, देवदह र रामग्रामलाई बृहत् गुरुयोजनामार्फत व्यवस्थित गर्ने तयारीमा लाग्न सकियो भने नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थाटनको केन्द्रमा परिणत गर्न सकिन्छ ।

गरिमा र सम्बन्ध
शाक्यमुनि बुद्ध र अन्य बुद्धसँग जोडिएका विशेष गरी कपिलवस्तु, रूपन्देही र नवलपरासीका तीर्थस्थलहरू नेपालका राष्ट्रिय एकताका प्रतीक हुन् । लुम्बिनीलाई राष्ट्रिय एकता र आर्थिक समृद्धिको प्रतीकका रूपमा व्याख्या, विश्लेषण गर्दै तदनुरूपका व्यवस्थित योजनाहरू हालसम्म बनेका छैनन् । लुम्बिनी नै नेपालको तराईदेखि हिमाललाई जोड्ने सबैभन्दा बलियो पुल हुन सक्छ । लुम्बिनीलाई भगवान् बुद्धको पवित्र जन्मस्थलका रूपमा तीर्थाटन गर्न नेपालका हिन्दु धर्मावलम्बी पनि लालायित देखिन्छन् । त्यसैले लुम्बिनी नेपालको राष्ट्रिय एकताको प्रतीक हो ।

तराईका बौद्ध तीर्थस्थलहरूलाई फर्पिङ, नमोबुद्ध, मारातिका, हलेसी, मुक्तिनाथजस्ता पहाडी तीर्थस्थलसँग जोडेर एकीकृत तीर्थाटन बनाउन जरुरी देखिन्छ । नेपालको पहाडी र हिमाली भूभागमा प्रचलित महायान–बज्रयान बुद्ध धर्म एवं सांस्कृतिक सम्पदाहरूले तिब्बत, मंगोलिया, भुटान, भारतका पहाडी तथा हिमाली भूभागहरू जस्तै– सिक्किम, दार्जिलिङ, अरुणाञ्चल प्रदेश, लद्दाख, कश्मीरका बौद्धहरूलाई एकै सूत्रमा बाँधेको छ । नेपाल र भारतबाट चीन, जापान, कोरिया, भियतनाम आदि देशमा पुगेको महायान बौद्ध धर्म संस्कृति साथसाथै यही भूमिबाट श्रीलंका, म्यानमार, थाइल्यान्ड, कम्बोडिया आदि देशमा प्रसारण भएको थेरवाद बौद्ध धर्म संस्कृतिको केन्द्र लुम्बिनी र कपिलवस्तु नै हुन् । यस दृष्टिकोणबाट हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धका बलिया पुल भनेकै बुद्ध र हाम्रो बौद्ध सम्पदाहरू हुन् ।

पर्यटन र पुरातत्त्व
नेपाल शाक्यमुनि बुद्धको मात्र जन्मस्थल होइन । उनीभन्दा पहिला कपिलवस्तुमा क्रकुच्छन्द बुद्ध र कनकमुनि बुद्ध जन्मेका थिए । यी बुद्धहरूको ऐतिहासिकताका सन्दर्भमा पुरातात्त्विक दृष्टिले, बौद्ध साहित्यिक प्रमाणहरूका आधारले, बौद्ध अटुट परम्पराहरूमा संरक्षित प्रचलनका आधारले सजिलैसँग प्रमाणित भइसकेको छ । तीन–तीन जना बुद्धको आध्यात्मिक ऊर्जाले भरिएका ठाउँ अन्यत्र कहीँ छैनन् ।

संसारभरि छरिएर रहेका बौद्धहरूको ध्यान आकृष्ट गर्ने यसभन्दा ठूलो अदृश्य आध्यात्मिक सम्पदा विश्वमा कहीँ पनि छैन । यो तथ्यलाई पर्यटकीय सम्भावनासँग जोडिएर र पर्यटनसँग जोडिएका भौतिक संरचनाहरू निर्माण र पुरातात्त्विक सम्पदाहरूको संरक्षण गर्दै विपुल पर्यटकीय सम्भावनालाई व्यवहारमै प्रयोग गरी यो क्षेत्रको र समग्र नेपालकै आर्थिक समृद्धिलाई वृद्धि गर्न सकिन्छ । कपिलवस्तु, लुम्बिनी, देवदह, रामग्राम जस्ता स्थलहरू पुरातात्त्विक महत्त्वका दृष्टिले अत्यन्त समृद्ध हुन् । तर ती सबै सम्पदाको पुरातात्त्विक उत्खनन र संरक्षण हुन सकेको छैन । योजनाबद्ध ढंगबाट पुरातात्त्विक अध्ययनको सम्भावनालाई उजागर गर्न सकेको खण्डमा विश्वभरबाट पुरातत्त्वसँग सम्बन्धित अनुसन्धानकर्ता, शोधकर्ता, विद्यार्थीको अध्ययन स्थलका रूपमा यो सम्पूर्ण क्षेत्रलाई उपयोग गर्न सकिन्छ ।

बुद्धको जन्मस्थल लुम्बिनी, उनले २९ वर्ष बिताएको कपिलवस्तु विश्वभरका बौद्धमार्गीका लागि अत्यन्त पवित्र तीर्थस्थल हो । विश्वभरि छरिएर रहेका झन्डै अरबभन्दा बढी तीर्थयात्रीहरू यी ठाउँहरूमा रात बिताउन चाहन्छन् । त्यसैले प्राकृतिक रूपमा मनमोहक र धार्मिक, सांस्कृतिक पर्यावरणलाई श्रद्धालुहरूको मन छुने गरी भौतिक रूपमा विकास गर्नुपर्छ । बौद्ध मुलुकहरू चीन, थाइल्यान्ड, श्रीलंका, म्यानमार, भुटान, लाओस, कम्बोडिया, मंगोलिया, जापान, ताइवान, दक्षिण कोरिया, मलेसिया, भियतनाम, सिंगापुर जस्ता देशहरूबाट ठूलो संख्यामा बौद्ध तीर्थयात्रीहरू नेपाल आउन चाहन्छन् । तिनीहरूबाट ठूलो आर्थिक लाभ लिन सकिन्छ । भारतीय बौद्ध तीर्थस्थलहरू बोधगया, सारनाथ, गृद्धकुट पर्वतमा बर्सेनि त्रिपिटक पाठ, मोनलामजस्ता पर्वहरू आयोजना गरी लाखौं पर्यटक आकर्षण गरेको पाइन्छ ।

-इन्द्रप्रसाद काफ्ले
प्राध्यापक, लुम्बिनी बौद्ध विश्वविद्यालय
(अमृता अनमोलसँग कुुराकानीमा आधारित)

कान्तिपुर

Link copied successfully