धनकुटाको बाँसपानी गाउँमा साहित्य शिविर

मुक्तक, कविता र गजलमा पोखिए सर्जकहरु

फाल्गुन १०, २०८२

विनोद घिमिरे

Literature camp in Bansapani village, Dhankuta

What you should know

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका ६ स्थित दुर्गम बाँसपानी गाउँको पिपलडाँडामा शनिबार शब्दोत्सव थियो । फागुनको सुख्खा मौसममा पिपलडाँडा पार्कमा कविता, गजल र मुक्तकका लहर गुञ्जिए ।

सामान्यतया घरधन्दा, मेलापात र घाँस दाउरा जस्ता दैनिकीमा व्यस्त रहने बाँसपानी गाउँ शनिबार  साहित्यिक जमघटले जिवन्त बनेको थियो । घरधन्दाबाट फुर्सद निकालेर कोहि पिपलडाँडा उक्लिए, कोहि माथिबाट झरे, वरपरका गाउँबाट दर्शक भेला भएका थिए । 

स्थानीय कवि सुरेश कार्कीको पहलमा पहिलो पटक बाँसपानीमा आयोजित साहित्य शिविरमा धनकुटा र भोजपुरबाट स्रष्टाहरू उपस्थित थिए । कवि केजी सुब्बा, मुकुन्द प्रयास, अनिल सुवेदी, रोशन परियार, प्रज्वल पुकार र भरत थापाले आफ्ना मौलिक कविता वाचन गर्दा गाउँलेहरू ध्यानमग्न भएर सुन्दै थिए । 

अनन्त अनुराग, ध्रुव एलेक्स, निशल भण्डारी र सानुकार्कीले गजलमार्फत प्रेम, विछोड र समयलाई  शेरमा उतारेका थिए। निर्मला कुवँर र पर्शुराम कार्कीका मुक्तकले छोटो शब्दमा गहिरो सन्देश दिदैथिए । श्रष्ठाका सृजनाले जीवनका अनुभव र अनुभूति समेट्दा उपस्थित दर्शकले तालीले साथ दिए ।

कतिपय स्थानीयले पहिलो पटक प्रत्यक्ष कविता वाचन सुनेको अनुभव सुनाए । ‘गाउँ नै सृजनाको मूल हो । कविता, गजल र मुक्तक यहीँ जन्मन्छन्, यहीँ हुर्कन्छन् र पखेटा फिजाउँछन्,’ कवि मुकुन्द प्रयासले भने । उनका अनुसार साहित्यलाई सहरमा मात्र सीमित नराखी गाउँमै पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

सुख्खा मौसममा पिपलडाँडामा पोखिएको साहित्यिक रसले गाउँलाई केही घण्टाका लागि शब्दमय उत्सवमा रूपान्तरण गर्‍यो । ग्रामीण परिवेशमै सृजनाको यस्तो संगमले साहित्यप्रेमीलाई उत्साहित बनाएको थियो ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully